+
+
Shares
ब्लग :

सुध्रिनुपर्ने नेता कि कर्मचारी ?

जेन-जीको चाहना, माग र आवश्यकता बमोजिम कर्मचारीतन्त्रमा पाराडाइम सिफ्ट भए मात्र आन्दोलनका शहीद, घाइते एवम् तिनका परिवारलाई न्याय हुनेछ।

लोकबहादुर कार्की लोकबहादुर कार्की
२०८२ असोज ८ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनेरेशन जेडले भदौ २३ र २४ मा गरेको आन्दोलनले दुईतिहाइ सरकारलाई संसद् विघटन गर्न बाध्य बनायो र नयाँ अन्तरिम सरकार गठन भयो।
  • जेन-जीले भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गर्दै ६ महिनाभित्र चुनाव गराउन आग्रह गर्‍यो।
  • जेन-जीले कर्मचारीतन्त्रमा कमिशनखोरी र दलीय मुखुन्डोको अन्त्य गरी सुशासन र न्यायको स्थापना आवश्यक ठानेको छ।

जेनेरेशन जेड (जेन-जी) पुस्ताले आयोजना गरेको भदौ २३ र २४ को प्रदर्शनले दुईतिहाइ बहुमतको सरकारलाई घुँडा मात्र टेकाएन, असमयमै संसद् विघटन गरिदियो। ठूलो जनधनको क्षति एवम् गैरदलीय नागरिक सरकार समेत गठन हुन पुग्यो। आन्दोलनका कारण र परिणामका बारेमा धेरै कोणबाट चर्चा–परिचर्चा भइनै रहेको छ र यो एउटा इतिहास समेत बनेको छ।

निवर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै जेन-जीहरूले देशमा भएको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने विरुद्ध आन्दोलनको घोषणा गरे तर देशको शासनको बागडोर सम्हालेका जिम्मेवार व्यक्तिले नै जेन-जीलाई ठगिखाने भाँडोको संज्ञा दिए। जसले गर्दा जेन-जी विद्रोहको केही घण्टामै दुईतिहाइको दुहाइ दिने सरकारले कुलेलम ठोक्नुपर्‍यो भने जेन-जीको माग बमोजिम संसद् विघटन र नयाँ अन्तरिम सरकार बनाउने वातावरण बन्यो।

जेन-जीका माग

जेन-जीले गरेको आन्दोलनको माग केवल संसद् विघटन र एकथान अन्तरिम सरकार निर्माण र त्यो सरकारले खालि ६ महिनाभित्र चुनाव गरोस् भन्ने मात्र हैन र छैन। छ त यो देशमा रहेको चरम बेथिति, कुशासन, भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिता, नातावाद, कृपावाद, सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्ती, सेवाप्रदायक निकायमा रहेको कमिशनखोरीको अन्त्य हो।

नागरिकले नुनदेखि नागरिकता जस्ता मानवअधिकारका आधारभूत विषय भएका सेवा लिन समेत राजनीतिक आवद्धता देखाउन बाध्य हुनुपरेको पीडा अहिलेको जेन-जीले भोगेको छ। नेपालको सार्वजनिक सेवा प्रवाह र अन्य देशमा हुने स्मार्ट सार्वजनिक सेवा प्रवाहको बारेमा सुनेका, पढेका र भोगेका पुस्ताले नेपालमा पनि परिवर्तन खोजेको हो।

यति मात्र होइन कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्म, सांसददेखि सभामुखसम्म, राज्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म, कार्यकर्तादेखि नेतासम्म, शिक्षकदेखि प्रोफेसरसम्म, टाई लगाउने विद्यार्थीदेखि विश्वविद्यालयका पीएचडी होल्डरसम्म, अहेवदेखि डाक्टरसम्म, खेलदेखि कला क्षेत्रमा चलिरहेको घृणित राजनीतिको बारे यो पुस्ता जानकार छ र त्यसको समूल अन्त्य यो पुस्ताको माग हो।

अरू त अरू जेन-जीले पानीदेखि बत्तीसम्म, खोपदेखि शल्यक्रियासम्म, सुइदेखि सिलिन्डरसम्म, खेलमैदानदेखि रंगशालासम्म, टोल सुधार समितिदेखि उपभोक्ता समितिसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म, स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालसम्म, ट्रली बसदेखि साझा बससम्म, कोटेशनदेखि टेन्डरसम्म, खरिददेखि लिलामसम्म, देशदेखि विदेशसम्म, पासपोर्टदेखि भिसासम्म, श्रमदेखि बाकससम्म, एनओसीदेखि प्रोजेक्टसम्म, स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म जनमत वा जनचाहनाको धज्जी उडाएर राजनीतिक दलका कार्यकर्ताको हालीमुहाली गरिरहेको देखेको मात्र छैन भोगेको पनि छ।

