+
+

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी

रासस रासस
२०८० भदौ ३ गते १४:१७

३ भदौ, मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।

गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए ।

‘रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुङ्गामा सफारी गराएर दिव्यपुरीसम्म पुर्‍याइनेछ’, उनले भने, ‘डुङ्गा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ ।’

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुङ्गा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्रि क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब रु ८० करोडको लगानिमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गरेका हुन् ।

‘निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ’, सञ्चालक धितालले भने, ‘वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।’

यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उनले दाबी गरे । ‘होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ’, उनले भने ।

होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए । ‘होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्’, उनले भने, ‘यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?