+
+

महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित, हारका बाबजुद हङकङसँग फाइनल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १५:१५

८ भदौ, काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा इज्जती इस्मालीले २१ रन जोडिन् । 

बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र  पूजा महताे समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।  नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।

त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

आज मलेसियासँगको फराकिलो हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको हो ।

नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ छ । मलेसियाको ३ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ मात्रै रह्यो ।

यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?