
४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी आफूहरुले चाहे जसरी अगाडि बढ्न नसकेको बताएका छन् । तर एमालेबाट गरेको विद्रोहको औचित्य भने बारम्बार पुष्टि भएको बताएका छन् ।
मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले संगठनात्मक अवस्था र समस्याबारे उल्लेख गरेका छन् ।
पार्टी तथा भ्रातृ संगठनका कमिटीको तथ्यांक उल्लेख गर्दै उनले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘हाम्रो पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन । पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायन जस्ता कमजोरी देखिएका छन् ।’
यस्तो कमजोरी देखिनुको प्रमुख कारण पार्टीकै कतिपय व्यक्तिले पार्टीको बद्ख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य भएको नेपालको दाबी छ । उनले भनेका छन्, ‘यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसके ।’ यदि कोही पार्टीमा छन् भने उनीहरुलाई त्यस्तो काम गर्ने छुट नदिने अध्यक्ष नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने, तर पूरा नगर्ने प्रवृत्ति, पार्टी सानो छ भन्ने लघुताभास, प्रत्यक्ष रुपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि जस्ता कारण पनि रहेको उनले औंल्याएका छन् ।
अध्यक्ष नेपालले अगाडि भनेका छन्, ‘अब निराशालाई चिर्ने, आशा र उत्साह जगाउने ठोस योजनाका साथ अघि बढ्नुपर्छ ।’
अबको ५ महिनापछि महाधिवेशन गर्ने भन्दै उनले सम्पूर्ण कार्ययोजना महाधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4