+
+

गृहिणी मालाको प्लस साइज फेसन उद्यम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ ४ गते ११:३८
माला गुरुङ

काठमाडौं । पुरानो बानेश्वरकी माला गुरुङ सानैदेखि अलि मोटी थिइन् । उनलाई बजारमा पाइने रेडिमेड कपडाहरू ठीक हुन अलि गाह्रो नै हुन्थ्यो । त्यसैले उनले आफ्नो प्राय: कपडा डिजाइन दिएर ट्रेलरमा सिलाउन दिन्थिन् वा विदेशबाट मगाउँथिन् ।

उनलाई पनि अरूजस्तै फेसन गरेर हिंड्न मन लाग्थ्यो । तर नेपाली बजारमा प्लस साइजको लागि कपडा पाउनै मुस्किल । उनले आफ्नो साइजको कपडा बजारमा नपाए पनि जसोतसो व्यवस्थापन गरिरहेकी थिइन् । एक गृहिणीको रूपमा आफ्नो कर्तव्य निभाइरहेकी मालाको जीवन त्यतिबेला परिवर्तन भयो, जब उनको भतिजले कपडाको फ्याक्ट्री खोले र उनलाई केही गर्न सुझाव दिए ।

के गर्न सकिन्छ भने उनी सोच्दै थिइन् । त्यही बेला उनलाई लाग्यो म जस्तै ठूलो साइजका महिलालाई कपडा नपाउने समस्याले सताएको होला, यस्तोमा प्लस साइजको लुगा नै उत्पादन किन नगर्ने ?

४० वर्षसम्म गृहिणी भएर घर सम्हालेकी मालालाई व्यवसायको बारेमा केही ज्ञान थिएन । लुगा बनाउने कच्चा पदार्थ कस्तो हुनुपर्छ, डिजाइन कस्तो हुनुपर्छ भन्ने दुविधासहित एक लाख ७० हजार रुपैयाँको लगानीमा केही प्लस साइज कपडाहरू उत्पादन गरिन् । कपडा त बन्यो अब बजार व्यवस्थापन कसरी गर्ने ?

उनले बनाएका कपडा आफ्ना आफन्तहरूलाई नै बेचिन् । उनीहरुबाट राम्रो प्रतिक्रिया आएपछि उनको हिम्मत बढ्यो । पहिलेदेखि आफ्नो कपडा आफैं डिजाइन गर्ने भएकाले कपडाको डिजाइन गर्न पनि उनलाई सहज भयो ।

अब उनले हिम्मत गरिन् २०७८ मा  सुरु गरिन्, ‘कोइँ प्लस साइज बाइ माला’ कोइँको अर्थ गुरुङ भाषामा कपडा हो । उनले कोइँ बाइ मालाको टिकटक र इन्टाग्राम अकाउन्ट खोलिन्, फोटो सुट गराइन् तै पनि कपडाको अर्डर नै आएन ।

माला सुनाउँछिन्, ‘व्यवसाय त सुरु गरे तर कसरी अगाडि बढाउने भन्ने आइडिया नै भएन, अनि मैले मेरो भतिजसँग नै सल्लाह मागे के गर्न सकिन्छ भनेर ।’

उनका भतिजले अनायासचन्द्र गुरुङसँग भेटाइदिए । व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर मार्केटिङको सल्लाह अनायासले मालालाई दिए । अनायासले उनलाई सहयोग गर्न जेनिशा अवालसँग भेटाइदिए । उनीहरू मिलेर कपडाको डिजाइन कस्तो बनाउने, कसरी मार्केटिङ गर्ने भन्ने विषयमा छलफल गरेर व्यवसायलाई अघि बढाउँदै गए ।

व्यवसाय सुरु गर्दै गर्दा केही तीतो अनुभव पनि भोग्नुपरेको माला सुनाउँछिन्, ‘सानो व्यवसाय भएकाले एकै पटक धेरै कपडा उत्पादन गर्न सम्भव थिएन । थोरै थोरै उत्पादन गर्ने भनेर कच्चा पदार्थ लिन जाँदा थोरै कच्चा पदार्थ हामी बेच्दैनौ भनेर पनि कतिले त हामीलाई फिर्ता पनि पठाइदिनुभयो ।’

प्लस साइजको कपडा उत्पादन गरे पनि फोटो सुटका लागि प्लस साइजको मोडल नै नपाइने समस्या पनि झेलिन् । व्यवसायमा धेरै आरोह-अवरोह आए पनि मालाले हार मानिनन् । हिम्मत गरेर आफ्नो व्यवसायलाई अघि बढाइन् । अहिले ‘कोइँ प्लस साइज बाइ माला’ धेरैको रोजाइमा पर्ने गरेको छ । पहिले थोरै कच्चा पदार्थ हामी बेच्दैनौं भन्नेहरूले अहिले नयाँ कच्चा पदार्थ आउने बित्तिकै मालालाई म्यासेज गर्छन् ।

मालाले एक लाख ७० हजारको लगानीबाट व्यवसाय सुरु गरिन् । थोरै सामान उत्पादन गर्ने तर गुणस्तरीय सामान उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको कोइँ बाइ मालाले अहिले महिनामा दुई लाखको व्यापार गर्छ ।

उचित मूल्यमा गुणस्तरीय कपडा नै कोइँ बाइ मालाको विशेषता

कोइँ प्लस साइज बाइ मालाको कपडामा आमाको स्पर्श पाइन्छ । किनकि माला एउटा आमा हुन् र उनले आफूलाई कस्तो लुगा लगाउँदा सहज हुन्छ र राम्रो देखिन्छ भन्ने सोचेर कपडा तयार गर्छिन् ।

नयाँ कपडा तयार भएपछि उनी आफैं त्यो कपडा लगाउँछिन् । उनलाई चित्त बुझेपछि मात्र बिक्रीका लागि राख्छन् । कम मूल्यमा गुणस्तरीय कपडा बिक्री गर्नु कोइँको अर्को विशेषता हो । कोइँमा एक हजारदेखि २५ सय रुपैयाँसम्मको कपडा उपलब्ध छ । टिसर्ट, वानपिस, आउटर र ब्लेजर लगायतका कपडा यहाँ पाइन सकिन्छ । साथै फ्री होम डेलिभरीको व्यवस्था पनि छ ।

पहिले तीन-चार दिनमा एउटा कपडा बिक्री हुने कोइँमा अहिले दैनिक तीनदेखि चार वटा कपडा बिक्री हुने माला बताउँछिन् ।

कोइँले प्लससँगै मिडियम र स्मल साइजको कपडा पनि ल्याउँदै

कोइँले हाललाई स्टोर खोलेको छैन, अनलाइन मार्फत नै आफ्नो सामान बिक्री गर्दै आएको छ । दुई महिलाले चलाएको कोइँले नयाँ डिजाइन र गुणस्तरीय कपडा उत्पादन गर्नुका साथै मोटो मान्छेले पनि फेसन गर्न मिल्छ है भन्ने सन्देश दिइरहेको छ । कोइँले प्लस साइजसँगै अब छिट्टै मिडियम र स्मल साइजको कपडा पनि ल्याउने तयारी गरिरहेको माला बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?