+
+

सुनकाण्डका आरोपीको अन्तर्राष्ट्रिय कनेक्सन खोज्न इन्टरपोलमा पर्पल नोटिस

पक्राउ परेका ५ जनासँग नेपाली नागरिकता

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ १२ गते २२:०८

१२ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समातिएका ६ जनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट पर्पल नोटिस जारी हुने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पठाएको पत्रका आधारमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले फ्रान्सको लियोनस्थित हेडक्वार्टरलाई पर्पल नोटिस जारी गर्न सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र लीसमेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङविरुद्ध पर्पल नोटिस जारी गर्न सिफारिस गरिएको छ । ‘सिफारिस अनुसार नोटिस जारी हुने क्रममा छ’, स्रोतले अनलाइनखबरसँग भन्यो ।

इन्टरपोलमा पर्पल नोटिस जारी भएपछि कुनै अपराध अनुसन्धानमा इन्टरपोलका सदस्य राष्ट्रहरुबीच सूचनाको आदनप्रदान हुन्छ । ‘यो नोटिस मोडस अपराण्डी (अपराध शैली), प्रयोग भएका सामग्री वा उपकरण र कन्साइनमेन्ट लुकाउने तरिकाबारे जानकारी आदानप्रदान गर्नका लागि जारी गरिन्छ’, इन्टरपोलको वेबसाइटमा भनिएको छ ।

सुन प्रकरणको अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, यही प्रकरणका आरोपी अन्य विभिन्न मुलुकमा पनि पक्राउ परेको देखिएपछि इन्टरपोलको सहयोग लिन लागिएको हो । हाल सीआईबीको हिरासतमा रहेकामध्ये एलेक्स भनिने चिनियाँ नागरिक याओ पुचेङ १९ सेप्टेम्बर २०१९ मा भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको भेटिएको छ ।

चिनियाँ नागरिक यायो पुचेङ ।

हङकङबाट एयर इण्डियाको विमानमार्फत भारत गएका उनको साथमा ५ किलो सुन बरामद भएको थियो । त्यसबेला भारतको बिजनेस स्ट्यान्डर्डले लेखेको समाचार अनुसार, उनको ब्यागेजमा एक किलो सुनको चार वटा ढिक्का र आधा किलोको दुई वटा ढिक्का बरामद भएको थियो ।

अली भनिने ली वेन सुङ र जेक्विङ लिन पनि भारतमा पक्राउ परेर छुटेका व्यक्ति भएको विवरण प्रहरीले भारतीय सुरक्षा स्रोतबाट प्राप्त गरेको छ । ‘यो गिरोहका व्यक्तिहरुको सम्बन्ध भारत र हङकङमा मात्र सीमित छैन’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ल्याटिन अमेरिकी मुलुकहरु पनि नियमित आउजाउ गरेको देखिएको छ, त्यसैले इन्टरपोलमार्फत पर्पल नोटिस जारी गरेर अनुसन्धानलाई बृहत बनाउँदैछौं ।’

हाल सीआईबीको हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकसहितको गिरोहले ११ मे २०२२ मा दिल्लीमा सुनको धाराभित्र राखेर ल्याएको साढे ६१ किलो सुन पनि भारतको राजश्व अनुसन्धान निर्देशनालय (डीआरआई) ले बरामद गरेको थियो । त्यसबेला दिल्ली एयर कार्गो कम्प्लेक्समा विशेष सूचनाका आधारमा जाँच गर्दा डीआरआईले तस्कर समूहले सुनको धारा बनाएर चीनको ग्वान्झाओबाट पठाएको भेटिएको थियो ।

सुन प्रकरणको सुपरीवेक्षणका लागि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा विशेष ब्यूरोका प्रमुख डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य रहेको समिति बनाएर छानबिनको दायरालाई फराकिलो बनाइएको छ ।

यो अपरेसनअघि पनि डीआरआईले उही शैलीबाट तस्करी गरिएको ११ किलो सुन लखनउ र मुम्बईबाट बरामद गरेको थियो । त्यसअघि पनि झण्डै १७ किलो सुन बरामद भएको डीआरआईले त्यसबेला जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भारतमा कार्गोबाट आएको सुन पटकपटक बरामद हुन थालेपछि चिनियाँ तस्करहरुले नेपाली बाटो प्रयोग गरेको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘हालसम्मको अनुसन्धानले सुन तस्करीमा मूलतः चिनियाँ नागरिकहरुकै संलग्नता देखिन्छ’, सीआईबी स्रोत भन्छ, ‘नेपाली नागरिक यसमा सहयोगी भूमिकामा मात्र देखिन्छन् ।’

