+
+

मुल्तानमा पूरै ५० ओभर खेलेको त्यो खेल

आज नेपालको हरेक रन, हरेक विकेटमा मज्जा लिनुपर्छ : मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:३१

१२ भदौ, काठमाडौं । एसिया कपको उद्घाटन खेलमा बुधबार नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ३ः १५ बजे मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुल्तानमा खेलेको अनुभव वर्तमान नेपाली टोलीका सदस्यहरुसँग छैन ।

पूर्व क्रिकेटर एवं प्रशिक्षक राजु बस्न्यातका अनुसार सन् २००६ मा एसीसी ट्रफीको तयारीका क्रममा नेपालले पाकिस्तानको नेशनल क्रिकेट एकेडेमी (एनसीए) सँग मुल्तानमा तीन खेल खेलेको थियो ।

यो धेरै गर्मी हुने ठाउँ हो । मुल्तानको रंगशाला ब्याटिङ फ्रेण्डली छ र बाउन्ड्री पनि ठूलो छ ।

तर त्यही रंगशालामा ज्ञानेन्द्र मल्लले पुरै ५० ओभर ब्याटिङ गरेका थिए । हालै मात्र क्रिकेटबाट सन्यास लिएका मल्लका अनुसार दोस्रो अन्तर्राष्ट्रिय टूरमा ओपनिङमा आएर पुरै ५० ओभर खेलेपछि पाकिस्तानी खेलाडीहरुले समेत बधाई दिएका थिए ।

कस्तो थियो त्यो खेल, आजको खेलमा के अपेक्षा गर्न सकिन्छ ? पूर्व कप्तान मल्लकै शब्दमा :

सन् २००६, मेरो दोस्रो अन्तर्राष्ट्रिय टूर । एसीसी ट्रफीको तयारीका लागि पाकिस्तानको नेशनल क्रिकेट एकेडेमी (एनसीए) टिमसँग खेल्न गएका थियौं । रोय लुक डायस प्रशिक्षक हुनुहुन्थ्यो । पाकिस्तानले भर्खर यू–१९ विश्वकप जितेको थियो । त्यो टिमका सर्फराज, अर्नर अली, नसिम जम्सेदहरु, अनि सिनियर टिमबाट खेलिसकेका खेलाडीहरु राखेर एनसीएले टिम बनाएको थियो ।

अवस्था कस्तो भयो भने हामीले खुलेर रन बनाउन सकेनौं । एउटा इण्डमा विकेट गइरह्यो, अर्कोमा म टिकिरहेँ । हामी अल आउट भएनौं, मैले ५० ओभर नै खेलेँ । ७९ रन नटआउट हानेँ ।

पहिलो खेल ५० ओभरको भएन । अघिल्लो दिन पानी परेर पिच भिजेकाले २४ वा २८ ओभरको म्याच खेल्यौं । मलाई सम्झना भएसम्म उनीहरुले १८० आसपासको स्कोर बनाए, हामीले १२० आसपास मात्र बनाउन सक्यौं ।

दोस्रो खेलमा उनीहरुले पहिले ब्याटिङ गरे । उनीहरुले ३६०/७० रन बनाए । उनीहरुको कप्तान शायद सोयब थिए, उनले दोहोरो शतक बनाए ।

एकदमै गर्मी थियो । हामी फिल्डिङ गर्ने क्रममा आत्तियौं । सामान्यतः ड्रिङ्स १५ ओभरमा हुन्छ । तर बसन्त दाइले (रेग्मी) त ६/७ ओभरमै ड्रिङ्स हुने बेला भएन भनेर सोध्नुभएको थियो । धिरेन चन्दहरु मुख्य बलर हुनुहुन्थ्यो, तर २/३ ओभर बल फाल्न समेत गाह्रो । मलाई याद छ, पहिलो इनिङपछि एक जना अम्पायर त अम्पायरिङ गर्नै आउनुभएन । उहाँको सट्टा क्युरेटर आउनुभयो ।

