+
+

सधैं बीपी सम्झिने कांग्रेसले यो वर्ष खोज्दैछ ‘विश्वेश्वरप्रसाद’ लाई

संस्थापक बीपीलाई सम्झिराख्ने कांग्रेसलाई योपल्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइराला सम्झने चाहना जागृत भएको छ । त्यसैबमोजिम बीपीको ११०औं जन्मजयन्तीलाई कांग्रेसले साहित्यकेन्द्रित भएर सम्झना गर्न लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते २०:१७

१९ भदौ, काठमाडौं । पार्टी संस्थापक बीपीलाई राजनीतिज्ञका रुपमा सम्झिराख्ने कांग्रेसमा योपल्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको खोजी गर्ने चाहना जागृत भएको छ । बीपीको ११०औं जन्मजयन्तीलाई कांग्रेसले साहित्य केन्द्रित भएर सम्झना गर्न लागेको हो ।

राजनीतिज्ञ बीपी कोइरालाले आफ्नो जीवनका महासंकटहरुमा पनि साहित्यलाई बिर्सेनन् । जेलदेखि प्रवाससम्म, भोकदेखि अभावसम्म उनीभित्र राजनीतिक विचारमात्रै होइन, आख्यानका अजस्र धाराहरु बगिरहन्थे ।

तिनै बीपीले स्थापना गरेको पार्टी कांग्रेस पटक पटक सत्तामा पुग्यो । उनका सहकर्मीदेखि चेलाभुलासम्मले राज्यका ठूला–साना अवसरहरु पाइराखे । कांग्रेसले नेता बीपीका तस्बिरमा बेलाबखत माला लाउँदै गरे पनि साहित्यकार ‘विश्वेश्वर प्रसाद कोइराला’ले जीवनभरि माया गरेको विधा साहित्यलाई सम्झेको देखिन्थेन ।

कांग्रेस सत्ताको स्वादमा रमाउँदा विश्वेश्वरप्रसाद सम्झिने जिम्मा नेपाली लेखक संघले मात्रै पाएजस्तो देखिन्थ्यो । कहिलेकाहिँ त लाग्थ्यो, नेता बीपी हुन् या आख्यानकार विश्वेश्वर– एक व्यक्ति, दुई व्यक्तित्वबारे कांग्रेसभन्दा अझै राम्रोसँग कम्युनिस्टहरु भन्न सक्छन् । तर होइन, योपल्ट परिदृश्य अलिक भिन्न छ ।

संस्थापक बीपीलाई सम्झिराख्ने कांग्रेसलाई योपल्ट साहित्यकार विश्वेश्वरप्रसाद कोइराला सम्झने चाहना जागृत भएको छ । त्यसैबमोजिम बीपीको ११०औं जन्मजयन्तीलाई कांग्रेसले साहित्यकेन्द्रित भएर सम्झना गर्न लागेको हो ।

केन्द्रीय समितिको पछिल्लो बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको वार्षिक तालिका कार्यान्वयन गर्ने क्रममा ‘बीपी साहित्यिक महोत्सव’ गर्न लागिएको छ । कांग्रेसले भदौ २४ देखि २६ सम्म साहित्यिक महोत्सव गरेर यो पर्व आयोजना गर्न लागेको हो ।

महोत्सवमा बीपीका रचना माथिमात्रै मन्थन हुनेछैन, नेपाली समाज र दक्षिण एसियामा छलफल भइरहेका विभिन्न वैचारिक, रचनात्मक विमर्शमाथि पनि स्रष्टा तथा चिन्तकहरु घोत्लिनेछन् ।

विगतमा बीपी सम्झनाका नाममा यसो एक दिने कर्मकाण्डी टाइपको कार्यक्रम गरेर झारा टार्ने प्रवृत्तिबीच कांग्रेसले अचानक नयाँ किसिमको अभियान ल्याएकामा साहित्यकार डा. नवराज लम्साल चकित छन् । कार्यक्रम घोषणा भएसँगै उनलाई बीपी साहित्य महोत्सवको तयारी समितिका सदस्य समेत राखियो ।

लम्सालले अनलाइनखबरसँग भने,‘साहित्यलाई नजिकबाट छाम्न खोजेको कांग्रेसले पहिलोपटक हो । मलाई त कसरी यिनीहरु बिउँझिए होलान् भन्ने लागेको छ ।’

पार्टीमा आवद्ध हुनेहरुमा पठन संस्कृति विस्तारै खस्किँदै गएको टिप्पणी हुन थालेको छ । साहित्यलाई जोडेर राजनीतिक दलहरुले गतिविधि नगर्दा पनि नयाँ पुस्तामा पठन संस्कृति घटेको विश्लेषण गरिन्छ । त्यसैले पनि बीपीको राजनीतिक पाटो भन्दा पनि साहित्यको पाटोलाई कांग्रेसले यसपटक बढी स्मरण गर्न खोजेको हो ।

