+
+
कभर स्टोरी २ :

टीकापुरका जग्गा पीडित : उडायो सपना सबै हुरीले…

सस्तोमा राम्रो घडेरी भेटिएको भनेर टीकापुर बजार क्षेत्रमा जग्गा किनेका सयौं व्यक्ति ११ वर्षदेखि समस्यामा छन् । गिरोहबाट कसैले लिएको जग्गा किनेको अभियोगमा अख्तियारले मुद्दा चलाउन आँटेपछि उनीहरू अर्को तनावमा छन् ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० भदौ ८ गते २०:२९

८ भदौ, टीकापुर (कैलाली) । पुर्ख्यौली सम्पत्ति र दुःख गरेर जम्मा गरेको लाखौं रुपैयाँ हालेर टीकापुर बजार क्षेत्रमा घडेरी किनेर घर बनाएर बस्ने सपना बुनेका एक दुई होइन, सयौं व्यक्तिहरू गिरोहको फन्दामा परेका छन् । लाखौं रुपैयाँ लगाएर किनेको जग्गा र बनाएको घर ११ वर्षदेखि रोक्का हुँदा उनीहरू समस्यामा छन् । त्यसमाथि अब त्यो सम्पत्तिको वैधतामै प्रश्न उठ्ने भएपछि उनीहरूले कानुनी चुनौती पनि सामना गर्नुपर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा प्रकरणमा प्रतिवादी बनाएर अदालतमा मुद्दा लैजाने तयारी गरेपछि उनीहरू झन् तनावमा छन् । आर्थिक लगानी डुब्ने मात्रै होइन, मुद्दा मामिलाको झमेलामा पर्नुपर्ने त्रासमा छन् उनीहरू ।

प्रेमप्रसाद भट्टराई

हाम्रो पहाड घर अछाम हो । हामी पाँच भाइ छौं । अछामबाट बसाइँ सरेर टीकापुर नगरपालिका वडा नं ९ मा बस्दै आएका छौं । म रोजगारीका लागि भारतको मुम्बईमा करिब २४ वर्ष जति बसें । हामी पाँच भाइले नै भारतको मुम्बई, पुनाका होटलमा काम गर्यौं, अहिले पनि गर्दैछौं ।

हामीले करिब दुई कठ्ठा जग्गा किनेर त्यसैमा घर बनाएर बस्दै आएका थियौं । हाम्रै आफन्तले सडकको सुविधा भएको अलि राम्रो ठाउँमा जग्गा पाइएको छ भनेपछि पहिलेको जग्गा बेचेर नयाँ ठाउँमा ११ पुस २०६७ मा ६ लाख ७० हजारमा जग्गा किनेका हौं । हाम्रो जग्गा आमा जलुदेवी जैसीको नाममा छ । पास गर्दा कम पैसा लाग्छ भनेपछि थैली चाहिं १ लाख ८० हजारको राखेको छ ।

जग्गा किनेर हामीले करिब ४५/५० लाख खर्च गरेर घर बनाएका छौं । जग्गा किनेको एक वर्षपछि ऋण लिएर केही व्यवसाय गर्नुपर्यो भनेर बैंकमा गयौं । बैंकले रोक्का गर्न मालपोतमा पठायो । मालपोतमा जाँदा त यो जग्गा त अख्तियारले छानबिनका लागि रोक्का राख्न निर्देशन दिएका कारण पहिलेदेखि नै रोक्का छ भन्ने थाहा पायौं ।

जलुदेवी जैसी

अख्तियारले के कारणले रोक्का राखेको होला भन्ने थाहा पाउन अख्तियारमा गएर बुझ्दा त नक्कली कागजपत्र बनाएर जग्गा किनबेच भएको आशंकामा छानबिनका लागि रोक्का राखेको भन्ने सुन्दा छाँगाबाट खसे जस्तै भयो ।

मैले त मालपोत कार्यालयबाटै रजिस्टे«शन पास गरेर लिएको जग्गा हो । मैले जग्गा किन्नु भन्दा पहिले कसले कसरी त्यो जग्गा लिएका थिए भन्ने मलाई थाहा हुने कुरा भएन । नेपाल सरकारको निकायबाट बकाइदा साथ रजिस्ट्रेशन पास गरेर लिएको जग्गामा शंका गर्ने कुरा पनि भएन ।

बुझ्दै जाँदा त्यो जग्गा समितिका पूर्व सदस्य सचिव गणेश रावल मार्फत शारदा बिष्ट हुँदै हामीसम्म आइपुगेको रहेछ । जग्गा फुकुवा गराउनका लागि मैले १९ असोज २०७८ मा अख्तियारमा निवेदन दिएँ । निवेदन दिएको दुई वर्ष हुन थाल्यो । तर छानबिन नसकिएको भन्दै अख्तियारले अझै जग्गा फुकुवा गरिदिएको छैन ।

