+
+
संघीय सचिवालयमा 'असभ्यता' :

सिंहदरबारभित्र लाग्दैन ट्राफिक नियम

सिंहदरबार बाहिरको सडकमा यसरी गाडी राख्ने हो भने काठमाडौं महानगरपालिकाले उठाउँथ्यो, नभए ट्राफिक प्रहरीले जरिवाना गर्थ्यो । सिंहदरबारभित्रको ट्राफिक नियम विपरीतका पार्किङ लगायतका गतिविधिहरू ती निकायले पनि टुलुटुलु हेर्न बाध्य छन् ।

रवीन्द्र घिमिरे शंकर गिरी रवीन्द्र घिमिरे, शंकर गिरी
२०८० भदौ ३ गते २३:५९

३ भदौ, काठमाडौं । सिंहदरबारभित्र सडकको दुवैतर्फ आधा–आधा भाग र सडक पेटीको पुरै भाग ढाकेर गाडी राखिनु सामान्य बनेको छ । काम विशेषले सिंहदरबारभित्र जानेहरु फुटपाथबाट हिँड्न पाउँदैनन्, बीच सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

गत बिहीबार कांग्रेस संसदीय दलको कार्यालय जान लागेका ओखलढुंगाका ३५ वर्षीय जोगबहादुर बस्नेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडिको सडकमा रनभुल्ल परे । फुटपाथ र सडकको एक छेउ ढाकेर गाडी राखेपछि उनी बीच सडकबाटै अगाडि बढ्दै थिए, अगाडिबाट पजेँरो गाडी आएको देखेपछि फुटपाथतिर जान खोजे, तर गाडीले ढाकिएका कारण फुटपाथ जान नसक्ने भएपछि हातले इशारा दिएर पार्किङ गरेको गाडीमा अडेस लागे ।

‘मान्छे हिँड्नलाई बनाएको पेटीभरि सरकारी गाडी र मोटरसाइकल छन्, सडकमा हिँड्दा गाडीले ठोक्देला भन्ने पीर !’ बस्नेतले अनलानइनखबरसँग भने,‘सिंहदरबारभित्रै पेटीभरि गाडी राखेपछि बाहिर फुटपाथमा व्यापारीले गाडी राख्नु के नौलो भयो र ?’

प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीको दैनिक आउजाउ हुने सिंहदरबारभित्रको यो हालतले उनीहरुको अनुशासन र सभ्यता देखाउने बस्नेतले बताए ।

सिंहदरबारबाहिरको सडक र पेटीमा यसरी गाडी राख्ने हो भने काठमाडौं महानगरपालिकाले उठाउँथ्यो, नभए ट्राफिक प्रहरीले जरिवाना गर्थ्यो । सिंहदरबारभित्रको ट्राफिक नियमविपरीतका पार्किङ लगायतका गतिविधिहरू ती निकायले पनि टुलुटुलु हेर्न बाध्य छन् ।

‘भीआईपीको गाडी भनेर छुट दिएको होला है ?’ बस्नेतले भने, ‘कि सिंहरदबारभित्र ट्राफिक नियम लागू हुँदैन र ?’

यसरी आधा सडक र फुटपाथ ढाकिने गरी पार्किङ गरिने गाडी धेरैजसो सरकारी नम्बर प्लेटका हुन् । त्यो पनि उच्चपदस्थ सरकारी अधिकारीले चढ्ने । यसरी सडक पेटीमा रोकिने अधिकार सेवाग्राहीको गाडीलाई छैन ।

संघीय संसद सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कृषि तथा पशुपंक्षी, भौतिक पूर्वाधार, शहरी विकास, अर्थलगायतका मन्त्रालय अगाडि पार्किङका यस्ता समस्या छन् ।

यसरी फुटपाथ र सडक ढाकिने गरी गाडी राखिएका ठाउँमा कतै कतै त ‘नो पार्किङ’ लेखेको बोर्ड पनि राखिएका देखिन्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल सिंहदरबारभित्रको ट्राफिक व्यवस्थापनको अधिकार आफूहरुलाई नभएको बताउँछन् । ‘दक्षिणतर्फका मन्त्रालयहरुको आसपास पार्किङको धेरै समस्या देखेका छौं, यसबारे हामीले चासो दिएका थियौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामीले त्यहाँ ट्राफिक नियमअनुसार कारवाही गर्न पाउने अधिकार पाएकै छैनौं ।’

मन्त्रालयको अगाडि हुने जथाभावी पार्किङ नियन्त्रणको जिम्मा पनि सम्बन्धित मन्त्रालयको नै हुने डीआईजी पोखरेलले बताए । ‘सम्बन्धित निकायबाट लेखेर आएमा हामी सिंहदरबारमा पनि कारवाहीसहित ट्राफिक व्यवस्थापनको काम गर्न सक्छौं’, डीआईजी पोखरेलले भने, ‘हालकै अवस्थामा केही गर्न सक्दैनौं ।’

यसैपनि सिंहदरबारभित्र व्यवस्थित फुटपाथ छैन । हिँड्दाहिँड्दै सडकपेटी नै हराउँछन् । कतिपय ठाउँमा आधा फिटका पेटी छन् । सडकपेटीमा रेलिङ समेत नहाल्दा अपांगता भएकाहरुलाई सास्ती छ ।

ह्विलचेयरमा सिंहदरबार जानेहरुलाई गाडी गुड्ने सडकबाटै ह्विलचेयर गुडाउनुको विकल्प छैन । सडक छेउबाट ह्वीलचेयर गुडाउन पनि यस्ता ठाउँमा गाडी पार्किङ गरिएका हुन्छन् ।

अझ सिंहदरबारलाई ट्राफिक नियम नलाग्ने क्षेत्र घोषणा गरेर जथाभावी सवारी पार्क गर्दै अशक्त अपांग र पैदलयात्रीलाई पूर्णतः बेवास्ता गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारी सिंहदरबारभित्र धेरै कर्मचारी थुपार्ने र कर्मचारीलाई जथाभावी गाडी सुविधा उपलब्ध गराउने परम्पराले यस्तो अवस्था आएको भएको बताउँछन् ।

‘हाम्रो मन्त्रालयमा मन्त्री, सचिव, विभाग र डिभिजनका हाकिमहरु रिझाएर अधिकृतहरुले समेत गाडी चढ्छन्’, ती कर्मचारी भन्छन्, ‘अनि यहाँ गाडी पार्क गर्न कसरी ठाउँ पुगोस् ।’

     

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?