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पार गरेर बाहिरिएको १५५ किलो ब्रेक प्याड ३ साउनमा बरामद गरेको थियो । त्यसबेला विभागले एक क्विन्टल सुन बरामद भएको बताए पनि पछि तौलिँदा ६० किलो मात्र सुन भेटिएको थियो ।

यो प्रकरणको अनुसन्धान गरेको १९ दिनपछि विभागले यस मामिलाको सम्पूर्ण फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हस्तान्तरण गरेको थियो । ब्यूरोले गरेको अनुसन्धानले यसमा अन्तरदेशीय कनेक्सन देखाइरहेको छ । त्यसैले हालै ब्यूरोले प्रहरीको प्रति–आतंकवाद र अन्तरदेशीय अपराध मामिला हेर्ने विशिष्टकृत निकाय विशेष ब्यूरोलाई पनि अनुसन्धानमा जोडेको छ ।

सुन प्रकरणको सुपरीवेक्षणका लागि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा विशेष ब्यूरोका प्रमुख डीआईजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य रहेको समिति बनाएर छानबिनको दायरालाई फराकिलो बनाइएको छ ।

सीआईबीले अनुसन्धान सकेर अभियोजन प्रक्रियामा गएपछि छानबिनका लागि आयोग बन्ने हुँदा त्रुटिरहित ढंगले अनुसन्धान होस् भनेर पनि उच्च प्रहरी अधिकृतहरु रहने गरी प्रहरी प्रधान कार्यालयले अर्को समिति बनाएको स्रोतको भनाइ छ ।

प्रमुख प्रतिपक्षी एमालेको निरन्तरको संसद् अवरोधका बीच सरकारले अभियोजनपछि ५ असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति गरेको थियो । यसअघि ब्यूरोले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर छानबिन गरिरहेको थियो ।

नागरिकताबारे छानबिनमा प्रशासनको असहयोग

सीआईबीका अनुसार सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ५ जना विदेशी नागरिकले नेपाली नागरिकता लिएको पाइएको छ । स्रोतका अनुसार तीन चिनियाँ नागरिक र एक बेल्जियन नागरिक दावा छिरिङले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट नागरिकता लिएका छन् ।

अली भनिने लि वेनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका छन् । सीआईबीका अनुसार, उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छिरिङ लामाको नाममा नेपाली नागरिकता लिएको पाइएको छ ।

चिनियाँ नागरिक डिङ सेग फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन् । त्यही आधारमा उनले २३ डिसेम्बर २०२१ मा राहदानी लिएका छन् । काठमाडौंबाट नागरिकता लिएका ली वेनले पनि त्यही नागरिकताको आधारमा राहदानी बनाएका छन् ।

ली नेङ्काईले काभ्रेबाट सोनाम लामाको नाममा नागरिकता लिएका छन् । उनले २३ डिसेम्बर २०२१ मा राहदानी पनि बनाएका छन् । एलेक्स भनिने याओ पुचेङले पनि काभ्रेबाट नागरिकता बनाएका छन् ।

बेल्जियन नागरिक दावाले २० पुस २०७४ मा काभ्रेबाट नागरिकता लिएका छन् ।

स्रोतका अनुसार यो प्रकरणमा समातिएका विदेशी नागरिकसँग नेपाली नागरिकता भेटिएपछि छानबिनका लागि ब्यूरोले एउटा टोली काठमाडौं र काभ्रेमा खटाएको थियो । तर, छानबिनमा प्रशासनबाट ब्यूरोले सहयोग नपाएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालय काभ्रेमा जाँदा त्यसबेला कार्यालयमा खटिएका १०० जनाको विवरण दिइएको छ । ‘त्योमध्ये पनि करारमा रहेकाहरुले गरेको भनिएको छ, स्पष्ट विवरण कसैको दिइएको छैन’, स्रोत भन्छ, ‘त्यस्तोमा नागरिकताको अनुसन्धान जटिल बनेको छ ।’

यद्यपि, बयानका क्रममा प्रतिव्यक्ति एक लाख रुपैयाँ दिएर काभ्रेबाट नागरिकता लिएको दावाले खुलाएका छन् । काठमाडौंमा एक जनाको नागरिकता बनाउँदा चाहिँ ५ लाख रुपैयाँ दिइएको उनले बताएका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले प्रहरीले मागेजति सबै कागजात उपलब्ध गराइदिएको बताए । ‘कुनैको पासपोर्ट मात्र पठाएर विवरण मागिएको थियो, कुनैमा नागरिकता थियो । हामीसँग उपलब्ध भएसम्म सबै दिएका छौं’, उनले अनलाइनखबरसँग भने ।

गृह मन्त्रालयले पनि मंगलबार नागरिकता प्रकरणमा छानबिनका लागि उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति बनाएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?