दुईदशक इन्डिया बसेर मजदुरी गरेको र पहाडको खेतबारी बेचेर जुटाएको पैसा लगाएर घडेरी किनेर घर बनाएको हो । हाम्रो २३ जनाको परिवार छ । हामी धेरै नै अन्यायमा परेका छौं । आर्थिक र मानसिक तनावमा छौं । हामीलाई न्याय दिलाइदिनुपर्यो ।

जनकबहादुर बिष्ट

मैले ७ कात्तिक २०६७ मा टेकबहादुर रावलसँग टीकापुरमा एक कट्ठा घडेरी ३ लाख ५० हजार रुपैयाँमा किनेको हुँ । नेपाल प्रहरीबाट सेवा निवृत्त हुँदा पाएको पैसा र पुरानो पुर्ख्यौली सम्पत्ति बेचेर यो घडेरी किनेको हुँ ।

घडेरी किनेको करिब तीन वर्षपछि २०७० सालमा ऋण लिएर केही व्यवसाय गर्नुपर्यो भनेर बैंकमा गएँ । बैंकले जग्गा रोक्का गराउन मालपोतमा पठायो । मालपोतले रोक्का गर्ने क्रममा मोठ भिडाउँदा त यो जग्गा पहिलेदेखि नै अख्तियारले रोक्का राखेको छ भन्ने थाहा पाएँ ।

के कारणले रोक्का राखेको होला भनेर बुझ्दै जाँदा टीकापुर नगर विकास समितिका केही पदाधिकारी र कर्मचारी मिलेर नक्कली कागजपत्र बनाएर जग्गा आफन्तको नाममा लिएको र आफन्तहरूबाट बिक्री हुँदै मसम्म आइपुगेको भन्ने सुनें । बुझ्दै जाँदा म जस्ता सयौंको जग्गा अख्तियारले रोक्का राखेको रहेछ ।

नेपाल सरकारको जग्गा सम्बन्धी अभिलेख राख्ने आधिकारिक निकाय मालपोतबाट सरकारले तोकेको राजस्व समेत तिरेर बकाइदा रजिस्ट्रेशन पास गरेर लिएको जग्गा हो मेरो । त्यो जग्गाका कागजपत्रहरू नक्कली हुन् वा होइनन् भन्ने थाहा पाउने निकाय मालपोत हो । नगर विकास समितिसँग मेरो कुनै सरोकार नै छैन ।

मलाई मालपोत कार्यालयले बकाइदा लालपुर्जा दिएको छ । अख्तियारले छानबिन गरेका कारण केही दिन जग्गा रोक्का भए पनि मेरो जग्गा सरकारले जफत नै गर्ला जस्तो लाग्दैन ।

टीकापुर नगर विकास समितिको जग्गामा मिलेमतो गरेर घोटाला गर्ने उपर छानबिन गरेर दोषी माथि कडा कारबाही गर्नुपर्छ । छानबिनको नाममा सर्वसाधारणलाई दुःख दिने काम गर्नुहुँदैन । मलाई पनि अख्तियारले बयानका लागि बोलाएको थियो । म गएर बयान पनि दिएँ । बयानका क्रममा मलाई १२/१३ वटा प्रश्न सोधिएको थियो । मैले थाहा पाएको र भएका कुरा अख्तियारको बयानमा पनि भनेको छु ।

१० वर्षदेखि जग्गा रोक्का हुँदा तनावमा छु । घर पनि बनाउन सकेको छैन । टहरो मात्रै बनाएको छु । अहिले बिक्री गर्यो भने त्यो जग्गाको मूल्य १६/१७ लाख पर्ला । मेरो जस्तै रोक्का भएका घडेरी १५० वटा छन् भन्ने सुनेको छु ।

सरकारले सुकुम्बासीहरूलाई निःशुल्क जग्गा दिइरहेको छ । हामीले त बकाइदा मालपोतबाट पास गरेर किनेको हो । यसमा हामीलाई कुनै दुःख हुनुहुँदैन भन्ने मेरो भनाइ छ ।

उदय चलाउने

मेरो पहाड घर अछाम हो । म १५ वर्षदेखि भारतको गुजरातमा बस्छु । खाना बनाउने, चौकीदारी गर्ने, गाडी धुने काम गर्छु । टीकापुर नगरपालिका वडा नं १ मा जग्गा किनेको ७ वर्ष भयो । मैले ब्लक नं १० मा रेखा आचार्यसँग ६ लाखमा १ कट्ठा घडेरी किनेको हुँ । त्यही जग्गामा करिब २०/२२ लाख खर्च गरेर घर बनाएको छु ।

