+
+
Shares

समाजवादी मोर्चा विघटन गरौं भन्दै थिए, तर संयोजकमा दोहोरिए विप्लव

मंगलबार बसेको मोर्चाको बैठकले विप्लवलाई नै संयोजकमा दोहोर्‍याउने निर्णय लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव समाजवादी मोर्चाको संयोजकमा दोहोरिएका छन्।
  • मंगलबार बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजकमा दोहोर्‍याउने निर्णय लिएको छ।
  • बैठकले सातै प्रदेशमा सरकारलाई खबरदारी गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ।

१४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लव समाजवादी मोर्चाको संयोजकमा दोहोरिएका छन् ।

मंगलबार मोर्चाको बैठक बसेको थियो । उक्त बैठकले विप्लवलाई नै संयोजकमा दोहोर्‍याउने निर्णय लिएको हो ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा मोर्चाको गठन र यसका गतिविधिबारे समीक्षा भएको थियो । समीक्षा गर्ने क्रममा विप्लवले मोर्चालाई जनतासँग जोड्न नसकिएको बताएका थिए ।

‘केही समय मोर्चालाई स्थगन गरेर पनि जान सकिन्छ ।  आवश्यकताका आधारमा पुन: मोर्चालाई सक्रिय बनाउन सकिन्छ’ विप्लवले भनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पनि समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउनुपर्ने विप्लवको मतमा समर्थन जनाए ।

समीक्षाका क्रममा प्रचण्डले मोर्चालाई सक्रिय बनाउनुपर्ने बोध सबैलाई भएको उल्लेख गर्दै मोर्चाको नेतृत्वमा विप्लव नै दोहोरिने प्रस्ताव राखे ।

‘संयोजकको पालो माओवादीको आएको हो । तर, विप्लवजीमा जुन गम्भीर्यता देखिएको छ । यसले उहाँकै नेतृत्व खोज्दछ’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

प्रचण्डको प्रस्ताव अनुसार विप्लव मोर्चाको संयोजकमा दोहोरिएका हुन् ।

मंगलबारकै बैठकले समाजवादी मोर्चामार्फत सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको छ । ती कार्यक्रम सरकारलाई खबरदारी गर्नेमा केन्द्रित हुनेछ ।

मोर्चाको सचिवालयले थप कार्यक्रम तय गर्नेछ ।

यो मोर्चा ४ असार २०८० सालमा गठन भएको थियो । त्यसबेला मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि थियो । हाल जसपा मोर्चामा सहभागी छैन ।

मोर्चा गठन हुँदा नै मोर्चाको नेतृत्व आलोपालो गर्ने र ६/६ महिनामा नेतृत्व बदल्ने सहमति भएको थियो ।

त्यसअनुसार माओवादी केन्द्रको पालो आएता पनि प्रचण्डले विप्लवलाइ नै नेतृत्वमा दोहोर्‍याउने प्रस्ताव गरेपछि सोही अनुसार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?