 
																			काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा पुर्याएको योगदानको अवमूल्यन भएको भन्दै ‘प्रेमगीत’ निर्माताले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह-२०८० आयोजना भएको एक दिनपछि ‘प्रेमगीत ३’ का निर्माता र कलाकार बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेट्न मन्त्रालय पुगेका थिए ।
भेटमा राज्यको तर्फबाट ‘प्रेमगीत ३’ लाई सम्बोधन नभएको भन्दै निर्माताले असन्तुष्टि व्यक्त गरेका थिए । भेटबारे निर्माता चक्रबहादुर चन्दले अनलाइनखबरसँग भने, ‘राष्ट्रिय अवार्डजस्तो कार्यक्रममा हाम्रो फिल्मलाई सम्बोधन गरेको भए उत्साह हुन्थ्यो । किनभने प्रेमगीत ३ ले नै बलिउडदेखि अन्तर्राष्ट्रिय बजारसम्म हलमै नियमित फिल्म चल्ने वातावरण सिर्जना गरेको हो ।’
राज्यले गर्नुपर्ने काम आफूहरुले विदेशमा गरेर देखाएको भन्दै निर्माताले सरकारी सहयोग मिलेको भए आफूहरुलाई प्रोत्साहन मिल्ने थियो भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्री शर्माले आफूलाई यसबारे बोर्डले कुनै जानकारी नदिएको र पुरस्कार कार्यक्रमअघि भनेको भए सोच्न सकिने थियो भनेर जवाफ दिएको निर्माता चन्दले जनाए ।
भेटमा निर्माता सन्तोष सेन, अभिनेताद्वय प्रदीप खड्का र प्रेम पुरी पनि उपस्थित थिए । मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति भवनमा २०८० सालको राष्ट्रिय चलचित्र पुरस्कार र सम्मान समारोह आयोजना गरेको थियो । सम्मान प्राप्त गर्ने व्यक्तिको मापदण्ड उल्लेख नभएको र मुख्य विधा बिनै अवार्ड घोषणा भएको भन्दै कार्यक्रमको आलोचना भइरहेको छ । तर अहिलेसम्म बोर्डले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4