+
+

काठमाडौंको बुद्धनगरमा भैंसी आतंक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते ७:२६
फाइल तस्वीर ।

६ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ ।

भैंसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सन्चालकहरु पनि आधा सटर बन्द गरेर सतर्क अवस्थामा बसेका देखिन्छन् ।

नयाँबानेश्वरका डिएसपी निशान्त श्रीवास्तवले यो भैंसी कहाँबाट आयो भन्ने यकिन नभइसकेको र कसैलाई आक्रमण गर्न सक्ने भएकाले निगरानीमा राखिरहेको जानकारी दिए । ‘घाँटीमा दाम्लो झुण्डिएको छ । भैंसी आतंकित जस्तो देखिन्छ, यताउता दौडिरहेको छ,’ डीएसपी श्रीवास्तवले भने, ‘नाक पनि छेडेको रहेनछ । नाक छेडेको भए पकड्न सजिलो हुन्थ्यो । हामीले अहिले यसलाई वाच मात्र गरिरहेका छौं ।’

अहिले उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ ।

आज बिहानै बुद्धनगरमा एउटा भैंसी अनियन्त्रित अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बुद्धनगर र नयाँबानेश्वरको दुई वटा प्रहरी टोलीले भैंसीलाई निगरानीमा राख्दै पछ्याइरहेका छन् ।

स्थानीयवासी पनि चिच्याउँदै भैंसी हेर्न जम्मा हुने गरेपछि भैंसी झन् आतंकित भएकोजस्तो देखिन्छ ।

भैंसी धनी पनि पत्ता नलागेको र धनी पत्ता लागेमा खबर गर्न भनेर वरपरका प्रहरी युनिटहरुमा सर्कुलर गरिएको नयाँबानेश्वरका डिएसपी श्रीवास्तवले जानकारी दिए ।

काठमाडौंमा भैंसी र राँगोको आतंक नयाँ भने होइन । यसअघि एउटा भैंसीले २०७१ साल मंसिरमा बुद्धनगरमा रहेको ह्याम्स अस्पतालभित्र प्रवेश गरेर आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको थियो ।

२०७५ फागुनमा काठमाडौं चन्द्रागिरिको मच्छेगाउँमा एउटा राँगोले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको थियो । उक्त राँगोलाई लखेट्दै दहचोक पुर्‍याएर प्रहरीले गोली हानेर मारेको थियो ।

यसैगरी २०७६ असोजमा काठमाडौंको न्युरोडमा र २०७९ साउनमा चन्द्रागिरि नगरपालिकाकै गोदामचौरमा आतंक मच्चाएका राँगाहरुलाई प्रहरीले गोली हानेर मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?