+
+

जब ५० लाख मौरी ट्रकबाट खसे

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ११:३५

काठमाडौं । बुधबार बिहानै धेरैपटक प्रहरीले फोन गरेपछि मौरीपालक माइकल बार्बर सबेरै उठे । ५० लाख मौरी (माहुरी) हरु ट्रकबाट खसेपछि उद्धारका लागि सहयोग माग्दै प्रहरीले उनलाई फोन गरेको थियो ।

क्यानडामा यो घटना भएको हो । मौरीका घारहरु ट्रकमा राखेर अर्को ठाउँमा लैजाँदै गरेको बेला घार बाँधिएका पाताहरु खुकुलो भएपछि खात लगाएर राखिएका घारहरु चिप्लिएर ट्रकबाट भुइँमा खसे ।

घटनास्थलमा आफू पुग्दा त्यहाँ आक्रोसित, द्विविधाग्रस्त र घरबारवीहिन लाखौँ मौरीहरुको रोमाञ्चक बादलजस्तो देखिएको उनी बताउँछन् ।

त्यसपछि त्यहाँ रहेका गाडी चालकहरुलाई झ्याल बन्द गर्न भनियो भने पैदलयात्रीहरुलाई अलि टाढै बस्न भनियो ।

क्यानडाको ओन्टारियोस्थित बलिंग्टनमा भएको उक्त घटना बार्बरले आफ्नो ११ वर्षे मौरीपालनको करिअरमा देखेको पहिलो घटना हो । उनी भन्छन्– त्यो घटना यस्तो थियो कि फेरि कहिल्यै त्यस्तो अनुभव गर्नु नपरोस् ।

गुएल्फ नजिकै ट्राइ सिटी मौरी उद्धार संस्था सञ्चालन गरिरहेका बार्बरलाई त्यसदिन बिहानै ७ बजे प्रहरीले मौरीको उद्धार गर्न भन्दै फोन गरेको थियो । लगत्तै प्रहरीले सोसल मिडियामार्फत् सार्वजनिक सूचना जारी गर्दै आम मानिसहरुलाई त्यस मौरीग्रस्त क्षेत्रमा नजान भन्यो ।

मौरीका घारहरु ट्रकको पछाडिपट्टि लोड गरेर अर्को शीतकालीन ठाउँमा लैजाँदै गरेको बेला सो घटना भएको थियो ।

प्रहरीको फोन आउने बित्तिकै उनले आफ्ना अन्य मौरी उद्धारक साथीहरुलाई पनि फोन गरेर घटनास्थलमा बोलाए । करीब १ दर्जन उद्धारकर्ताहरुले ती लाखौँ मौरीलाई उद्धार गरी स्थिति साम्य पार्न सफल भए ।

बार्बरका अनुसार मौरी तथा घारहरु ४ सय मिटर परसम्म छरिएका थिए । नजिकैका कार तथा हुलाक पोस्टमा समेत मौरीहरु झुम्मिएका थिए ।

त्यस्तै उनको ट्रकको अगाडि पट्टि पनि हजारौँ मौरी आएर बसेका थिए । अनि अलिक वयस्क तथा रिसाएका मौरीहरु भने यत्रतत्र उडिरहेका थिए ।

उनीहरुको केही घण्टाको प्रयासपछि अधिकांश मौरीहरुले आफ्नो घार भेट्टाउन सफल भए । तथापि सयौँ मौरीहरु भने उक्त घटनामा परेर मर्न पुगे ।

साथै मौरीले केही उद्धारकर्तालाई पनि टोकेर घाइते बनाए । बार्बरका अनुसार सो ट्रकका चालकलाई त मौरीहरुले सय पटकभन्दा धेरै पटक टोकेका थिए । उनले मौरीको टोकाइबाट बँच्न लगाउनुपर्ने शूट नलगाएका कारण दर्जनौँ मौरीको आक्रमणमा परे । यद्यपि उनको तत्कालै उपचार गरिएका कारण गम्भीर बिरामी पर्नबाट जोगिए ।

हजारौँ मौरीहरु यत्रतत्र उडिरहेको हुँदा पूर्णरुपमा सुरक्षित शूट लगायतका उद्धारकर्ताहरु समेत डराउनु परेको थियो ।

मौरीको उद्धार गर्न तथा स्थानीय मानिसहरुलाई सुरक्षित बनाउने कार्यमा सहयोग गरेकोमा बार्बरले अन्य सहयोगी मौरी उद्धारकर्ताहरुलाई पनि धन्यवाद दिएका छन् ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?