+
+

सौगात मल्ल अभिनित फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:२६

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि नै सौगात मल्ल स्टारर ‘द रेड सुटकेस’को महत्वपूर्ण दृश्य सार्वजनिक भएको छ । प्रतिष्ठित भेराइटी म्यागजिनले यो दुई मिनेट लामो क्लिपलाई बाहिर ल्याएको छ ।

यो ट्रेलरमा सौगात मल्ल पिकअप गाडी चालकको भूमिकामा देखिएका छन् । सौगातको पात्रले एउटा रातो सुटकेसलाई गाडीमा हालेर अघि बढ्छ । क्लिप त्यहीं समाप्त हुन्छ । यो फिल्मको कथावस्तु पनि यही दृश्यसँगै सुरु हुने जनाइएको छ ।

भेनिसको होराइजन्स विधामा छनोट भएको यो फिल्मको विश्व प्रिमियर नेपाली समयानुसार शुक्रबार बेलुका ६ बजे हुँदैछ । रेडकार्पेट समारोहमा सहभागी हुन सौगातसहित विपिन कार्की, सृष्टि श्रेष्ठ र निर्माता रामकृष्ण पोखरेल र शोभा थापा इटाली लागेका छन् ।

फिडेल देवकोटा निर्देशित फिल्ममा प्रवीण खतिवडा, सोनम लामा, अञ्जु देउजा र बी विश्वकर्माको पनि अभिनय छ ।

‘फिल्मले आजका नेपालका युवाको भावनालाई झल्काउँछ जो राजनीतिक र आर्थिक अनिश्चिततामा बाँचिरहेका छन् । साथै फिल्मले बसाइँसराइ र रेमिट्यान्ससँग सम्बन्धित प्रतिकूल सामाजिक लागतबारे पनि प्रकाश पार्छ । प्रवासी कामदारले घरमा पठाएको रेमिट्यान्स हालैका दिनमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा देखा परेको छ, जसले जीडीपीको ३० प्रतिशत हिस्सा ओगट्छ । रेमिट्यान्सले नेपालको आर्थिक विकास र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको भए पनि यससँग विडम्बना पनि जोडिएका छन्,’ निर्देशक देवकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?