काठमाडौं, ४ भदौ– घोषणा भएको दुई महिनापछि चार दलीय समाजवादी मोर्चाले प्रदेश र स्थानीय तहसम्म आफ्नो संरचना विस्तार गर्ने निर्णय गरेको छ ।
विचार र सांगठानिक हिसाबले अलग–अलग स्वरूपमा रहेका दलहरूबीच केन्द्रमा नेतृत्वले मोर्चा निर्माण गरे पनि त्यसलाई तल्लो तहसम्म विस्तार गर्ने र घोषणा भएअनुसार कार्यन्वयनमा जानेमा आशंका व्यक्त भइरहँदा मोर्चाले त्यसको खाका कस्तो बनाउने भन्ने विषयमा समेत टुंगो लगाएको छ ।
मोर्चा नेतृत्व गरिरहेको दल दल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले सातै प्रदेशमा घोषणा सभा र संगठन विस्तारका लागि मिति समेत तय गरेको छ ।
समाजवादी मोर्चाका सदस्य सचिव प्रमेश हमालले सोमबार बसेको बैठकले निर्णय गरेअनुसार सबै प्रदेशमा घोषणा सभाको आयोजना गर्ने र सोही मितिमा प्रदेश स्तरीय संरचनाको समेत घोषणा गरिने बताए । पार्टी निर्माणकै संरचनामा मोर्चा सन्चालन गर्ने योजना बनाउनुका पछाडिको अन्तर्य नखुले पनि नयाँ प्रयोग गर्न यसमा आबद्ध दलहरु तयार भएका हुन् । विगतमा संयुक्त वाममोर्चा लगायत विभिन्न मोर्चाहरु खडा हुने गरे पनि अहिले समाजवादी मोर्चाले गर्न खोजेको जस्तो अभ्यास भने गरिएको थिएन ।
‘बैठकले यही महिना (भदौ) को दोस्रो हप्तादेखि सुरु गर्ने र यही महिनाभित्र सक्ने गरी प्रदेशस्तरीय सभा गर्ने निर्णय भएको छ । जुन जुन प्रदेशमा सभा हुनेछ, सोही प्रदेशमा मोर्चाको प्रदेश संरचना पनि घोषणा हुनेछन्,’ उनले भने ।
उनका अनुसार भदौको ८ गते मधेस प्रदेशको वीरगन्ज, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने निर्णय भएको छ ।
समाजवादी मोर्चाको घटक नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढाका अनुसार प्रदेश र स्थानीय तहमा मोर्चाको संरचना निर्माणका विषयमा समेत बैठकले टुंगो लगाएको छ ।
उनका अनुसार प्रदेशमा समाजवादी मोर्चाको प्रदेश र स्थानीय तहको संरचनाको मोडालिटी केन्द्रकै शैलीमा बन्ने भएको छ । केन्द्रमा मोर्चा आवद्ध प्रत्येक दलबाट चार चार जना रहने गरी समन्वय समिति बनेको छ । त्यस्तै हरेक पार्टीबाट एकएक जना रहने गरी सचिवालयको निर्माण गर्ने र मोर्चाको नेतृत्व गरिरहेको दलबाट एकजना सदस्य सचिव रहने सहमति मोर्चामा बनेको छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार मोर्चाको केन्द्रमा नेतृत्व गर्ने पार्टीले नै प्रदेश र स्थानीय तहमा पनि मोर्चाका समन्वय समितिको नेतृत्व गर्ने छ ।
‘केन्द्रमा प्रत्येक पार्टीबाट चार–चार जना प्रतिनिधि हुनेछन् । एउटा पार्टीले चार महिनासम्म मोर्चाको नेतृत्व गर्नेछ । यस विषयमा हामीले पहिले नै सहमति बनाएर बैठक बसेर निर्णय गर्दै आइरहेका छौँ,’ उपाध्यक्ष पाण्डेले भने, ‘आजको बैठकले प्रदेश र स्थानीय तहको संगठनको मोडल पनि सोही अनुरूप बनाउने भनेका छौँ । जुन प्रदेशमा मोर्चाको घोषणा सभा हुनेछ सोही प्रदेशमा मोर्चाको संरचना पनि घोषणा हुनेछ । त्यसपछि स्थानीय तहमा संरचनाको विस्तार गर्नका लागि मोर्चाको प्रदेश समितिले नै काम गर्नेछ ।’
उनका अनुसार प्रदेश कमिटीमा हरेक पार्टीबाट तीन तीन जना सिफारिस हुनेछन् भने स्थानीय तहमा पार्टीबाट दुई दुई जना सिफारिस हुनेछन् । त्यसो हुँदा प्रदेश समन्वय समिति १२ जनाको हुनेछ भने स्थानीय तहको समन्वय समिति आठ जनाको हुनेछ । जुन पार्टीले केन्द्रमा नेतृत्व गर्नेछ सोही पार्टीले प्रदेश र स्थानीय तहमा पनि संयोजक र सदस्य सचिव बनाएर मोर्चाका कामलाई अगाडि बढाउने छ ।
अहिले समाजवादी मोर्चाको नेतृत्व केन्द्रमा एकीकृत समाजवादीले गरिरहेको छ । मोर्चाको संयोजकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरिरहेका छन् । त्यस्तै मोर्चाको केन्द्रीय सदस्य सचिवमा एकीकृत समाजवादीकै उपाध्यक्ष प्रमेश हमाल छन् ।
मोर्चामा हाल सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र संसद बाहिर रहेको दल नेकपा माओवादी केन्द्र छन् ।
मोर्चाको केन्द्रीय सचिवालयमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन् ।
जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य सन्तोष बुढा र उमा भुजेल मोर्चाको सचिवाललयमा छन् ।
हाललाई प्रदेशस्तरमा पनि यही मोडालिटीमा कमिटी विस्तार गर्ने र नेतृत्व तथा सचिवालयको विस्तार हुने उपाध्यक्ष पाण्डेको भनाइ छ ।
प्रदेशका घोषणासभा अलग–अलग पार्टीले आयोजना गर्ने
आगामी ८ भदौदेखि आयोजना गर्ने भनिएका समाजवादी मोर्चाको संयुक्त सन्देशसभा भने भिन्दाभिन्दै प्रदेशमा अलग–अलग पार्टीले आयोजना गर्ने गरी जिम्मेवारी तोकिएको छ । जसअनुसार ८ भदौमा मधेस प्रदेशमा र २५ भदौमा कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमलाई जसपाले आयोजना गर्नेछ । एकीकृत समाजवादीले १३ भदौमा सुदूरपश्चिमको धनगढी र २३ भदौमा बागमतीको हेटौँडामा हुने सभाको आयोजना गर्नेछ । माओवादी केन्द्रले १४ भदौमा कर्णालीको सुर्खेत र १५ भदौमा गण्डकीको पोखरामा हुने सभाको आयोजना गर्नेछ ।
यस्तै नेकपाले १२ भदौमा लुम्बिनी प्रदेशको बुटवलमा हुने सभाको आयोजना गर्नेछ । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाले सबै प्रदेशमा आयोजना गर्ने पहिलो सभाबाट सरकारले गरिरहेका कामहरूका विषयलाई जनस्तरसम्म लैजाने र त्यसको बलमा भ्रष्टाचार विरोधी आन्दोलनलाई तीव्रता दिने गरी जनसमर्थन बटुल्ने बताए ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4