+
+
फिचर प्रविधि :

यस्तो छ सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के-के पत्ता लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १४:१५

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान (इसरो)ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ ।

इसरोले ट्वीट गर्दै भनेको छ, ‘आदित्य एल १ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरीक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरीक्षयानलाई सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज विन्दु१ (एल १) को चारैतर्फ एक चम्किलो कक्षमा पठाइनेछ, जुन पृथ्वीभन्दा करीब १५ लाख किलोमिटर टाढा छ ।

अन्तरीक्षयानले सातवटा पे लोड लिएर जानेछ जसले फोटोस्फेयर, क्रोमोस्फेयर तथा सूर्यको सबैभन्दा बाहिरी पत्रको अध्ययन गर्नेछ ।

सूर्यको अध्ययनका लागि अहिलेसम्म केवल अमेरिकी अन्तरीक्ष एजेन्सी नासा, युरोपेली स्पेस एजेन्सी तथा जर्मन एरोस्पेस सेन्टरले मात्रै अलग अलग तथा संयुक्त अन्तरीक्ष मिसन प्रक्षेपण गरेका छन् ।

नासाले तीनवटा मुख्य मिसन पठाएको छ जसमा सोहो (सोलार एण्ड हेलियोस्फेरिक अब्जर्भेटरी), पार्कर सोलर प्रोब तथा आइरिस (इन्टरफेस रिजन इमेजिंग स्पेक्ट्रोग्राफ) रहेका छन् ।

यसका अलावा नासाले अन्य विभिन्न सूर्य मिसन प्रक्षेपण गरेको छ, जसमा एस, विन्ड, हिनोड, सोलार डाइनामिक्स अब्जर्भेटरी तथा स्टेरियो लगायतका रहेका छन् । सोहो मिसनलाई नासा र युरोपेली स्पेस एजेन्सीले संयुक्त रुपमा लञ्च गरेको थियो ।

पार्कर सोलार प्रोबले चार वर्षदेखि सूर्यको सतहको सबैभन्दा नजिकबाट परिक्रमा गरिरहेको छ । आइरिस (इन्टरफेस रिजन इमेजिंग स्पेक्ट्रोग्राफ) ले सूर्यको सतहको उच्च रिजोलुसनयुक्त तस्वीर लिइरहेको छ ।

सूर्यको अध्ययनमा अहिलेसम्मको सबैभन्दा ठूलो कोशेढुंगा नासाकै पार्कर सोलार प्रोब मिसन सावित भएको छ जो सूर्यको सबैभन्दा नजिक पुग्ने एकमात्र अन्तरीक्षयान हो ।

अहिलेसम्मका प्रमुख सूर्य मिसन र त्यसका उपलब्धीहरु यस्ता छन्ः

पार्कर सोलार प्रोब, नासा ः नासाले सन् २०२१ को डिसेमबर १४ मा पार्कर सोलार प्रोब सूर्यको माथिल्लो वायुमण्डलीय पत्र अर्थात् कोरोना हुँदै अघि बढेको घोषणा गरेको थियो ।

उक्त यानले त्यहाँ चार्जयुक्त कणहरुका नमूना संकलन गरी सूर्यको चुम्बकीय क्षेत्रको बारेमा जानकारी जुटाएको थियो ।

कुनैपनि अन्तरीक्षयानले सूर्यलाई स्पर्श गरेको त्यो नै पहिलोपटक भएको नासाले दाबी गरेको छ । पार्कर सोलार प्रोबलाई यसप्रकारले तयार गरिएको छ कि त्यो सूर्यको सतहबाट ६५ लाख किलोमिटरको दायरामा जान सक्दछ र उर्जा प्रवाहका साथै सौर्यवायुको बारेमा पत्ता लगाउन सक्दछ ।

साथै यसको अर्को प्रमुख लक्ष्य चाहीँ सूर्यको नजिक पुगेर सोलार कोरोना पत्रको बारेमा अध्ययन गर्नुपनि हो । यसको उद्धेश्य हो हेलियोफिजिक्सको केन्द्रीय सवालको जवाफ खोज्नु । अर्थात् लगातार परिवर्तन भैरहेको अन्तरीक्ष परिवेशमा सौर्यमण्डललाई सूर्यले कसरी नियन्त्रित गर्दछ ?

