+
+
Shares

भारत-चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍यायो : समाजवादी मोर्चा  

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:५४
समाजवादी मोर्चामा आबद्ध नेताहरू/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाजवादी मोर्चाले भारत-चीनबीच लिपुलेक व्यापारिक नाका पुनः खोल्ने सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • मोर्चाले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुग्ने सहमतिप्रति असहमति जनाउँदै विरोध गरेको छ।
  • मोर्चाले सरकारले कूटनीतिक पहल गरी नेपालको भूभाग फिर्ता ल्याउन आह्वान गरेको छ।

६ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेकलाई पुनः व्यापारिक नाका बनाउने गरी भारत-चीनबीच हालै भएको सहमतिप्रति समाजवादी मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘भारत र चीनबीच हालै पुलान-गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ,’ मोर्चाले शुक्रबार जारी गरेको विज्ञप्तिमा छ ।

नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुऱ्याउने यस प्रकारको सहमतिप्रति समाजवादी मोर्चाले असहमति जनाउँदै विरोध गरेको छ ।

मोर्चाले सरकारले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य-तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न मोर्चाले आह्वान समेत गरेको छ  ।

ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने पुष्टि गरेको भन्दै मोर्चाले भनेको छ, ‘नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रहरूमा विगत केही समयदेखि भारतीय पक्षको अतिक्रमण जारी छ । यस विषयमा नेपालको तर्फबाट कूटनीतिक पहल गरेर नेपालको भूभाग फिर्ता ल्याउन आवश्यक प्रयत्नहरू हुन सकेका छैनन् । यसै बीच लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकार माथि गम्भीर आघात पुगेको छ ।’

विज्ञप्तिमा समाजवादी मोर्चाका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?