+
+

व्यवस्थापनको लापरवाहीले सुधार गृहका बालकको मृत्यु : इन्सेक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:५६

१५ भदौ, काठमाडौं। भक्तपुरस्थित बाल सुधार गृहमा एकजनाको मृत्यु भएको घटनामा सुधारगृह सञ्चालन गर्ने संस्थाको लापरवाही देखिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को अध्ययनले देखाएको छ ।

इन्सेकले एक प्रतिवेदन सार्वजनिक गर्दै एकजनाको मृत्यु भएको र सुधारगृहभित्र रहेका बालबालिका बाहिर भागेको घटनामा सुधारगृह सञ्चालन गर्ने युसेप नामक संस्थाको लापरवाही देखिएको औल्याएको हो ।

इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो । सुधारगृह प्रशासनको बेवास्ताका कारण १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको टोलीको निष्कर्ष छ ।

प्रतिवेदनमा भनिएको छ, ‘होस्टल वार्डेनसँग औषधि मागेको, वार्डेनले निको नामको औषधि दिएर पठाएको , र ३ भदौंमा बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए ।’

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका बालकको सुधार गृहमा मृत्यु भयो ।

ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा नै उपयुक्त उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको अध्ययन टोलीको निष्कर्ष छ ।घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सुधार गृहमा रहेका बालकहरूले नाराबाजी गरेका थिए ।

प्रहरीसँगको झडपपछि सुधारगृहभित्र रहेका २ सय २१ जना बालबालिका पछाडिको ढोका फोडेर बाहिर निस्किएका थिए । कारागार व्यवस्थापन विभाग मातहत रहने गरी ‘न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम(युसेप) नामक संस्थाले बाल सुधार गृह सञ्चालन गरेको थियो ।

अध्ययनको निष्कर्षमा भनिएको छ, ‘बाल सुधार गृह व्यवस्थापनमा संलग्नहरूलाई अनुसन्धानको प्रक्रियामा ल्याउन, सुधार गृहभित्रको अन्तरिक व्यवस्थापनमा सुधार गर्न, घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न, सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका नराख्ने व्यवस्था गर्नु जरुरी देखिएको छ ।’

अध्ययनले १८ वर्षभन्दा बढी उमेर पुगेकाहरूलाई सुधार गृहमा बालबालिकासँगै नराख्ने  व्यवस्था गर्न सुझाव दिएको छ । अनि सुधार गृह सञ्चालनको जिम्मा सरकारले नै लिनुपर्ने औल्याएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘सुधार गृहलाई सुधार गृहकै रुपमा विकास गर्नु आवश्यक छ । सुधार गृहभित्र कारागारकै जस्तो भित्री सत्ताको अन्त्य गर्ने र बालमैत्री व्यवस्थापनमा जोड दिनु आवश्यक छ ।’

अध्ययन टोलीले सुधार गृहभित्र रहेका बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था नगरेको, मानसिक स्वास्थ्यमा हेरचाह नगरेको, खानपिन, खानेपानीको व्यवस्था नगरेको औल्याउदै त्यही कारणले बालबालिका आन्दोलित भएको निष्कर्ष निकालेको छ ।

त्यो दिनको झडपमा प्रहरीका ११ र सशस्त्र प्रहरीमा ८ जना गरी १९ जना घाईते भएका थिए । १० जना घाईते बालकमध्ये रबरको गोली लागेका एक जनाको अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, घटनापछि बाहिर निस्केका २ सय २१ जना बालकमध्ये अझै चार जना सम्पर्कमा छैनन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले स्थापना गरेको सञ्जाल मानव अधिकार सन्धी अनुगमन केन्द्रले घटनाको अध्ययन गरेको हो । उक्त केन्द्रको सचिवालय इन्सेकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?