
१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ बेलायत जान तयार भएका बेला उनलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको कार्यक्रम नै स्थगित भएको छ ।
माओवादी केन्द्रको बेलायतस्थित प्रवासी संगठन जनप्रगतिशील मञ्चले २३ भदौका लागि आयोजना गरेको वार्षिक कार्यक्रममा सहभागी हुन महासचिव गुरुङ त्यसतर्फ जाने तय भएको थियो ।
तर कार्यक्रम हुने ६ दिनअघि मात्रै बेलायतस्थित जनप्रगतिशील मञ्चको सचिवालय बैठकले कार्यक्रम स्थगित गरेपछि गुरुङको भ्रमण रोकिएको हो ।
बेलायतस्थित जनप्रगतिशील मञ्चका अध्यक्ष मानबहादुर गुरुङका अनुसार एक महिनाअघि नै महासचिव आउने तय भएको थियो । बेलायत संगठनले गत १४ अगस्टमै निर्णय गरेर प्रवास कमिटीका अध्यक्ष ओम शर्मा, युरोप मोर्चा लगायतका समितिलाई जानकारी समेत गराएको गुरुङको भनाइ छ ।
तर प्रवास कमिटीका अध्यक्षको प्रत्यक्ष निर्देशनमा उक्त कार्यक्रम रोक्नुपरेको अध्यक्ष गुरुङको भनाइ छ । ‘हामीले महासचिव कमरेडलाई निमन्त्रणा दिएका थियौं । उहाँ आउने समय पनि निर्धारण भएको थियो । भिसा पनि लागेको थियो’, अध्यक्ष गुरुङले भने, ‘तर प्रवास कमिटीका अध्यक्ष ओम शर्माले कार्यक्रम रोक्न निर्देशन दिएपछि तीन दिनपछि हुने कार्यक्रम रोक्न बाध्य भयौं ।’

उनका अनुसार बेलायत संगठनले सबैभन्दा पहिला माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो दिएको थियोे । उनले आफू सरकारको काममा व्यस्त हुनुपर्ने भएकाले संगठनको अन्य नेता पठाउने भनेका थिए ।
त्यसपछि बेलायत संगठनले वरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई निम्तो दिएको थियो । उनले पनि आफू सरकारको काममा व्यस्त भएकाले पार्टीको अन्य जिम्मेवार नेता जाँदा उपयुक्त हुने भनेका थिए । त्यसपछि संगठनले महासचिव गुरुङलाई निम्तो दिएको उनको भनाइ छ ।
त्यसपछि महासचिव गुरुङले अध्यक्ष प्रचण्डसँग सोधेर अनुमति पाएपछि मात्रै भिसा प्रक्रिया अगाडि बढाएको जनप्रगतिशील मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए । ‘हाम्रो कार्यक्रम कुनै नेता लक्षित थिएन । पार्टीको रुपान्तरण अभियानलाई नै सहयोग पुग्ने र संगठन विस्तार तथा संगठनको वार्षिक कार्यक्रम मात्रै थियो’, उनले भने ।
जनप्रगतिशील मञ्चको बेलायत संगठनले प्रत्येक वर्ष भेटघाट लगायतका कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि सोही प्रकृतिको तर अलिक फरक कार्यक्रम तय भएको अध्यक्ष गुरुङले बताए ।
उनले बेलायतमा रहेका विभिन्न संघसंस्था, संगठन, पूर्व गोर्खा सैनिक र नवआगन्तुकलाई स्वागत गर्ने कार्यक्रम थियो । अध्यक्ष गुरुङका अनुसार बेलायतमा रहेका विभिन्न संगठनका पूर्व अध्यक्षसहित करिब १०० जनालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको थियो ।
संगठनका बेलायत अध्यक्ष गुरुङले महासचिवसँगै प्रवास कमिटीका अध्यक्ष शर्मालाई पनि कार्यक्रममा आउन आग्रह गरेका थिए । तर शर्माले आफू अमेरिका जाने बताएका थिए । संगठनका अन्य पदाधिकारीका अनुसार अमेरिका पुगेर प्रवास कमिटी अध्यक्ष शर्माले फोन गर्दै कार्यक्रम रोक्ने निर्देशन दिएका थिए ।
बेलायतबाट संगठनले आन्तरिक कार्यक्रम भएकाले रोक्न नमिल्ने भनेपछि शर्माले अमेरिकाबाट प्रवास कमिटी अन्तर्गतको यूरोप शाखालाई जानकारी गराउन भनेका थिए ।
नेपालबाट महासचिव गुरुङले बेलायतमा रहेका संगठनका पदाधिकारीलाई आफ्नो भिसा आइसकेकाले कहिले आउने भनेर सोधेका थिए ।
तर त्यसलगत्तै युरोप मोर्चाका कार्यबाहक अध्यक्ष रण केसीले बेलायत संगठनका अध्यक्ष गुरुङलाई फोन गरेर प्रवास कमिटी अध्यक्ष शर्माले कार्यक्रम रोक्न निर्देशन दिएकाले स्थगित गर्न भनेका थिए ।
त्यसपछि १७ भदौमा संगठनले आकस्मिक भर्चुअल बैठक बसेर कार्यक्रम स्थगित गरेको हो । बेलायतबाट मञ्चका पदाधिकारीले महासचिव गुरुङलाई भिसा लागिसकेकाले कार्यक्रम नभए पनि पारिवारिक घुमघाममा आउन आग्रह गरेका थिए । तर महासचिव गुरुङले पार्टी काम बाहेक पारिवारिक घुमघाममा बेलायत नआउने सन्देश पठाएका थिए ।
नेपाली जनप्रगतिशील मञ्च बेलायतका उपाध्यक्ष नवीन स्याङ्तानले कार्यक्रमको भव्य तयारी भएको बेला अचानक स्थगित हुनु अत्यन्तै दुःखद भएको बताए । ‘संगठन साँच्चिकै ठूलो हुने भयो भन्ने भय वा गुटगत मानसिकताबाट ग्रसित भएर यो कार्यक्रम रोक्न केन्द्रदेखि युरोप मोर्चासम्म चलखेल भएको प्रष्ट देखिन्छ’ उनले भने, ‘यस कुकार्यको म भर्त्सना गर्दछु ।’
मञ्चको बैठकले आकस्मिक निर्देशन आएको कारण प्रष्ट पारिदिन माथिल्लो समितिलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
‘संगठनको तयारीको अन्तिम अवस्थामा रहेको बार्षिक कार्यक्रम नै स्थगित गराउने आकस्मिक निर्देशन आउनुको कारणहरू प्रष्ट पारिदिन र केही समयपछि वार्षिक भेटघाट कार्यक्रम गर्न सहजीकरण गरिदिनको लागि माग गर्दै सचिवालयले माथिल्लो समितिहरूमा पत्राचार गर्ने जानकारी गराउँदछ’, मञ्चले जारी गरेको आन्तरिक सर्कुलरमा भनिएको छ ।
प्रतिक्रिया 4