पहिलो खेलमा परेश लोहनी र महबुब दाइ (आलम) ले ओपनिङ गर्नुभएको थियो । शरद दाइ (भेषावकर) तेस्रो र म चौथो नम्बरमा गएका थियौं । पहिलो खेलमा परेश दाइको खुट्टामा बलले लागेर घाइते भएपछि दोस्रो खेल खेल्नुभएन । खै के भएर हो, महबुब दाइले पनि ओपनिङ गर्नु भएन ।

त्यसपछि म र महेश क्षेत्री ओपनिङ गर्न गयौं । जाने बेलामा नै जंङ्गे गुरु (जंग थापा) ले ५० रन हान, म तलाई ग्लोब्स किनिदिन्छु भन्नुभयो । म हाँस्दै गएको थिएँ ।

अवस्था कस्तो भयो भने हामीले खुलेर रन बनाउन सकेनौं । एउटा इण्डमा विकेट गइरह्यो, अर्कोमा म टिकिरहेँ । हामी अल आउट भएनौं, मैले ५० ओभर नै खेलेँ । ७९ रन नटआउट हानेँ ।

मलाई याद छ, खेलको अन्तिम अन्तिमतिर पुग्दा रोय सरले म्यासेज पठाउनुभयो, व्याट् फूल ५० ओभर । किनभने अघिल्लो खेलमा पनि म ब्याटिङ गर्न जाँदा हामी जितबाट एकदमै टाढा थियौं । मैले २४/२५ रन बनाएँ । मेरो सोच के थियो भने जित्न गाह्रो भएपनि लक्ष्यको नजिक जाऊँ । त्यसक्रममा मैले केही सर्टहरु हानेर आउट भएको थिएँ, रोय सरले गाली गर्नुभयो । जित्ने अवस्था छैन भने पनि टिकेर खेल्नुपर्छ, अनुभव बटुल्न पर्छ । त्यसरी हानेर एकै ओभरमा खेल जित्थ्यौ र भन्नुभयो ।

दोस्रो खेलमा पनि हामी जितबाट टाढा थियौं । मैले अघिल्लो खेलमा जस्तो गल्ती नगरोस् भनेर रोय सरले व्याट् फूल ५० ओभर भन्नुभयो । मैले पनि विकेट नदिएर पूरा ५० ओभर खेलेँ । हाम्रो टिमका साथीहरुले मात्र होइन, पाकिस्तानी खेलाडीहरुले पनि बधाई दिए ।

भारत र पाकिस्तानसँग अफिसियल खेल खेल्नु ऐतिहासिक हो । रिजल्ट के–कस्तो भन्दा पनि यो क्षणलाई हामीले उत्सवको रुपमा मनाउनुपर्छ ।

खेल सकियो । एकदम थाकेकाले होटल पुग्नेवित्तिकै सुतेँ । खाना खाने बेलामा मुख धुने क्रममा ऐनामा अनुहार हेर्दा त फुलिएको रहेछ । त्यो बेला डिहाइड्रेसन भन्ने पनि थाहा थिएन । ब्याटिङकै क्रममा पनि त्यो गर्मीमा खेल्दा म कालो निलो भइसकेकाले बसन्त दाइ ब्याटिङ गर्न आउँदा तर्सिनुभएको थियो ।

तेस्रो म्याचमा हामीले पहिले ब्याटिङ गर्‍यौं । म ओपनिङमा गएको थिएँ । तर हामीले १०० रन मात्र कटायौं । मैले ३० रन आसपास बनाएको थिएँ जस्तो लाग्छ । यू–१९ बाट आएका शोयब अख्तर, अनवर अली र एकजना लेफ्टी बलर थिए । शोयबले त यू–१९ वल्र्डकपमा ८८/९० को स्पीडमा बल फालेका थिए । उनीहरु सबैले ८५ प्लसको गतिमा बल फाल्थे ।

२००८ तिर एनसीएको टिम नेपाल आएको थियो । मोहम्मद आमिर, इमाद वासिम, सर्फराज सबै आएका थिए । तीनमध्ये एउटा खेलमा हामीले उनीहरुलाई हराएका थियौं ।

