
१८ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधवेशन अन्तर्गत ५ जना पदाधिकारी र २०० सदस्य पदमा उम्मेदवारी दिएकाहरुको नामावली सार्वजनिक भएको छ ।
निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावली अनुसार अध्यक्षमा दुई, उपाध्यक्षमा चार, सचिवमा दुई र उपसचिवमा ७ जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रुपन्देहीकै विश्वराज बराल, बाँकेका पुजन विक र रोल्पाकी शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा गुल्मीका सोमनाथ सापकोटा र दाङका लक्ष्मण आचार्यले उम्मेदवारी दिएका छन् ।
२ उपसचिवमा पुरुषतर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु, हीरा एसी र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा आरती पौडेल, लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी २०० सदस्य पदमा ३६४ जनाको उम्मेदवारी परेको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।
एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिहरु मतदाता रहेका छन् ।
अध्यक्षका उम्मेदवार राधाकृष्ण कंडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष हुँदा पनि गत निर्वाचनमा प्रदेशसभामा पार्टीलाई पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको बताएका छन् ।
केन्द्रीय सदस्य एवं पूर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशको नेतृत्व गर्न चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
प्रतिक्रिया 4