+
+

पत्रकार देवदास श्रेष्ठ र दोलखाको पत्रकारिता

राजेन्द्र मानन्धर राजेन्द्र मानन्धर
२०८० भदौ १६ गते १६:२५
पत्रकार देवदास श्रेष्ठ

भदौ १६ गतेलाई दोलखामा पत्रकारहरूले फरक रूपले सम्झना गर्छन् । २०६३ को यो दिनको मध्यान्ह दोलखा चरिकोटको आकाश बादलले छोपिएको थियो । वादलको घेराबाट फुत्किएको मधुरो घाम चरिकोटमा परिरहेको थियो । बर्षाको तयारी जस्तो पानीका छिटा हल्कासँग झरिरहेका थिए ।

प्रकृतिमा कहिलेकाहीँ हुने घामपानीको त्यो संयोगलाई पत्रकारले सम्झनुको नमीठो कारण छ ।
युवा अवस्थामा जोसिएर पत्रकारिता गरिरहेको म घाम र पानीबाट ओत खोज्दै,दौडदै चरिकोट बसपार्कस्थित च्छोरोल्पा हस्पिटलमा पुग्दा एक शरीर शय्यामा ढलेको थियो । त्यसअर्थमा त्यो घाम र पानीको बर्षाको संयोग मेरा लागि अम्ल र विषको बर्षा झैं थियो । त्यो संयोग दोलखाको पत्रकारिताको खम्बा ढलेको क्षण थियो ।

पत्रकार देवदास श्रेष्ठ ह्दयघातले छटपटिरहनुभएको थियो । उहाँ दोलखाली पत्रकारका पहिलो पुस्ताको अभिभावक मानिनुहुन्छ । उहाँ राष्ट्रिय समाचार समितिको समाचारदाता हुनुहुन्थ्यो । दाजु पर्ने गोपालकृष्ण श्रेष्ठले काम गर्न छाडेपछि जिम्मा पाएको उक्त पदमा २०३६ सालदेखि निरन्तर सक्रिय भएकाले धेरैले चिन्ने र बुझ्ने नाम बनेको थियो देवदास श्रेष्ठ ।

उहाँलाई ह्रदयघात भएका बेला चरिकोटमा सिलिन्डरबाट अक्सिजन दिनुृ र छाती थिच्नु बाहेक अर्को उपचार थिएन । उहाँलाई अप्ठ्यारो बढ्दै गएपछि परिवारजन झन् अत्तालिनु स्वभाविक थियो । केही त बेहोस नै भएका थिए ।

राजेन्द्र मानन्धर

त्यो विपदको कोलाहलमा हेलिकप्टर बोलाउनेतर्फ कसैलाई होस नै आएन । एम्बुलेन्स पनि भनेको बेला पाइन्नथ्यो । करिब ४० किलोमिटर टाढा किर्नेस्थित खिम्ती जलविद्युत आयोजनामा एम्बुलेन्स थियो । त्यहाँ सम्पर्क गर्दा एम्बुलेन्स चरिकोट आउदै गरेको जानकारी भयो । चरिकोटामा अर्को कोही बिरामी झारेर उहाँलाई काठमाडौ लानलाग्दा ह्रदयघात भएको लगभग चार घण्टा बितिसकेको थियो ।

देवदास नेपाल पत्रकार महासंघ दोलखा र रामेछाप जिल्लाको संयुक्त सभापति हुनुहुन्थ्यो । त्यसपछि दोलखाको सभापतिसमेत भएका उहाँलाई जिल्ला सदरमुकाम चरिकोटबाट उपचारका लागि अन्यत्र लान मुस्किल पर्नुले तत्काल दोलखामा स्वास्थ र यातायातको नाजुक व्यवस्था झल्काउँछ ।

उहाँको छाती र देब्रे पिठ्युँतिर झनै सकस वढ्दै गइरहेकाले चिकित्सकले मुटुमा गहिरो आक्रमण भएको वताए । त्यही अवस्थामा हामी सबै मिलेर उहालाई परिवारको साथ काठमाडौ पठायौ । त्यसको करिब एकघण्टा नबित्दै एम्बुलेन्स उहाँको टुटेपानी बजारस्थित घरअघि नै फर्कियो । उहाँको पार्थिव शरीरलाई झारेर आँगनमा सुताइयो ।