२०१५ मा पनि हामीले पाकिस्तानसँग दुबईमा खेलेका थियौं । अहिलेको टिममा भएका केही खेलाडी त्यो बेला पनि थिए । तर त्यो मैत्रीपूर्ण खेल मात्र थियो ।

हरेक रन र विकेटको मज्जा लिऔं

आजको खेल अफिसियल हो । भारत र पाकिस्तानसँग अफिसियल खेल खेल्नु ऐतिहासिक हो । रिजल्ट के–कस्तो भन्दा पनि यो क्षणलाई हामीले उत्सवको रुपमा मनाउनुपर्छ जस्तो लाग्छ । किनभने यो लेभलमा सुरुवात भयो । खेलाडीलाई एक्पोजर मात्र होइन, नेपाल क्रिकेटबारे कतैकतै सुनेकाहरुले पनि अब देख्छन्, हेर्छन् । किनकी भारत र पाकिस्तानको क्रिकेटलाई फलो गर्ने लाखौं छन् । यसअर्थमा नेपालको खेल हेर्न म एकदमै उत्साहित छु ।

आजकै खेलको कुरा गर्दा पाकिस्तानको फास्ट बलिङको अट्याक कुनै पनि टिमका लागि चासोको विषय हो । उनीहरुको तीन तीन जना त्यो क्वालिटी र पेशको बलरलाई कसरी ट्याकल गर्ने भन्ने हरेक टिमलाई टाउको दुखाइ बन्छ भने हाम्रो लागि त नौलो हो नै । यसको अर्थ खेल्नै नसकिने भन्ने चाहिँ होइन ।

सम्भवतः अभ्यास खेलहरुबाट हामीले आफूलाई तयार गरेका छौं जस्तो लाग्छ । हालै विश्वकप छनोटका क्रममा वेष्टइण्डिज र जिम्बाब्वेसँग भएको खेलले पनि ब्याटरहरुमा आत्मविश्वास बढाएको छ ।

पाकिस्तानको ब्याटिङ पनि नराम्रो छैन । त्यसरी हेर्दा फास्ट बलरहरुलाई कसरी ट्याकल गर्छौं ? सुरुवाती बलिङदेखि नै उनीहरुलाई कत्तिको दबावमा राख्छौं भन्नेले हामीले आज पाकिस्तानसँग कुन लेभलको प्रतिस्पर्धा गर्छौं भन्ने निर्धारण गर्छ ।

खेलाडीहरु मैदान उत्रिएपछि जितकै लागि खेल्ने हो । क्रिकेटमा कतिबेला के हुन्छ कसलाई के थाहा ! हामी पनि कोसँग हारिरहेका हुन्छौं, ठूलो ठूलो टिमहरुले पनि अनपेक्षित हार व्यहोरेका छन् । त्यसमाथि आजको खेलमा हामीलाई भन्दा उनीहरुलाई दबाब पनि होला । सुरुवातमै दबाबमा राख्न सक्यौं भने पुस गर्न सकिन्छ पनि होला । तर जित्ने भन्दैमा सबै भइहाल्छ भन्ने हुँदैन ।

त्यसैले हाम्रा लागि हरेक रन, हरेक विकेटको अर्थ रहन्छ । त्यसकै मज्जा लिनुपर्छ ।

टस जितेमा

टिमले अनुभव, एक्पोजर सबै हिसाबले सोचेको छ भने टस जितेको अवस्थामा पहिला बलिङ रोज्ला ।

कहिलेकाहीँ २०० आसपासमा बसेर पाकिस्तानलाई चिप्ल्याउन सकिन्छ जस्तो पनि लाग्छ । किनकी थुप्रै पटक एकाध ब्याटर नचलेको बेला पाकिस्तानको ब्याटिङ कोल्याप्स भएको देखिन्छ । हामीले त्यसरी पनि सोच्न सक्छौं ।

(पूर्व कप्तान मल्लसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?