
काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)लाई अब गैरनाफामूलक संस्था किम्फ फाउण्डेसनले आयोजना गर्ने भएको छ । बिहीबार लाजिम्पाटको होटल दुसित प्रिन्सेसमा आयोजित समारोहमा फाउण्डेसनको घोषणा गरियो ।
अडियो-भिजुअल तथा डिजिटल माध्यमद्वारा स्वदेशी र विदेशी फिल्मको प्रदर्शन एवं महोत्सवमार्फत शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको जनाइएको छ ।
फाउन्डेसनले प्रमुख कार्यकम अन्तर्गत बर्सेनि काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को आयोजना गर्ने भएको छ । यस फिल्म महोत्सवमा देशभित्र र बाहिरका डकुमेन्ट्री तथा कथानक फिल्म प्रदर्शन हुने भएका छन् ।
फिल्मकर्मी, फिल्मप्रेमी, समीक्षक, विद्वान्, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितिमा हुने महोत्सवको आकर्षणको रुपमा फिल्मसम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुने वक्तव्यमा उल्लेख छ ।
सन् २००० मा स्थापना भएदेखि नै गैरनाफामूलक संस्था हिमाल एसोसिएसनले किम्फ आयोजना गर्दै आएको छ । किम्फ फाउन्डेसनअन्तर्गत महोत्सवको अर्को संस्करण मे २०२४ मा हुनेछ ।
किम्फका संस्थापक सदस्य तथा सञ्चारकर्मी रम्यता लिम्बूले विभिन्न पृष्ठभूमि र पेशाका प्रतिष्ठित व्यक्ति सम्मिलित बोर्डको अध्यक्षको रूपमा फाउन्डेसनको गतिविधिलाई अघि बढाउने भएकी छन् । फाउन्डेसनका अन्य सदस्यमा दावा शेर्पा, शेखर खरेल,सुमन जोशी र राजन कठेत छन् ।
प्रतिक्रिया 4