गोली र गालीको जोखिममा रहेको यो पुस्ता देशको सेवा गर्न देशमै बस्न नचाहेको पनि होइन तर हाम्रो शिक्षा प्रणाली, दीर्घकालीन नीतिको अभावमा बेरोजगारीले ग्रस्त छ।

उसले धेरै समय सार्वजनिक निकायका झ्यालसम्म पुग्न खर्चेको छ, पसिनाले भिजेको शरीर बोकेर वा कठ्याङ्ग्रिएको हातले झ्यालको डन्डी समातेको छ र छुटपुट कागजको बहानामा फेरि घण्टौं लाइन बसेको मात्र छैन धेरै समय धाएको छ। अनगिन्ती दु:ख पाएको छ, आफ्नो काम गर्न भनसुन गरेको छ र अन्तिममा अमिलो मन बनाएर रिसवत दिएको छ र आफूलाई धिक्कारेको छ।

उसले ती झ्यालबाट भनसुनलाई नेपालको कानूनसम्मत एउटा प्रणाली उपमा दिएको छ, किनकि ऊसँगै आएका केही साथीको काम उति नै खेर भएको थाहा पाएको र देखेको छ। कतिले बिचौलियालाई पैसा तिरेरै काम गराएको देखेको छ किनकि त्यो बेला जेन-जी विवश थियो, उसको अन्य विकल्प थिएन।

उसले सार्वजनिक निकायमा राजनीतिप्रतिको आसक्ति भएको कामचोर, भ्रष्ट, घुसखोरी एवम् दलीय मुखुन्डो लगाएको लम्पट कर्मचारीतन्त्र पनि देखेको र भोगेको छ। कतिपय राष्ट्रसेवकको इमानमा उसले स्यालुट गर्नुका साथै निस्वार्थ अनुयायी पनि नभएको होइन।

उसले नेपालमा लोकसेवा आयोगलाई मात्र पूर्णत: आँखा चिम्लेर विश्वास गर्दछ। लोकसेवा आयोगको सिफारिस वा लोकसेवा आयोग संलग्न भएको परीक्षा प्रणालीमा उसको भरोसा छ। किनकि, उसले आयोगको निष्पक्षतामा प्रश्न उठेको सुनेको छैन। सरकारी निकायमा हुने अन्य प्रक्रियामा जस्तै सरुवा, बढुवा र बर्खास्तीको इतिश्री विभिन्न घटनाक्रमले नै उसलाई बुझ्ने बनाएको छ।

आवश्यकतामा आधारित होस् वा राजनीतिक आवरणमा खडा गरिएका संस्था, संरचना वा संगठनमा सरकारले गर्ने पदाधिकारी वा कर्मचारी नियुक्ति वा मनोनयन गर्दा परिवारवाद, नातावाद, कृपावाद, फरियावाद, उपहारवाद, विचारवाद जस्ता दर्शनको आत्मसात् हुने तथा आसेपासेले योग्यता प्रणालीको धज्जी उडाएको यो पुस्ताले मापन गरिरहेकै थियो। समग्रमा जेन-जी विभिन्न नामका बुख्याचाको बारेमा पूर्णरूपमा जानकार मात्रै रह्यो, उसले बुख्याचाको नाम सुन्यो काम कहिल्यै देखेन।

न्याय मरेको देखेको र भोगेको यो पुस्ताले निरन्तर अन्याय भने सहेकै छ। न्याय नै खुल्लमखुल्ला कोटेशन विधिबाट खरीद–बिक्री भएको नदेखेको हैन। गोली र गालीको जोखिममा रहेको यो पुस्ता देशको सेवा गर्न देशमै बस्न नचाहेको पनि होइन तर हाम्रो शिक्षा प्रणाली, दीर्घकालीन नीतिको अभावमा बेरोजगारीले ग्रस्त छ।

बेरोजगारीको जोखिममा पर्ने भयमा धेरै जेन-जीहरूले आफ्नो सुनौलो भविष्यको खोजीमा नेपालको क्षेत्रफल बाहिर रहेको तथ्यलाई सबै पुस्ताले राम्रोसँग बुझेको छ तर क्षेत्रफलभित्रै रहेका केही गरौं भन्नेहरू पनि आफ्नो भविष्यको लागि कर्म सँगसँगै चिन्ताको डुङ्गामा सयर गर्न बाध्य थियो। क्षेत्रफलभित्रै पनि एउटै डुङ्गामा यात्रा गर्न पाउनुपर्ने यो पुस्ताको माग थियो।

