+
+

चीनले सरकारी कार्यालयमा लगायो आइफोनमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:२६

एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गर्नु केही दिनअघि चीनले यस्तो निर्णय लिएको छ कि जसले गर्दा एप्पललाई ठूलो झट्का लागेको छ ।

विदेशी उपकरणमा नियन्त्रण गर्दै विदेशी प्रविधिमाथिको निर्भरता कम गर्नका लागि चीन सरकारी केन्द्रीय सरकारी निकायहरुमा आइफोनलगायतका अन्य विदेशी ब्राण्डका डिभाइसहरु प्रयोग नगर्न अधिकारीहरुालई आदेश दिएको छ । योसँगै चीनका केन्द्रीय निकायहरुमा सरकारीका कामका लागि आइफोनको प्रयोग गर्न नपाइने मात्र होइन कार्यालयमा आउँदा समेत आइफोन ल्याउन पाइने छैन ।

वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा यस्तो आदेश दिइएको हो, यद्यपि आदेशको व्यापकताको बारेमा भने प्रष्ट भै नसकेको बताइएको छ । यद्यपि एप्पलसँगै अन्य कुन-कुन कम्पनीका फोनहरुलाई चीनका सरकारी निकायमा बन्देज लगाइएको हो भन्ने विवरणचाहिं उक्त समाचारमा उल्लेख छैन ।

चीनको पछिल्लो कदमले एप्पलका आइफोन तथा अन्य प्रडक्टहरुको महत्वपूर्ण उत्पादन हबको रुपमा रहेको चीनमा एप्पलको सफलतालाई असर पार्ने देखिएको छ ।

चीन आइफोनको सबैभन्दा ठूलोमध्येको एक बजार मात्र नभई एप्पल कम्पनीको २० प्रतिशत आम्दानी चीनमै हुने गर्दछ । चिनिया स्मार्टफोन बजारमा आइफोनको हिस्सा १६ प्रतिशत रहेको छ ।

यहीँ सेप्टेम्बर १२ मा एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गर्ने मिति तय भएको सन्दर्भमा त्यसको केहीदिन अघि मात्रै चीनको पछिल्लो कदम आएको छ ।

विदेशी प्रविधिमाथिको निर्भरता

एक दशक यतादेखि चीनले विदेशी प्रविधिमाथिको निर्भरता घटाउन मेहेनत गरिरहेको छ । रिपोर्ट अनुसार सरकारले बैंकलगायतका सरकारी संस्थाहरुलाई स्थानीय सफ्टवेयर प्रयोग गर्न तथा घरेलु चिप उत्पादनलाई बढावा दिनका लागि निर्देशन दिने गरेको छ ।

रोयटर्सले हालै सार्वजनिक गरेको एक समाचार अनुसार चीन सरकारले देशमा सेमिकन्डक्टर क्षेत्रको प्रवर्द्धनका लागि ४० अर्ब डलर लगानी जुटाउने उद्देश्यका साथ सरकारी लगानी कोष खडा गर्न लागेको छ ।

उता अमेरिकाले भने चीनलाई चीप उद्योगमा आफ्नो प्रतिस्पर्धी बन्न नदिने उद्देश्यका साथ चिप उत्पादनका लागि आवश्यक प्रविधि तथा उपकरणमा चीनको पहुँचलाई रोक्नका लागि आफ्नो गुटका मुलुकहरुलाई दबाब दिंदै आएको छ ।

त्यस्तै अमेरिकाले चीनद्वारा जासुसीका लागि प्रयोग गरिएको भन्दै चिनियाँ स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको छ ।

साथै उसले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको लोकप्रिय प्लाटर्फम टिकटकमाथि पनि बन्देज लगाउने उपाय खोजिरहेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?