+
+

मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पक्राउ

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ १८ गते २०:१४

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् ।

प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।

२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए ।

यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई गोली हानी चौधरीको हत्या भएको थियो ।

उक्त विषयमा जाहेरी परेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।

प्रदेश सांसद यादवलाई अदालतले भोलि बिहान फेरि १० बजे हाजिर गराउन भनेको छ। ‘अदालतबाट आज केही आदेश भएन । भोलि फेरि हाजिर गराउन भनेको छ । हामी उहाँलाई हिरासतमै राखेका छौं’ सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?