४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला सीमांकन सकेको छ । सीमांकनका क्रममा १ सय ४७ संरचना खोलाघरमै बनाइएको पाइएको महानगरले जानकारी दिएको छ ।
महानगरले साउन ३ गतेदेखि अमिन वासुदेव पौडेलको नेतृत्वमा फिर्केखोलाको वास्तविक बाटो खोज्न सुरु गरेको थियो । टोलीले एक महिना लगाएर आइतबार सीमांकन सकेको हो ।
अमिन पौडेलले सीमांकनका क्रममा ३५ वटा निजी स्थायी संरचना, २५ वटा विभिन्न सामाजिक संस्थाका संरचना र ८७ वटा अस्थायी संरचना बनेको फेला परेको जानकारी दिए । ‘अब हामीले यो प्रतिवेदन आइतबारसम्म महानगरमा बुझाइसक्छौं । त्यसपछि बाँकी प्रक्रिया सुरु हुन्छ,’ पौडेलले भने ।
सीमांकनका क्रममा ५ सय ८५ वटा स्तम्भ गाडिएको पौडेलले जानकारी दिए । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिन्हमात्रै लगाएर छोडिएको उनको भनाइ छ । ‘संरचना ठडिएका ठाउँमा पिलर गाड्न सकिएन, त्यस्तो ठाउँमा रातो चिन्हमात्रै लगाएर छोडेका छौं,’ उनले भने । उनले २ सय ३९ ठाउँमा रातो चिन्ह लगाइएको सुनाए ।
पोखराको मध्यभाग भएर बग्ने फिर्केखोला ८ किलोमिटर लामो छ । जानकारहरुका अनुसार केही वर्षअगाडिसम्म ४० मिटरसम्म फैलिएको फिर्केखोला अतिक्रमणको चपेटामा पर्दा साँघुरिएको मात्रै छैन, कतै अस्तित्व नै देखिँदैन । केही वर्षसम्म फिर्के खोलाकै बाटो रहेको पोखरा जिरो किमीमा खोलामाथि नै व्यक्तिगतमात्रै नभई विभिन्न संघसंस्था र धार्मिक व्यापारिक भवन बनाएका छन् ।
फिर्केखोलाको अन्तिमविन्दु गाईघाट (फेवाताल, ड्यामसाइड) देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।
फिर्केको वास्तविक आकार पत्ता लागिसकेपछि मापदण्ड तोकिने र असोजपछि मात्रै संरचना हटाउन सुरु गरिने मेयर आचार्यले बताएका छन् । उनले फिर्केखोला माथि बनेका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने जानकारी दिए ।
‘खोलामाथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन । खोलामाथि बेच्ने को हो ? लालपुर्जा कहाँ पाएर बेच्यो ?’, उनले भने, ‘त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारबाही हुन्छ ।’
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वमा ०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमै नआई हालको कार्यपालिकाले मापदण्ड ५ मिटर बनाउने तयारी गरेको छ ।
‘फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्नेखालका कुराहरु पनि आएका छन्,’ फिर्केखोला सीमांकन उद्घाटन गर्दै मेयर आचार्यले भनेका छन्, ‘त्यसमा अहिले विज्ञहरुको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ,’ आचार्यले भने, ‘केही दिनमा मापदण्ड पनि क्लियर हुनेछ ।’
फिर्केखोला अतिक्रमण गरेर बनेका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने योजना महानगरको छ । एसियाली विकास बैंकको पोखरामा ‘सस्टेनेबल टुरिजम्’का लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने महानगरको भनाइ छ ।
हाल फिर्केखोला अतिक्रमणमात्रै होइन, ढल तथा मलमूत्रसमेत खोलामा मिसाउँदै आएका छन् । खोलामा फालिएको ढल तथा मलमूत्र सीधै फेवातालमा गएर सिसिँदा दुर्घन्धित बनेको छ । जिल्ला कारागार कार्यालय कास्कीलगायतका सरकारी, निजी तथा दर्जनौं व्यक्तिगत घरधनी फिर्केमा सीधै सेप्टिक ट्यांकीको ढल मिसाएका छन् ।
प्रतिक्रिया 4