+
+

फिल्म ‘एक भगवत् गीता’लाई तत्काल सेन्सर सिफारिस दिन अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १६:४०

२१ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ । केही धार्मिक संघसंस्थाले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाइरहेकाले तत्काल सेन्सर सिफारिस नदिने निर्णयमा बोर्ड पुगेको हो ।

बिहीबार बोर्डको अगुवाइमा फिल्मका निर्माता सुनिलकुमार थापा तथा विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालका प्रतिनिधिबीच भएको छलफल निष्कर्षमा पुग्न सकेन ।

ती धार्मिक संघ-संस्थाले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको दाबी गर्दै प्रदर्शन रोक्न माग गरी बोर्डमा निवेदन दिएका थिए । फिल्मको स्क्रिप्टमा भगवत् गीताबारे कुनै सम्बन्ध नराखी व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्‍याएको उनीहरुको आरोप छ ।  निर्माण पक्षले भने आफूहरुले सरकारी निकायको स्वीकृति दिएर फिल्मको शीर्षक राखेको र रोमान्टिक प्रेमकथामा आधारित फिल्म भएकाले धर्ममाथि आँच पुर्‍याउने कुनै विषयवस्तु नभएको बताउँदै आएको छ । बिहीबारको छलफलमा पनि निर्माता थापाले यही कुरा दोहोर्‍याएका थिए ।

हिन्दु जागरण नेपालले चलचित्र विकास बोर्डमा दिएको निवेदन

यता बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि शुक्रबारलाई कार्यसमिति बैठक बोलाएको छ । ‘दुवै पक्षलाई राखेर मिलाउने प्रयास गरिरहेका छौं । धर्म र समुदायमाथिको कुरा भएकाले भोलि कार्यसमिति बैठक राखेर निष्कर्षमा पुर्‍याउने प्रयास गर्नेछौं’ बोर्डका प्रवक्ता केएल बुढाथोकीले भने ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मबारे विवाद भएपछि दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन मन्त्रालयले बोर्डलाई पत्राचार गरेको जानकारी दिए ।

फिल्म यही भदौ २९ गते रिलिज हुने तयारीमा छ । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?