+
+

‘विपिनप्रति डाह छैन, फिल्म एक भगवत् गीता मेरो लागि महत्वपूर्ण’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १२:५६

काठमाडौं । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’लाई लिएर सुहाना र झरना थापा उत्साहित छन् । काठमाडौंमा आयोजित प्रेसमिटमा निर्देशक झरना र अभिनेत्री सुहानाले यो फिल्म आफू र दर्शकलाई किन खास छ भन्ने सन्दर्भमा कुराकानी गरे ।

के भइदिएको छ भने जहिलेदेखि यो फिल्मको पोस्टर र टिजर सार्वजनिक भयो, त्यो बेलादेखि ‘एक भगवत् गीता’मा विपिन कार्की हाबी छन् । कमलामाई पात्र फिल्म उद्योगलाई उपहार रहेको अभिव्यक्ति कार्कीले दिइसकेका छन् ।

यो मेसोमा झरनाले फिल्मको कथावस्तु अनुसार नै विपिनलाई कमलामाई पात्रमा लिइएको बताएकी छन् । ‘विपिनजीले जुन भूमिका गर्नुभएको छ, त्यो क्यारेक्टरलाई हत्तपत्त अरुले गर्न गाह्रो छ । उहाँको अभिनय पनि जीवन्त छ । उहाँलाई मैले लिएँ भने खोजेको काम पाउँछु भनेर चुज गरेको हो,’ उनले भनिन्, ‘स्टोरी बन्दै जाँदा, सामाजिक कथावस्तुलाई लिएर फिल्म बनाउँदा विपिनजीलाई प्रस्तुत गर्ने विचार गरें । उहाँको कामबाट सबै जना सरप्राइज छन् ।’

उनले ‘एक भगवत् गीता’को निर्देशन आफ्ना लागि चुनौतीपूर्ण रहेको बताइन् । ‘म लभस्टोरी फिल्मको घेरामा मात्र सीमित हुनुहुँदैन । मैले समाजका कथावस्तुलाई पनि पेश गर्नुपर्छ भन्ने लागेर निर्देशन गरेकी हुँ,’ झरनाले भनिन् ।

अभिनेत्री सुहानाले आफ्ना लागि ‘एक भगवत् गीता’ अघिल्ला फिल्महरु ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलाभन्दा पनि महत्वपूर्ण रहेको बताइन् । ‘मलाई यो फिल्ममा गर्व छ । मेरा लागि यो फिल्म महत्वपूर्ण छ,’ उनले भनिन्, ‘मलाई विपिन कार्कीप्रति डाह छैन ।’

सुहानाले ‘कर्मको सिद्धान्त’को कथावस्तुमा फिल्म आधारित रहेको बताइन् । ‘कर्मलाई एक भगवत् गीतामा देखाउन प्रयास गरेका छौं । यसपटक काम गर्दा मजा लाग्यो । आफ्नो अटेन्सन दिन पाएँ,’ उनले भनिन् । अर्कोतर्फ सुहानालाई तेस्रो फिल्मसम्म आइपुग्दा घरकै फिल्ममा काम गरेको आरोप लागिरहेको छ ।

बुवा तथा फिल्म निर्माता सुनिलकुमार थापाले अझै डेढ वर्ष सुहानाले घरको फिल्म गर्ने बताए । ‘त्यसपछि अरु जुन फिल्म खेले पनि हुन्छ,’ सुनिलले भने, ‘पढाइको कारणले उसले तत्काल घरबाहिरको फिल्म खेल्ने अवस्था छैन ।’ फिल्मको प्रचारका लागि सुहाना न्युयोर्कबाट यतिबेला काठमाडौं आइपुगेकी छन् ।

तस्वीर सौजन्य : ज्ञानु राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?