महोत्सवका संयोजक सहमहामन्त्री बद्री पाण्डे नेपाली राजनीतिमा विचारको खडेरी पर्दै गएको हो कि भन्ने निराशा र मनोदशा देखिएकाले महोत्सव गर्नुपरेको बताउँछन् । विचारको राजनीतिलाई पुर्नताजगी गर्न र असल राजनीतितर्फ अभिमुखीकरण गराउन साहित्यिक महोत्सव आवश्यक रहेको पाण्डेको भनाइ छ ।

बीपी जन्मजयन्तीलाई कांग्रेसले यसपटक फरक तरिकाले मनाउनुमा लम्साल दुई दृष्टिकोण व्यक्त गर्दछन् । उनका विचारमा, यतिबेला मान्छेमा आशा र उत्साह जगाउन जरुरी छ । मेरो देश, मेरो संस्कृति, मेरो भाषा, मेरो सभ्यता सहितको उत्साह जगाउन जरुरी छ ।

आशा जगाउनु भनेको संवेदना जगाउने हो । संवेदना जगाउने कार्य साहित्यले नै गर्छ । साहित्यलाई जोडेर महोत्सव गर्दा निराशा चिर्ने र आशा सञ्चार हुन्छ ।

दोस्रो, अघिल्लो पुस्ताले साहित्यमा जुन रुपमा योगदान पुर्‍याए, त्यो योगदान पछिल्लो पुस्तामा साहित्य चिन्तन नपुग्ला कि भन्ने त्रास पनि छ । त्यो बेलाका नेताहरुको चिन्तनको धरातल, उनीहरुले देखेको नेपाल, संस्कृति, भूगोल अहिलेको पुस्तालाई बुझाउनु छ ।

नेपाली हुनुको जुन मर्म हो, त्यो मर्म पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न जरुरी छ । मान्छेहरु व्यक्तिमूखी र यान्त्रिक हुन थालेका छन् । कोरा राजनीतिले मात्रै देशलाई केही गर्ने छैन । निराशा, वितृष्णा हटाएर आशाको सञ्चार गर्ने एक मात्रै अस्त्र साहित्य हो ।

महोत्सवमा बीपीलाई केन्द्रमा राखेर विभिन्न व्यक्तिहरुले ‘कि नोट स्पीच’ राख्ने भएका छन् । पहिलो दिन प्राध्यापक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शन माथि बोल्नेछन् ।

दोस्रो दिनमा प्राध्यापक आनन्द कुमारले मार्क्सदेखि गान्धीसम्मका विषयमा धारणा राख्ने कार्यक्रम तय भएको छ । आनन्द कुमारले राख्ने विषय ‘मार्क्स, गान्धी एण्ड क्वेष्ट फर डेमोक्रेटीक सोसलिज्म टुडे’ छ । प्राध्यापक केदारभक्त माथेमाले बीपीको समाजवादमा शिक्षा कस्तो हुने हुन्थ्यो होला भन्ने अवधारणामा ‘कि स्पिच’ राख्नेछन् ।

प्रत्येक दिन चारवटा सेसन सहितको साहित्यीक कार्यक्रम तय गरिएको छ । मूलतः बीपीको साहित्यमा मन्थन हुने गरि १२ वटा विषय छनोट गरिएको छ ।

राजनीतिक व्यक्ति, साहित्यकारले बीपी माथि चिन्तन गर्ने विषयहरुमा बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण , साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य,  बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी , युवा स्रष्टामा बीपी पठन , समावेशिता, सामाजिक रूपान्तरण र बीपी ,  समय र सबार्ल्टन, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी जस्ता विषय छन् ।

साहित्यिक महोत्सवमा कविता, गजल र संगित समेत प्रस्तुत हुने भएका छन् । कविता, गजल र संगितका लागि साँझको समय छुट्याइएको छ । पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र अन्तिम दिन सांङ्गेतिक साँझ हुनेछ ।

महोत्सवमा चित्रकला, वृत्तचित्र र चलचित्र पनि प्रदर्शन गरिने भएको छ । ‘हाइज्याकिङ फर डेमोक्रेसी’ अन्तर्गत २०३० सालमा कांग्रेसले गरेको जहाज अपहरणको वृत्तचित्र देखाइने छ ।

‘विराटनगरबाट काठमाडौं उडेको जहाज किन काठमाडौं नआएर अन्तै गयो लगायत प्रश्नहरुको उत्तर खोजी गर्न वृत्तचित्र देखाइने छ,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । महोत्सवमा ‘वीर गणेशमान’ चलचित्र पनि प्रदर्शन गरिने भएको छ । ऐतिहासिक फोटोहरु समेटेर ६० भन्दा बढी फोटो प्रदर्शनीमा राखिने छन् ।

साहित्यकार र केन्द्रीय सदस्यहरु सम्मिलित २६ जनाको टोली महोत्सवको तयारीका लागि गठन गरिएको छ । नेपाली लेखक संघको संयोजन गरेको महोत्सवलाई निरन्तर शनिबार सांस्कृतिक संघ र फाइन आर्टको सहयोग गरेका छन् । बीपी साहित्य महोत्सवको लोगो सोमबार सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?