जेन-जी विद्रोह दुईतिहाइको हुङ्कारमा भएको दलालतन्त्र र लुटतन्त्रको अन्त्य गरी सुशासन, कानूनी राज्य, समानता र न्याय, आफैंले रोजेको वा जनताबाट निर्वाचित कार्यकारीले नै शासन सञ्चालन गर्नुपर्ने मागमा केन्द्रित रह्यो। अत: यो सरकारले जेन-जी विद्रोहको म्यान्डेट बमोजिम नै काम गर्नुपर्नेछ।

दुई दशकअघि नेपालमा तत्कालीन विद्रोही माओवादी आन्दोलनको प्रमुख माग गणतन्त्रलाई सम्बोधन गरेर देश यहाँसम्म आएको हो। त्यसैले समृद्ध राज्य एवम् सबल राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा रहेको यो विद्रोहलाई लिनुपर्छ। जेन-जी विद्रोहको मुख्य माग जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट अन्तरिम सरकार, राजनीतिक दल र जेन-जी लगायत कोही पछि हट्नुहुँदैन।

सुध्रिनुपर्ने को ?

हुनत; राजनीतिमा पद, सत्ता, शक्तिको महत्वाकांक्षा राख्नु स्वाभाविक हो। तर पद प्राप्तिको लागि जनतालाई सुशासन, विकास र सेवा सहजता गर्ने सपना बाँड्ने तर पदमा पुगेपछि कहिल्यै कार्यान्वयन नगर्ने नेताकै कारण अहिलेको अवस्था उत्पन्न भएको हो।

सत्ताको मात र उन्मादले विवेकहीन भएका उनीहरूले निरन्तर विवेक गुमाइरहे। आफ्नो आलोचना सुनेपछि तिनले सामाजिक सञ्जाल नै बन्द गराए। जसका कारण यो पुस्ताको आक्रोश शिखरमै पुग्यो।

स्थायी सरकार कर्मचारीतन्त्र पनि के कम ऊ पनि त पद, प्रतिष्ठा र पैसा भोको छ। त्यही भोक मेटाउन ऊ नेताको चाकडी र चाप्लुसीको म्याराथनमा भाग लिइरहेको हुन्छ। छिमेकी राष्ट्र भारत र चीनको कर्मचारीतन्त्र कति अब्बल र कामयावी छ भन्ने कुरा हाम्रा शासन सञ्चालन गर्ने नेतालाई धेरथोर थाहा छ, छिमेकी मुलुकको कर्मचारीतन्त्र भन्दा कति गए–गुज्रेको छौं भन्ने पनि हाम्रा उच्चपदस्थ कर्मचारीलाई थाहा नभएको होइन तर पनि कर्मचारीतन्त्रले योग्यता प्रणालीको मजाक गर्दै चाकडी र चाप्लुसीको म्याराथनमा एकनम्बर हुने गरी दौडिरहेको छ। नेता रिझाएर सत्ताको रसपान गर्ने कर्मचारीतन्त्रको पुरानै रोग हो।

जनताले अनुभव गर्ने गरी सेवाप्रवाह गर्न छोडेर कर्मचारीतन्त्र फेरि पनि कमिशनको लिगलिगे दौडको हिस्सा बन्न हिंड्यो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ।

नेतृत्वलाई भ्रष्ट बनाउन ल्याक्टोजिन खुवाउने, तातेताते गर्दै डोर्‍याउने, हिंडाउने एक हदसम्मको काम कर्मचारीतन्त्रले गरेको मानिन्छ। तर अन्तिममा राजनीतिक नेतृत्व भ्रष्ट आचरणमा दौडने भएपछि लगभग कर्मचारीतन्त्र पूर्णत: थला बस्दछ। नेपालको कर्मचारीतन्त्र थला परिसकेको छ। जेन-जीको चाहना, माग र आवश्यकता बमोजिम कर्मचारीतन्त्र पाराडाइम सिफ्ट भए मात्र आन्दोलनका शहीद, घाइते एवम् तिनका परिवारलाई न्याय हुनेछ।

अन्त्यमा, अहिलेलाई नेता मात्र बाधक देखेको जेन-जीले भोलिका दिनमा कर्मचारीतन्त्रलाई मात्र बाधक देख्ने अवस्था आउन नदिन यो पुस्ताको माग बमोजिमको सेवाप्रवाह र सुशासन प्रवर्धनमा कर्मचारीतन्त्रले काम थाल्नुपर्छ। जनताले अनुभव गर्ने गरी सेवाप्रवाह गर्न छोडेर फेरि पनि कमिशनको लिगलिगे दौड प्रतियोगिताको हिस्सा बन्ने हो भने कर्मचारीतन्त्रको लागि मात्र होइन, देशकै लागि त्यो दुर्भाग्यपूर्ण हुनेछ।

(कार्की, नेपाल सरकारका शाखा अधिकृत हुन्। हाल उनी जापानमा अध्ययनरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?