चरिकोटबाट काठमाडौं आउँदा खरिढुङ्गा क्षेत्रको करिव २७ सय मिटर उचाइमा पुगेपछि उहाँको प्राण गएछ । अहिले सम्झिँदा ह्रदयघातको बिरामीलाई त्यो उचाईमा लैजानु मृत्युको मुखमा पुर्‍याउनुजत्तिकै थियो होला । उचाइमा अक्सिजन कम हुँदा झनै अप्ठ्यारो हुने नै भयो ।

यो घटनाले मेरो मन सधै गरूङ्गो भइरहन्छ । यदि बेलैमा हेलिकप्टर व्यवस्था गर्न सकेको भए उहाँ रहनुहुन्थ्यो कि भन्ने मनमा आइरहन्छ । दोलखाली पत्रकारहरूका गुरू, धेरैका शिक्षक, एकजना व्यक्तित्व ४६ बर्षको उमेरमै बिदा हुनुमा के कमजोरी गरियो भनेर मनले सोधिरहन्छ ।

जब म पत्रकार महासंघ दोलखाको अध्यक्ष भएँ । उहाँ नरहे पनि सम्झनामा केही गरिहाल्न मन लाग्यो । मलाई थाहा छ, देवदासका परिवारले उहाँलाई बचाउन जे पनि गर्न सक्नुहुन्थ्यो । तर, आपतमा आफन्तजनमा होस आउदैन रहेछ ।

त्यस उप्रान्त कुनै पनि पत्रकारलाई आपत आइलागे उपचारका लागि हेलिकप्टरबाट सुविधायुक्त अस्पताल पुर्‍याउन के गर्नुपर्ला भन्ने कुरा मनमा खेल्यो । आपतमा पत्रकारको उद्दार गर्ने छुट्टै समिति र अक्षयकोष खोल्नेबारे छलफल भयो ।

पूर्वअध्यक्ष चिरञ्जीवी मास्केलगायत कार्यसमितिसँग सल्लाह गरेँ । त्यसबेला कुनै पनि विषयलाई संस्थागत गर्न छलफल गरेपछि मात्रै निर्णय गरिन्थ्यो । सबैको राय लिएपछि छुट्टै समिति बनाउने गरी सचिव जीवन लामालाई पत्रकार कल्याणकारी कोष स्थापनाको कार्यविधि बनाउने जिम्मेवारी दिएँ ।

जीवनजीले निकै मिहिनेत गरेर बनाएको कार्यविधि कार्यसमितिले पास ग¥यो र कार्यान्वयनमा ल्याइयो । तत्कालै त्यसबेला समाजसेवामा क्रियाशील पत्रकार रवीन्द्र मिश्र, हाल राजनीतिमा सक्रिय हुनुहुन्छ र युवा समाजसेवी सरिता गुरूङलाई ल्याएर साधरणसभा पनि गरियो ।

उहाँहरूले पनि उक्त कोषमा सहयोग गर्नुभएको छ । अभियान तीव्र पारिएकाले मेरो कार्यकालमै कोषमा करिव ५ लाख रुपैयाँ जम्मा भयो ।

पछि, त्यही कोषबाट कोभिड–१९ बाट बिरामी भएका पत्रकार रवीन्द्र गौतमलाई हेलिकप्टरबाट बेलैमा काठमाडौ उपचार गर्न लान मद्दत गरेको सुनेको छु । तर काठमाडौस्थित एभरेस्ट हस्पिटलमा केहीदिन पछि उहाँको निधन भयो ।