नासाका अनुसार पार्कर सोलार प्रोबलाई सन् २०१८ मा अन्तरीक्षमा प्रक्षेपण गरिएको थियो र उसले ३ वर्षको यात्रापछि आफ्नो उद्धेश्य हासिल गर्नमा सफलता प्राप्त गरेको हो ।

नासाका अनुसार सो अन्तरीक्षयानले सन् २०२१ को अप्रिल २८ मा आठौँ फ्लाइबाई अर्थात् सूर्यको सबैभन्दा नजिकको उडान गर्दै सूर्यको कोरोना पत्र अर्थात् सौर्य आभामण्डलमा प्रवेश गरेको हो ।

उक्त मिसनले जुन तथ्यहरु संकलन गर्यो त्यसबाट खुलासा भएको थियो कि सौर्यबतासमा जुन विकर्णाकार स्विचब्याक्स हुन्छन् ती अपवाद नभई आम रुपमा सामान्य हुन् ।

दशकौँदेखि वैज्ञानिकहरुको मान्यता रहँदै आएको थियो कि सूर्यको ध्रुवीय इलाकामा मात्रै ती स्विचब्याक्स सिमित हुन्छन् । पार्कर मिसनको जुटाएको जानकारीले एक नयाँ सवाल खडा गर्यो कि आखिर सौर्यबतासमा ती विकर्णकार स्विचब्याक्स कहाँबाट आउँछन् ।

नासा मुख्यालयमा पार्कर कार्यक्रमका कार्यकारी जोसेफ स्मिथ भन्छन्, ‘हाम्रो अत्याधुनिक प्रविधिले पार्कर सोलार प्रोबलाई सूर्यको सबैभन्दा नजिक पूराउन र त्याहँबाट फिर्ता ल्याउन सफल हुनु निकै उत्साहजनक परिघटना हो । आगामी दिनमा सूर्यको अझै नजिक पुग्दा प्राप्त हुने नयाँ तथ्यहरुको पर्खाईमा रहेको उनी बताउँछन् ।

नयाँ डेटाले वैज्ञानिकहरुलाई सूर्यको त्यस हिस्साको अध्ययन गर्नमा मद्दत गर्नेछ जसले कोरोनालाई अत्यधिक तातो बनाउँछ र सौर्यबतासलाई सुपरसोनिक गतिमा फ्याँक्दछ ।यस अध्ययनले पृथ्वीमा दूरसंचार तथा भूउपग्रहमा असर पार्ने सम्भावना रहेको अन्तरीक्षको कठोर मौसमलाई बुझ्न तथा प्रक्षेपण गर्न सहयोग गर्नेछ ।

सोलार अर्बिटर, युरोपियन स्पेस एजेन्सी

युरोपेली स्पेस एजेन्सीले नासाको सहयोगमा सोलार अर्बिटर तयार गरेको हो । यसको उद्धेश्य पनि हेलियोफिजिक्सको गहन अध्ययन गर्नु हो । यो यान सन् २०२० को फेब्रुअरी ९ मा प्रक्षेपण गरिएको थियो र यसले सात वर्षसम्म काम गर्ने सम्भावना छ ।

सोलार अर्बिटरले सन् २०२२ को मार्च ३० मा सूर्यको सर्वाधिक नजिक (सूर्य र पृथ्वीको बीचको दूरीको एक तिहाई दूरी) को एक भिडियो बनाएको थियो जसलाई युरोपेली अन्तरीक्ष एजेन्सीले सार्वजनिक गरेको थियो ।

अन्तरीक्ष एजेन्सीका अनुसार उक्त भिडियो सूर्यको दक्षिणी ध्रुवबाट लिइएको हो । जो एक्स्ट्रिम अल्ट्राभायलेट इमेजर (इयूआई) बाट १७ नानोमिटर वेबलेन्थमा लिइएको हो ।

यो अन्तरीक्षयान सूर्य तथा पृथ्वीको दूरीको एक चौथाई दूरीमा आम रुपमा परिक्रमा गरिरहेको छ । युरोपेली अन्तरीक्ष एजेन्सीका अनुसार सूर्यको ध्रुवमा धेरै वैज्ञानिक रहस्यहरु लुकेका हुनसक्छन् । सूर्यबाट जुन चुम्बकीय क्षेत्र पैदा हुन्छ त्यसले केही समयका लागि निकै शक्तिशाली क्षेत्र पैदा गर्दछ जुुन सूर्यको ध्रुवमै शोषित हुन्छ ।

यसबाट एक बन्द चुम्बकीय क्षेत्र पैदा हुन्छ जसबाट उर्जाको कण बाहिर निस्कन सक्दैन । तर यसबाट निकै शक्तिशाली परावैजनी किरण निस्कन्छ, त्यसैलाई रेकर्ड गर्नका लागि ईयुआईलाई विशेष रुपमा डिजाइन गरिएको हो ।

