काठमाडौं । कतिपय मानिसको बानी नै चोरी गर्ने हुन्छ । केही चिज देख्यो कि चोरौँ, चोरौँ भन्ने लाग्छ ।
हालै एक दम्पतीले यस्तै हर्कत गरेक छन् । आफू बसेको होटलको कोठाका सबै सामान चोरेर ती पति पत्नीले रित्याइदिएका छन् ।
यो घटना बेलायतको वेल्समा भएको हो । स्थानीय डल्फिन नामक होटलका सञ्चालकका अनुसार उक्त ग्राहक दम्पतीले उनीहरु बसेको कोठाबाट २ सय पाउण्ड मूल्यका सामान चोरी गरेका छन् ।
उनीहरुले चोरी गरेका सामानको सूचि लामै छ । ती पतिपत्नीले चियाको कित्लीदेखि बिजुलीको पंखा र टावेलदेखि बत्तीसमेत चोरेका छन् । त्यस्तै चिया तथा कफी राखिएका बट्टा पनि उनीहरुले बाँकी राखेनन् ।
होटलमा चेक इन गर्ने बेलामा उनीहरु निकै मिलनसार देखिएको र त्यस्तो काम गर्ने भन्ने नसोचेको होटल मालिक बताउँछन् । उनीहरुले आफूसँग निकै कम सामान ल्याएका थिए, सायद चोरी गरेर सामान लैजानका लागि त्यसो गरेका रहेछन् ।
होटलको कोठामा धेरैजसो सामान चोरी भएसँगै होटल व्यवस्थापनले केही दिनका लागि उक्त कोठा बन्द गरेर राख्नु परेको छ । त्यहाँबाट चोरी भएका सामानहरु नयाँ किनेर नल्याएसम्म अरु पाहुनालाई सो कोठा भाडामा दिन नसकिएको होटलका मालिक बताउँछन् ।
बेलायती पत्रिका मिररका अनुसार होटल मालिकले ती दम्पतीलाई पक्राउ गर्नका लागि प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।
सिसिटीभी फुटेजमा उनीहरुले सामान भरिएका ठूला ठूला झोला लिएर होटलबाट पटक पटक बाहिरिएको र कारबाट ओसारेको देखिएको छ । प्रहरीले उनीहरु होटलमा चेकइन गर्नका लागि प्रयोग गरिएको बैंक कार्डका आधारमा ४३ वर्षका मार्टिन रेन्डेल नामक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
– एजेन्सी
प्रतिक्रिया 4