+
+

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ १४ गते ७:५६

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् ।

महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका प्रतिनिधिसभा सदस्य हुन् । जसपासँग चुनावी गठबन्धन हुँदा रौतहट क्षेत्र नं. २ जसपाको भागमा पर्यो भने अन्य तीनवटा क्षेत्र एमालेको भागमा ।

त्यही बेला प्रभु साहले एमालेबाट विद्रोह गरे । एमालेबाट टिकट खोसिएको भन्दै किरणले पनि प्रभुसँगै पार्टीबाट विद्रोह गरे । प्रभुको स्वतन्त्र प्यानलबाटै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

प्रभु साहले क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गराएका थिए । पछि पाँचदलीय गठबन्धनले प्रभु साहलाई नै सघाउने निर्णय गर्यो । तर किरण चुनाव लडेको क्षेत्रमा सत्ता गठबन्धन घटक नेपाली कांग्रेसबाट फिरदोस आलम उम्मेदवार बने ।

प्रभु साहले गठबन्धनको सहयोग लिएको तर आफूलाई नसघाएर कांग्रेस उम्मेदवार फिरदोसलाई जिताउन षड्यन्त्र गरेको भन्दै किरण बिच्किए । ‘हामीबीच स्वतन्त्र उम्मेदवारलाई चुनावमा एकअर्कालाई समन्वय गरी सघाउने, जित्ने र जिताउने सहमति भएको थियो । तर चुनावको ४ दिनअघि उहाँले कांग्रेस उम्मेदवार फिरदोसदाई जिताउने प्रतिबद्धता र मलाई हराउने षड्यन्त्र गर्नुभयो । त्यसपछि म आफ्नो ढंगले अघि बढेँ,’ किरण भन्छन् ।

चुनावको दुईदिन अघि उनलाई जसपाका उम्मेदवार शैलेन्द्र साहले समर्थन गर्ने उदघोष गरेका थिए । फलस्वरुप उनी ३२ हजार आठ सय ४२ मत प्राप्त गरी स्वतन्त्रबाटै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलम २८ हजार २४८ मत पाएर पराजित भए ।

फिरदोस आलम इँट्टा भट्टामा मान्छे पोलेको अभियोगमा जेल सजाय भोगिरहेका आफताव आलमका छोरा हुन् । २७ चैत २०६४ मा राजपुरमा भएको बम बिस्फोट तथा जिउँदै मान्छेलाई इँट्टा भट्टामा पोलेको अभियोगमा अफताव आलम २६ असोज २०७६ मा पक्राउ परेका थिए । २९ कात्तिक २०७६ मा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट अफताव कांग्रेसबाटै १८ हजार ८३३ मत सहित विजयी हुँदा किरण संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार थिए । किरण १६ हजार ८६५ मत पाएर दोस्रो भएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट जिते पनि १९ पुस २०७९ मा किरण एमालेमा फर्किए । उनलाई एमालेले गठबन्धनसहितको सरकारमा मन्त्री बनाउने आश्वासन दिँदै पार्टीमा भित्राएको थियो । पाँचदलीय गठबन्धन पुरानै अवस्थामा फर्किँदा सरकारबाट एमालेको बहिर्गमनले किरण मन्त्री बन्न पाएनन् ।

‘अन्तिम अवस्थामा जसपाको भागमा मेरो क्षेत्र पारेपछि मैले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थिएँ । पछि पार्टी अध्यक्षजीले मतगणनाको बेला मलाई दुईपटक फोन गरेर हालखबर सोध्नु भयो । जसपाको सहयोग हामीले नै गराएको भन्नुभयो । अगि्रम बधाई दिनुभयो,’ किरण भन्छन्, ‘पछि एकलै स्वतन्त्र सांसद भएर केही गर्न सकिँदैन भन्ने लागेपछि र अध्यक्षजीले सम्मान हुन्छ भनेपछि फर्किएँ ।’

अन्ततः एमालेले उनले संसदीय समितिको सभापति बनाएको छ । किरण यो पदलाई स्वाभाविक मान्छन् । ‘यसलाई उपहार भन्नुस् वा जे भन्नुस् । उचित सम्मान हुन्छ भनेेर पार्टीले भनेको थियो । एमाले सत्तामा गएपछि मन्त्री पनि मलाई बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

कांग्रेस, माओवादी, नयाँशक्ति, जसपा हुँदै एमालेमा

किरण जनयुद्धकालमा माओवादी समर्थक थिए । त्यसअघि उनी कांग्रेस समर्थक थिए । जनयुद्धमा माओवादीको समर्थक रहेको खुलेपछि प्रहरी प्रशासनको हैरानीले ६ महिना भूमिगत जीवन विताएको उनी बताउँछन् । त्यसपछि व्यापार व्यवसायमा लागे ।

२०६४ पछि उनी माओवादीको पूर्णकालीन कार्यकर्ता बने । २०७० को दोस्रो संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट रौतहट क्षेत्र नं. २ मा चुनाव लडे । तर त्यस बेला विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट मो.मुस्ताक आलम विजयी भए । कांग्रेसका अफताव आलम निकटतम प्रतिद्वन्द्वी भए भने किरण तेस्रोमा स्थानमा रहे ।

२०७२ मा संविधान घोषणा पश्चात डा.बाबुराम भट्टराई एकीकृत नेकपा माओवादीबाट अलग्गिँदा किरण उत्तै लागे । डा.भट्टराईले नयाँशक्ति गठन गर्दा किरण रौतहट जिल्ला अध्यक्ष बने । २०७४ को स्थानीय चुनावमा राजपुर नगरपालिकामा किरणले आफ्नी श्रीमती निर्मला कोइरालालाई उम्मेदवार बनाएका थिए । तर निर्मला पराजित भइन् ।

२०७४ कै प्रतिनिधिसभाको चुनावको मनोनयन दर्ताको एक दिन अघि उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गरे । फोरमबाटै उनी रौतहट क्षेत्र नं. २ मा चुनाव लडे । त्यसबेला अफताव आलमले बाजी मारे । किरण दोस्रो भए ।

पछि फोरम जसपा बन्दा उनी केन्द्रीय परिषद सदस्य थिए । तर जसपामा भविष्य देखेनन् । २०७७ मा उनी एमाले प्रवेश गरे र एमालेको प्रदेश सदस्य बने ।

२०७९ को स्थानीय तह चुनावमा उनकी श्रीमती निर्मला राजपुर नगरपालिकामा एमालेबाटै मेयर पदको उम्मेदवार बनिन् । यद्यपि जित निकाल्न सकिनन् ।

मंसिर ४ को चुनावको मनोनयन दर्ता गर्ने बेला प्रभु साहसँगै किरणले पनि एमालेबाट विद्रोह गरे । चापाकल चिह्नबाट स्वतन्त्र चुनाव लडेर जिते ।

किरणको घर राजपुर नगरपालिका ५ मा छ । उनका बुबा हजारी साह कांग्रेसका लोकपि्रय नेता थिए । वन रक्षकमा जागिरे किरणले अन्तरजातीय प्रेम विवाह गरेका छन् । पछि वन रक्षकको जागिर छाडेर उनी राजनीतिमा होमिए । उनका दुई छोरी र एक छोरा छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक बनाउन आफू एमालेमा लागेको उनी बताउँछन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?