+
+
Shares
मोन्था चक्रवात :

चक्रवातको नाम किन र कसरी राखिन्छ ?

२०१४ मा पनि कात्तिक महिनामै ‘हुदहुद’ नामको चक्रवात आएको थियो । त्यसको असरले नेपालका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण करिब ४० जनाको ज्यान गएको थियो । अहिले फेरि मोन्था नामको चक्रवातले नेपालमा विनाश निम्त्याउने आशंका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ११:२७

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असरले नेपालमा पनि वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै बढ्ने र पूर्वी तराई र मधेश प्रदेशका जिल्लामा बढी क्षति पुर्‍याउन सक्ने आशंका छ । त्यसैले मधेश प्रदेश सरकारले सुरक्षा संयन्त्र र उद्धारकर्तालाई अलर्टमा राखेको जनाएको छ ।

आजभन्दा एघार वर्ष अघि अर्थात् सन् २०१४ मा पनि कात्तिक महिनामै ‘हुदहुद’ नामको चक्रवात आएको थियो । त्यसको असरले नेपालका उच्च हिमाली क्षेत्रमा हिमपातका कारण करिब ४० जनाको ज्यान गएको थियो ।

अहिले फेरि मोन्था नामको चक्रवातले नेपालमा विनाश निम्त्याउने प्रक्षेपण छ । त्यसैले यसको क्षतिबाट जोगिन पर्वतारोहणमा नजान र बाढी तथा डुबान प्रभावित क्षेत्रमा उच्च सतर्कतामा रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

चक्रवात के हो ?

चक्रवात एक विशाल वायु प्रणाली हो, जुन कम दबाबयुक्त क्षेत्रको केन्द्र भागबाट चारैतिर घुम्छ । चक्रवातको मुख्य विशेषता नै चक्रजसरी घुम्ने हावाको वेग हो, जुन उत्तरी गोलार्धमा घडीको सुईको विपरीत दिशामा र दक्षिणी गोलार्धमा घडीको सुई घुम्ने दिशामा घुम्दछ ।

यसबाट तीव्र वेगमा आँधी चल्छ र त्यो आँधीले उडाएर ल्याएको बादलले वर्षा गराउँछ । सागरबाट बहँदै जमिनमा बज्रिएपछि तुफानको शक्ति पनि क्षीण हुन्छ ।

विज्ञहरुका अनुसार चक्रवातको पहिचान गर्न र मानिसहरुलाई जागरुक बनाउन नाम राख्ने गरिन्छ । त्यसको पनि विश्व मौसम संगठनले तय गरेको निश्चित विधि, प्रक्रिया र चक्रवातका लागि बनाइएका मानकअनुसार नामकरण गरिन्छ ।

‘मोन्था’ नाम कसरी राखियो ? कसले राख्यो ?

उत्तरी हिन्द महासागर क्षेत्रमा आउने चक्रवातहरूको नाम त्यहाँका देशहरूले पहिले नै तयार पारिएको सूचीबाट चयन गरिन्छ । ‘मोन्था’ नाम थाइल्यान्डले सुझाएको हो । थाइल्यान्ड उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवातका नाम सुझाउने १३ सदस्य मुलुकमध्ये एक हो ।

मोन्थाको अर्थ के हुन्छ ?

थाई भाषामा ‘मोन्था’को अर्थ सुगन्धित वा सुन्दर फूल हुन्छ ।

कसरी राखिन्छ चक्रवातको नाम ? कहिलेदेखि सुरु भयो नाम राख्ने चलन ?

सन् २००० मा विश्व मौसम विज्ञान संगठनको एशिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगबाट नाम राख्ने चलन सुरु भएको थियो ।

त्यतिबेला यो समूहमा बंगलादेश, भारत, मालदिभ्स, म्यानमार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्याण्ड सामेल थिए । त्यसपछि यो समूह विस्तार भयो । र, सन् २०१८ मा यसमा अरु पाँच देश इरान, कतार, साउदी अरब, युएई र यमन पनि थपिए ।

यी देशहरुले पालैपालो चक्रवातको नाम राख्ने अवसर पाउँछन् । प्रत्येक देशले १३ वटा नामको सूची बुझाउँछन् । यी सबैलाई जोड्दा १६९ वटा नाम बन्छन् । कुनै नयाँ चक्रवात बनेपछि त्यही सूचीबाट नयाँ नाम चयन गरिन्छ । यसैअनुसार ‘मोन्था’ चक्रवातको नामकरण थाइल्याण्डको प्रस्ताव अनुसार राखिएको हो ।

चक्रवातको नाम राख्दा के हुन्छ ?

यसरी चक्रवातको नाम राख्दा तुफान प्रभावित देशहरुबीच जागरुकता र साँस्कृतिक आदान–प्रदानलाई बढावा मिल्ने विश्वास गरिन्छ । साथै यसमा सूचना आदान प्रदानको प्रणाली पनि मजबुत हुने बताइन्छ ।

नेपालले नाम राख्न किन पाउँदैन ?

विश्व मौसम संगठनमा नेपाल पनि सामेल छ । तर नेपालले चक्रवातको नाम राख्ने अवसर पाउँदैन । किनभने नेपालमा समुद्र छैन । चक्रवातको प्रत्यक्ष असर पनि नपर्ने भएकाले नेपालले नाम राख्ने गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?