
२२ असोज, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा पुन: सुरु गरेको छ । जेनजी युवा आन्दोलनका क्रममा भएको आगजनीपछि सबै प्रकारका सेवा ठप्प रहेकोमा बुधबारदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा समेत सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार परीक्षणका रूपमा थालिएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बुधबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको बताए ।
दशैंलगत्तै सेवा सञ्चालन गर्ने पूर्वतयारी अनुसार नै काम अघि बढाइएको जोशीले बताए । उनकाअनुसार अब राहदानी सम्बन्धी सेवा समेत सुरू गर्न तयारी भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी सेवा भने जेनजी आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे ।
आन्दोलनका क्रममा आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।
प्रशासनले अत्यावश्यक सेवा सञ्चालनसँगै पुन: निर्माणको काम समेत अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4