सोल अर्बिटर सन् २०२५ मा शुक्र ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरी आफ्ना कक्षमा केही झुक्नेछ ताकि अन्तरीक्षयानको उपकरणले सूर्यको ध्रुवीय क्षेत्रको अध्ययन गर्न सकोस् ।

उक्त अन्तरीक्षयानलाई सूर्यको अत्यधिक तापक्रम सहन सक्नेगरी तयार पारिएको छ । यसबाट सूर्यको सबैभन्दा भित्री हिस्साको अध्ययन गरिनेछ र ती चिजहरुको बारेमा पनि अनुमान लगाउन सकिनेछ जसका कारण पृथ्वीमा जीवन सम्भव भएको छ ।

युरोपेली अन्तरीक्ष एजेन्सीका अनुसार यो नै सूर्यको ध्रुवीय इलाकाको निकै क्लोजअप तस्वीर लिने पहिलो स्याटेलाइट हो । सोलर अर्बिटरले सौर्यआँधी बन्ने प्रक्रियालाई नजिकबाट अध्ययन गर्नेछ ।

सूर्यसँग सम्बन्धित केही महत्वपूर्ण तथ्य

नासाको वेबसाइटमा दिइएको जानकारी अनुसार सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको हाइड्रोजन र हिलियमले युक्त एक चम्किलो तारा हो जसको उमेर करीब साढे ४ अर्ब वर्ष छ ।

पृथ्वीबाट सूर्यको दूरी करीब १५ करोड किलोमिटर छ र हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो तारा हो । सूर्यको आयतन पृथ्वीको भन्दा १३ लाख गुणा धेरै छ यसको गुरुत्वाकर्षणले पूरै सौर्यमण्डललाई आफ्नो कक्षमा राख्न सफल भएको छ ।

यसको चारैतर्फ ठूला ठूला पिण्डदेखि अन्तरीक्षयानका टुक्रासम्मलाई अन्तरीक्षको एउटा कक्षमा राखिराख्नमा सूर्यको गुरुत्वाकर्षणकै अहम् भूमिका रहन्छ । सूर्यमा अधिकतम तापक्रम उसको केन्द्रमा हुन्छ जहाँको तापमान १.५ करोड डिग्री सेल्सियस छ ।

सूर्यबाट निकै शक्तिशाली चार्जयुक्त कणहरु अन्तरीक्षमा प्रवाहित हुन्छन् जसले पूरै सौयमण्डलको अन्तरीक्षको प्रकृतिलाई प्रभावित गर्दछ । सूर्यबाट निस्कने प्रकाश १५ करोड किलोमिटर दूरी पार गरी पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेण्डको समय लाग्दछ ।

यद्यपि सूर्यको सतह पृथ्वीको जस्तो ठोस छैन र यो हाइड्रोजन र हिलियम ग्यासको एक गोला हो । त्यसैले फरक फरक ठाउँमा यसको गति फरक फरक छ ।

सूर्य अत्यधिक तातो तथा चार्जयुक्त कणको ग्यासबाट बनेको हुनछ जसलाई प्लाज्मा भनिन्छ । यो प्लाज्मा सूर्यको भूमध्यरेखामा यसको एक परिक्रमा पृथ्वीको २५ दिनमा पूरा हुन्छ भने ध्रुवमा यसको चक्र पूरा हुन ३६दिन लाग्दछ ।

सूर्यको माथिल्लो सतहलाई फोटोस्फेयर भनिन्छ भने तयसमाथि क्रोमोस्फेयर र कोरोना हुन्छन् । त्यहाँ नै परमाण फ्युजनबाट विशाल विस्फोट भैरहन्छ र त्यसबाट उर्जायुक्त कण पृथ्वीमा पुग्दछ ।

सूर्यको चारैतर्फ धूलोयुक्त विभिन्न घेराहरु रहेका छन् जसलाई सोलर डस्ट रिंग भनिन्छ । त्यसबाट के अनुमान गर्न सकिन्छ भने ४.६अर्ब वर्षअघि सौर्यमण्डल बन्ने समयमा सूर्यको चारैतर्फ ग्यासका डिस्कहरु रहेका थिए ।

सूर्यमा परमाणु फ्युजनको विस्फोटले ग्यासलाई बाहिरतर्फ फ्याँक्दछ । त्यहीँ शक्तिकै कारण सूर्य एक विन्दुमा समेटिएको हुँदैन । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?