+
+

हलिउड हड्तालले धकेलियो ‘ड्युन २’, ओस्कारमा ‘ओपेनहाइमर’लाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १२:२२

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘ड्युन : पार्ट २’ को प्रदर्शन मिति सन् २०२४ मा सरेको छ । पल एट्रेइडेस नामक पात्रको भूमिकामा तिमोथी चालमेटले अभिनय गरेको यो फिल्म मार्च १५ मा रिलिज हुने भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।

हलिउड स्टुडियो वार्नर ब्रदर्सले बिहीबार फिल्मको नयाँ मितिबारे जनाएको हो । पूर्वनिर्धारित मार्च १५ मा आउने तयारीमा रहेको ‘गोडजिला भर्सेस किङ : द न्यु अम्पायर’ भने अब अप्रिल १२ मा रिलिज हुनेछ ।

हलिउडमा चलिरहेको कलाकार र लेखकहरुको हड्तालको कारण ‘ड्युन : पार्ट २’ को प्रदर्शन धकेलिएको हो । हड्तालका कारण स्टारहरु कुनै पनि फिल्मको प्रचारप्रसारमा उपस्थित भएका छैनन्, जसले गर्दा निर्माताले प्रदर्शन मिति नै पोस्टपोन्ड गरेको अनुमान गरिएको छ ।

साइन्स-फिक्सन ‘ड्युन’को दोस्रो श्रृंखलामा तिमोथी चालमेट, जेन्डाया, अस्टिन बट्लर, फ्लोरेन्स पग, रेबिका फर्गुसनजस्ता स्टार समावेश छन् ।

ड्युन’ सर्दा ‘ओपेनहाइमर’लाई फाइदा

‘ड्युन : पार्ट २’ को प्रदर्शन मिति सरेपछि यसले आगामी ओस्कार अवार्डमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । ड्युनको दोस्रो श्रृंखला अर्को वर्ष धकेलिएपछि यसको प्रत्यक्ष फाइदा लेखक, निर्देशक क्रिस्टोफर नोलनको परमाणु बम ड्रामा ‘ओपेनहाइमर’लाई हुने देखिएको छ ।

‘ड्युन : पार्ट २’ सरेपछि प्राविधिक फाइदाहरु प्रोडक्सन डिजाइन, छायांकन, सम्पादन, ध्वनि, भिजुअल इफेक्ट र ओरजिनल स्कोरजस्ता विधामा अन्य फिल्मलाई फाइदा पुग्ने देखिन्छ । ओपेनहाइमरले प्राविधिक विधामा दबदबा जमाउने अपेक्षा गरिएको छ ।

यद्यपि, ओपेनहाइमरको प्रतिस्पर्धा ‘किलर्स अफ द फ्लावर मुन’, नेटफ्लिक्सको ‘माएस्ट्रो’ र ‘बार्बी’सँग पनि हुने अपेक्षा छ । नोभेम्बर १८ सम्म ओस्कारमा फिल्म दर्ता भइसक्नुपर्नेछ । डिसेम्बर १८ देखि प्रारम्भिक मतदान हुनेछ । जनवरी २३ मा ओस्कार मनोनयन घोषणा हुनेछ । ९६ औं ओस्कार अवार्ड मार्च १० आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?