 
																			११ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको उनको तर्क छ ।
टिकापुर जग्गा अनियमितता प्रकरणमा गरेको अनुसन्धानका क्रममा टिकापुर विकास समितिका नाममा बाँडिएको जग्गामध्ये आरजुको नाममा ३ कठ्ठा ७ धुर जग्गा फेला परेको थियो ।
अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धानका क्रममा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसम्म मुछिएको बारे अनलाइनखबरले गरेको स्थलगत रिपोर्टिङ ८ भदौमा प्रकाशित भएको थियो ।
यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । यसपछि आरजुले आफूले सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई सम्पर्क गरेर त्यसबारे सोधेको उनले बताएकी छन् ।
‘टिकापुरमा राजा महेन्द्रले पहाडेहरुलाई वसोबास गर्ने भनेर त्यसबेलाका मन्त्री खड्गबहादुर सिंहलाई अह्राइबक्सेको रहेछ, त्यसबेला पुनर्वास भन्ने हुन्थ्यो नि..’, सामाजिक सञ्जाल टिकटकमा ‘डा. आरजु राणा देउवा’ नामक एकाउन्टमार्फत सार्वजनिक भिडियोमा उनले भनेकी छन्, ‘पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई फोन गरेर टिकापुरमा जग्गा किन्ने भन्नुभएको थियो ।’
त्यसबेला आफूले टिकापुरको नाम समेत नसुनेको भन्दै उनले भनेकी छन्, ‘बर्दिया, कैलाली थाहा थियो, टिकापुर थाहा थिएन । कहाँ हो र यो भनेको यो अलि अनकन्टार पनि छ, राम्रै हुन्छ । सस्तो पनि छ, किनिबक्सियोस् भनेका थिए ।’ त्यसपछि आफूले ‘हुन्छ त नि’ भनेर पैसा सोध्दा ५० हजार रुपैयाँ भनेको उनले बताए । त्यो बेला एक कठ्ठाको १५ हजारको दरले ३ कठ्ठा ७ धुर जग्गा आएको उनले बताएकी छन् ।
‘फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिन’, उनले भनेकी छन्, ‘उहाँले ‘खड्गबहादुर सिंहको पालामा एक कठ्ठाको एक हजारको दरको’ नक्कली बनाएर पूर्जा आह्वान गर्नुभएछ । त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरु फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ ।’
त्यो विषयमा मात्र उजुरी परेको भन्दै उनले भनेकी छन्, ‘त्योभन्दा पहिले पनि उजुरी परेको थियो, के के गरेर मिलाए, बन्द भएको रहेछ । अहिले उजुरी चाहिँ नेपाली कांग्रेसकै साथीहरुले खोलाएको हो ।’ अहिले रेशम चौधरीको पनि नाम आएको भन्दै उनको हकमा कहिले किनेको हो भन्ने थाहा नभएको उनी बताएकी छन् ।
‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन’, आरजुले भनेकी छन् । अनलाइनखबरले प्राप्त गरेको कागजातहरुमा आरजुले १३ वैशाख २०५४ मा टिकापुर विकास समितिमा दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि ३ कठ्ठा ७ धुर जग्गा लिएको देखिन्छ ।
टीकापुर जग्गा प्रकरणबारे थप सामग्री
ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए
 
                









 
                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4