+
+
कम्पनीको सेयर तथा पूँजीसम्बन्धी प्रावधानमा संशोधन :

कम्पनीको चुक्ता पूँजी बैंकमार्फत जम्मा गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १९:१३

२० भदौ, काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापनमा एक दर्जनभन्दा बढी संशोधन गरेको छ । कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरुमा संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

१० भदौमा बसेको कम्पनीको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको हो । नयाँ व्यवस्थाअनुसार अब सेयरधनीले कम्पनीलाई सेयर बापतको चुक्ता रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्छ ।

प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने छ भने बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार १८ भदौ २०८० पछि स्थापना भएका कम्पनीहरुले प्रथम वार्षिक साधारण सभा गर्नुअगाडि नै अनिवार्य रुपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था गरिएको छ । यसरी सेयर लगत प्रमाणित गरेर लगेपछि मात्र कम्पनीको अध्यावधिक लगायतका काम कारबाही गर्न पाइने व्यवस्था गरिएको छ ।

सेयरधनीले लगानी गरेपछि मात्रै कम्पनी बन्छ भन्ने मान्यताका आधारमा केही सुधारका प्रयासहरु भएको कम्पनी रजिष्ट्रार महेश बरालले बताए । ‘कम्पनीको सेयरमा अस्पष्टता, अपत्यारिलो र नक्कली बैंक सर्टिपिकेट समेत प्रयोग भएको पाइएपछि यसलाई पारदर्शी र बैंकिङ प्रणालीमा आधारित बनाएको हो,’ उनले भने ।

अब कम्पनीको कागजात र लगानी अब पारदर्शी हुने उनको भनाइ छ । ‘कर्मचारी वा कम्पनीका कसैले पनि बदमासी गर्न पाउँदैनन् । मोटामोटी ५० प्रतिशत कम्पनी दर्ता र लगतको बिकृति अन्त्य हुन्छ,’ रजिष्ट्रार बरालले भने ।

२०७३/७४ को भन्दापछिको लेखा परीक्षण प्रतिवेदनमा चुक्ता पूँजी उल्लेख भएको तर सेयर लगत नभएको कम्पनीमा सो पूँजीबजारको प्रमाण पेश गरी सेयर लगत अभिलेख गरेर मात्रै अब कम्पनीको अन्य कागजातको अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।

कम्पनीको सेयरबापतको रकम कम्पनीको बैंक खातामा जम्मा गर्दा सेयर कल गरेको मितिदेखि सेयर बाँडफाँट गरेको मितिभित्र गर्नुपर्ने प्रावधान रहेको र सोही अवधिको बैंक स्टेटमेन्ट मात्र चुत्ता प्रमाणका लागि ग्राह्य हुने रजिष्ट्रार कार्यालयले जनाएको छ ।

अबदेखि कम्पनी स्थापना गर्दा सेयरधनीले आफूले कवुल गरेको सेयर वा जगेडा सेयर खरिद वापतको रकम चुक्ता गर्दा वा सेयर खरिद गर्दा बिक्रीको कारोबारमा बिक्रेतालाई सेयर रकम भुक्तानी गर्दा कार्यालयमा पेश गर्ने बैंक स्टेटमेन्टमा सम्बन्धित बैंकको छापसहितको प्रमाणित भएको स्टेटमेन्ट पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाता प्रमणितबाट खुल्ने परिवारको सदस्यहरुको बीच भएको खरिद बिक्रीको हकमा सम्बन्धित बैंकमबाट सिस्टम जेनेरेटेड चुक्ता प्रमाणलाई पनि अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ ।

सेयर बापतको रकम सम्बन्धित कम्पनीको बैंक, खातामा जम्मा गर्दा सेयरधनी स्वयम्को नामबाट दाखिला भएको हुनुपर्ने छ । तर, सेयरधनी स्वयम्ले दाखिला नगरी एकाधरको परिवारको सदस्यबाट दाखिला भएको खण्डमा नाता खुल्ने कागजात र सम्बन्धित व्यक्तिको स्वघोषणा अनिवार्य गरिएको छ ।

यस्तै, सेयरलागत जारी गर्दा चुक्ता पूँजीको रकम १० लाखभन्दा कम रकम कम्पनीको प्रयोजनका लागि छोटो समयका लागि झिकिएको खण्डमा कारणसहित र खर्च भएको भए लेखापरीक्षण विवरणसहित चुक्ता पूँजीको अभिलेख स्वीकार गरिने उल्लेख छ । नयाँ व्यवस्थाअनुसार कम्पनीको ओभर ड्राफ्ट खातामा रकम जम्मा गर्दा बैंक भौचर र स्टेटमन्ट खुलाएरै प्रयोजन उल्लेख गरिएको हुनुपर्ने र त्यसलाई बैंकले प्रमाणित गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले बकसमार्फत सेयर स्वमित्व हस्तान्तरण गर्दा अपनाउनु पर्ने विधि पनि परिमार्जन गरेको छ ।

अबदेखि बकसपत्र मार्फत सेयर हस्तान्तरण गर्दा स्थानीय तहको नाता प्रमाणित अनिवार्य गरिएको छ । एकाघरको सगोलको जेष्ठ सदस्यले मात्रै आफूभन्दा साना सदस्यलाई सेयर बकस गरीदिन पाउने छन् । कागजमा बकसमा सेयर विवरण खुलाउनु पर्नेछ भने यस अघि नै निर्णय भएको तर काम सम्पन्न हुन नसकेको हकमा भने ४५ दिन भित्र पुरानै नियमानुसार गर्न सकिने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

खारेजीमा जाने कम्पनीको हकमा फिर्ता हुने रकम पनि बैंकिङ प्रणालीमार्फत नै सेयर धनीलाई फिर्ता गने व्यवस्था पनि नयाँ संशोधनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?