अहिले साथीभाइले तेरो जग्गा अख्तियारले रोक्का राखिदिएको छ, जग्गा किनाउने दलाल र जग्गाधनी मिलेर ठगेछन् भनेपछि म तनावमा छु । म इन्डिया बस्ने मान्छे, टीकापुरको जग्गामा के कस्तो लफडा छ भन्ने मलाई थाहा भएन । इन्डियामा मिहिनेत गरेर कमाएको पैसाले जग्गा किनेको हुँ ।

मालपोतबाट पास गरेर लिएको हुँ । मालपोतले लालपुर्जा पनि दिएको छ । अख्तियारले रोक्का राखेपछि के हुन्छ, अब मैले के गर्नुपर्छ भन्ने पनि थाहा छैन । दशैंको बेला घर आउँछु र थप बुझ्न अख्तियारको अफिस जानुपर्ला भन्ने सोचेको छु ।

शिव यज्ञ मगर

मैले २०६६ सालमा ४ लाख रुपैयाँमा मानबहादुर खत्रीसँग टीकापुर नगरपालिका वडा नं १ मा रहेको १ कट्ठा जग्गा किनेको हुँ । त्यो जग्गा समितिबाट पहिले कसले खरिद गर्यो भन्ने पनि मलाई थाहा छैन ।

मलाई थाहा भएको कुरा मैले मानबहादुर खत्रीबाट खरिद गरेको हुँ । त्यही जग्गा २० लाखमा किन्ने ग्राहक आएपछि बैना समेत बुझिसकेको थिएँ । जग्गा पास नै गरि दिनुपर्यो भनेर मालपोतमा पुग्दा आफ्नो जग्गा रोक्का भएको थाहा पाएँ ।

के कारणले रोक्का भएको होला भनेर बुझ्दै जाँदा त्यो जग्गा सुरुमा समितिबाट खरिद गर्दा नै बदमासी भएको र छानबिनका लागि अख्तियारले ११ साउन २०६९ देखि रोक्का गरेको थाहा पाएँ । जग्गा रोक्का भएपछि यो कारणले जग्गा रोक्का भएको हो भन्ने जानकारी अख्तियार वा मालपोतले दिनुपर्ने हो तर हामीलाई कुनै जानकारी नै दिइएन ।

थाहा नभएकै कारण रोक्का भएको जग्गा झुक्याएर बिक्री गर्न खोजेको जस्तो देखियो । त्यस्तो हँुदा म आफैं लज्जित हुनुपर्ने अवस्था आयो ।

जग्गा रोक्का भएको १०/११ वर्ष बितिसक्यो । तर, अख्तियारले अझै छानबिन सकेको छैन । छानबिन नसकिएका कारण जग्गा अहिले पनि रोक्का नै छ । लामो समयदेखि जग्गा रोक्का हँुदा बैंकमा राखेर पैसा लिन र बिक्री गर्न पाएको छैन ।

अख्तियारले छिटोभन्दा छिटो छानबिन सकेर दोषीमाथि कारबाही गरेर जग्गा फुकुवा गर्ने वा के गर्ने हो टुंगो लगाइदिनुपर्छ । लामो समयदेखि जग्गा रोक्का हुँदा हामी धेरै समस्यामा छौं ।

किर्ते गरेर हामीलाई जग्गा बिक्री गर्नेहरूमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन । पैसा तिरेर मालपोतबाट रजिस्ट्रेशन पास गरेर जग्गा किन्ने हामी जस्ता सिधासादा जनता मारमा छौं । त्यसतर्फ अख्तियार, सरकार र जनप्रतिनिधिहरूको ध्यान जानुपर्छ ।

आकाश शाही

३० कात्तिक २०५७ मा मैले रेशम चौधरीसँग एक कट्ठा जग्गा ३ लाख १५ हजारमा किनेको हुँ । रेशमले ४ कट्ठा जग्गा लिएका रहेछन् । त्यसलाई कित्ताकाट गराएर एक–एक कट्ठाको प्लट बनाएर बेचेका हुन् । मैले किनेको केही समय पछिसम्म पनि जग्गा रोक्का थिएन । एकपटक त्यही जग्गा राखेर सहकारीबाट ऋण समेत लिएको थिएँ ।