अरू केही पत्रकारले पनि दुर्घटनामा परेका बेला सहयोग लिइरहनुभएको छ ।

त्यो कोष बढाउन पत्रकार वा परिवारको जन्मदिन, असल कार्य, तिथि वा विभिन्न सन्दर्भमा सहयोग भएका छन् । आफूबाट नै सहयोग हाल्ने परम्परा सुरू गरेँ । आफूले पाएको पुरस्कारहरू पनि त्यही कोषमा राख्दै गरेँ । त्यसपछि सबै पत्रकार र वाहिरबाट पनि सहयोग हुन थाल्यो ।

आफू अध्यक्ष रहेकै बेला श्रीमती सरूना श्रेष्ठ प्रोपराइटर रहेको मानन्धर कम्प्युटर ल्याण्डको नाममा १० तोला सुन चिठ्ठामा आएकोमध्ये १ तोला सुन महासंघलाई दिन लगाएँ । कान्तिपुर दैनिक पत्रिकाको ग्राहक बनेवापत गोला तान्दा सुन चिठ्ठा परेको थियो ।

सम्झनै पर्ने कुरा दोलखाको पत्रकार महासंघले पत्रकार कल्याणकारी कोष सुरू गरेपछि केन्द्रले पनि कोषको स्थापना ग¥यो । तत्कालीन नेतृत्वलाई मैले केही सल्लाह दिने मौका पाएको थिएँ । कोषको नियमित सभा गरेर नेतृत्व चयन गर्ने विधि अहिले टुटे जस्तो लाग्छ । अति उपयोगी त्यो कोषको वेवास्ता भैरहेको मलाई लागेको छ ।

देवदास श्रेष्ठ एक शिक्षक पनि हुनुहुन्थ्यो । त्यसबेला जिल्ला शिक्षा कार्यालयबाट अन्य काम गर्न स्वीकृत लिनुपर्थ्यो । त्यो लिएरै राससमा काम गर्नुहुन्थ्यो । उहाँलाई एक आदर्श मानेर हामी पत्रकारिता गर्थ्यौं ।

हार्डन्यूज लेखनमा उहाँ अब्बल हुनुहुन्थ्यो । त्यो सीपबाट मैले केही ज्ञान हासिल गरेको छु । जुनसुकै ठाउँमा रिपोर्टिङ गर्न जान पनि उहाँ तयार हुनुहुन्थ्यो । उहाँसँग हिँड्दा आडभरोसा लाग्थ्यो । केही सम्वेदनशील विषयहरू लेख्दा समाजलाई हानी हुनबाट जोगाउन छलफल पनि गरिन्थ्यो ।

पछि उहाँले अन्नपूर्ण पोस्ट दैनिकमा पनि काम गर्नुभयो । उहाँको मृत्युपछि परिवारलाई समवेदना स्वरूप अन्नपूर्ण पोस्ट दैनिकले ५० हजार रूपैयाँ दिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकले उहाँकी छोरी रश्मीलाई उही पदमा राखेको थियो । दोलखा महासंघमा रश्मीले उपाध्यक्षको जिम्मेवारी सहमतिमा पाउनुभएको थियो । अहिले उहाँ पत्रकारिता पेशामा हुनुहन्न ।

अन्नपूर्णबाट प्राप्त रकम परिवारले महासंघलाई नै दिएको थियो । त्यही रकम हालेर अक्षयकोष बनाउने सोच बन्यो । त्यो प्रस्तावपछि परिवारबाट थप रकम प्राप्त भयो । देवदासको प्रशंसा गरिरहने इन्जिनियर आनन्द प्रधान, रामकुमार खड्का लगायबाट पनि सहयोग आयो ।

पत्रकार महासंघको कोषबाटसमेत गरी १ लाख ५० हजार रूपैयाँको स्वर्गीय देवदसश श्रेष्ठ पत्रकारिता पुरस्कार कोष खडा गरियो । हालसम्म उक्त कोषबाट बर्षेनी पुरस्कार दिने व्यवस्था गरिदै आएको छ ।

भदौ १६ कै दिन पुरस्कार प्रदान गरिने छ । स्मृतिसभा गर्ने परम्परा कायमै छ । नाताले मेरो मामा समेत पर्ने स्वर्गीय देवदास श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?