+
+

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : आलिया र कृति सर्वश्रेष्ठ अभिनेत्री, अल्लु अर्जुन अभिनेतातर्फ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १४:२२

काठमाडौं । भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ । सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो ।

आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे । ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे ।

‘रकेट्री : द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भयो । सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड फिल्म ‘मेप्पडियन’ले प्राप्त गर्‍यो । ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय फिल्म घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो ।

फिल्म ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक फिल्म घोषित भयो । वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वश्रेष्ठ घोषित भयो । ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल फिल्म, ‘गोदावरी’बाट निखिल महाजन सर्वश्रेष्ठ निर्देशक घोषित भए ।

पंकज त्रिपाठी फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ सहायक अभिनेता बन्दा ‘द कश्मीर फाइल्स’बाट पल्लवी जोशी सहायक अभिनेत्री घोषित भइन् । भारतबाट गत वर्ष ओस्कारमा सिफारिस भएको फिल्म ‘द लास्ट शो’का भविन रावरी सर्वश्रेष्ठ बालअभिनेता घोषित भए ।

‘आरआरआर’मा समावेश गीत ‘कोमुराम भीमुडो’बाट काल भैरव सर्वश्रेष्ठ पार्श्व गायक घोषित भए । सर्वश्रेष्ठ छायांकन विधामा ‘सरदार उद्यम’का अविक मुखोपाध्याय विजयी बने । सर्वश्रेष्ठ पटकथातर्फ ‘नायट्टु’बाट शाही कविर उत्कृष्ट बने । एडप्टेड पटकथातर्फ गंगुबाई कठियावाडीका सञ्जयलीला भन्साली र उत्कृषिती वशिष्ठ उत्कृष्ट घोषित भए ।

उत्कृष्ट संवाद लेखन, सम्पादन र मेकअप आर्टिस्ट विधाको अवार्ड पनि गंगुबाई कठियावाडीले जित्यो । ‘सरदार उद्यम’ले कस्ट्युम डिजाइनर र प्रोडक्सन डिजाइनको विधा जित्यो । उत्कृष्ट संगीत निर्देशन विधामा ‘पुष्पा’बाट देवीश्री प्रसाद र पार्श्व ध्वनिमा आरआरआरबाट एमएस कीरावाणी विजयी घोषित भए ।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गरे । आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधा जित्यो । यसबाहेक विभिन्न राज्यका फिल्मलाई पनि राष्ट्रिय अवार्ड प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?