पछि जग्गा नै बेच्नु पर्यो भनेर किन्न चाहेको व्यक्तिसँग बैना पनि लिएको थिएँ । १६ लाखमा कुरा मिलेपछि पास गर्न भनेर मालपोत जाँदा जग्गा रोक्का रहेछ । बेच्न खोजेको जग्गा रोक्का हँुदा हामीलाई समस्या भयो । लिएको बैनामा पनि पैसा थपेर फिर्ता दिनु पर्यो ।

पछि बुझ्दै जाँदा टीकापुर विकास समितिबाट पहिलो पल्ट जग्गा लिने व्यक्ति र त्यतिबेला समितिमा रहेका केही मान्छेले बदमासी गरेर जग्गा किनबेच गरेको आशंकामा अख्तियारले छानबिन गर्न रोक्का गरेको भन्ने थाहा भयो ।

जग्गा रोक्का भएपछि हामीले रेशम चौधरीलाई भेटेर समस्या राख्न खोज्यौं तर सम्पर्क हुन सकेन । पछि टीकापुर घटना भयो । त्यसपछि सम्पर्क र कुराकानी भएको छैन । सोधपुछका लागि बोलाएपछि अख्तियारको सम्पर्क कार्यालय टीकापुरमा जाँदा मेरो जस्तै जग्गा रोक्का भएका धेरैसँग भेट भयो ।

मेरो जग्गा रोक्का भएको १० वर्ष हुन लाग्यो । लामो समयदेखि जग्गा रोक्का हुँदा समस्या भएको छ । हामीले त पहिलेको जग्गा धनीलाई पैसा तिरेर मालपोतबाट पास गरेर लिएको हो । अख्तियारले जति सक्यो चाँडो छानबिन गरेर दोषीलाई कारबाही गरेर हाम्रो जग्गा फुकुवा गरिदिए हुनेथियो । ठूलाबडाहरू उम्कने हामी जस्ता मर्कामा पर्ने अवस्था हुनुभएन ।

पदम सापकोटा

मैले २०६८ सालमा टीकापुर नगरपालिका वडा नं १ मा नामसरा देवी शाहसँग १ कट्ठा घडेरी ७ लाख रुपैयाँमा किनेको हुँ । मेरो जग्गामा दुवैतर्फ बाटो छ । जग्गा किनेको केही समयपछि मैले घर पनि बनाएँ । त्यसपछि घरजग्गा राखेर नवजीवन सहकारीबाट ५ लाख रुपैयाँ ऋण पनि लिएको थिएँ ।

मेरो कृषि फर्म पनि छ । अलि ठूलो कारोबार गरौं भनेर मैले ग्लोबल आईएमई बैंकबाट ऋण लिन प्रक्रिया अगाडि बढाएँ । बैंकका कर्मचारीहरूले धितो मूल्यांकन गरेर ५० लाखसम्म ऋण स्वीकृत हुनसक्छ भनेपछि सापटी खोजेर करिब ५ लाख रुपैयाँ जुटाएर सहकारीको ऋण चुक्ता गरें ।

ऋण लिन बैंकको चिट्ठी लिएर म जग्गा रोक्का राख्न मालपोत कार्यालय जाँदा मालपोतका कर्मचारीले जग्गा पहिल्यै रोक्का छ भन्दा म छाँगाबाट खसे जस्तै भएँ । मेरो योजना चकनाचूर भयो ।

सहकारीको पैसा चुक्ता गर्न साथीभाइसँग लिएको ऋण सापटी तिर्न समेत मुस्किल भयो । रोजगारीका लागि किन विदेश जाने आफ्नै देशमा केही गरौं भन्ने चाहना पनि पूरा भएन ।

जग्गा रोक्का हुँदा म लगायत धेरै समस्यामा छौं । मैले जग्गा किन्नु भन्दा पहिले क–कसले बदमासी गरे भन्ने मलाई थाहा हुने कुरा भएन । मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गरेर किनेको हो ।

जग्गा किन्दा मालपोतलाई विश्वास नगरेर कसलाई गर्ने ? अब अख्तियारले छिटोभन्दा छिटो छानबिन सकेर रोक्का गरेको जग्गा फुकुवा गरिदिनुपर्छ ।

छानबिन गर्दै जाँदा मेरो जग्गा जफत हुने अवस्था आयो भने पनि मैले अहिलेको चलनचल्तीको मूल्य पाउनुपर्छ । यदि चलनचल्तीको मूल्य नपाउने हो भने हामी पीडितहरू एकजुट भएर आन्दोलनमा जानुको विकल्प छैन ।

(टीकापुर विकास समितिबाट नक्कली कागजात पेश गरेर वा मिलेमतोमा निर्णय गरेर जग्गा लिई अरूलाई बिक्री वितरण गर्नेहरूबाट पीडित सर्वसाधारणसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)

लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?