 
																			२२ भदौ, काठमाडौं । सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट सरकारी राष्ट्रसेवक कर्मचारी छनोट गर्न सकेन । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि निजामती सेवा दिवसको अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गर्यो ।
सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए । करिब ५० हजार कर्मचारी संघमा कार्यरत रहेपनि सर्वोत्कृष्ट ‘नभेटिएको’ यो लगातार ७औं वर्ष हो । सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट पुरस्कृत कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । तर यो सूचीमा प्रदेश र स्थानीय तहका कर्मचारीलाई नसेमिटएको भन्ने गुनासो निजामती सेवा भित्र छ ।
२०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालेदेखि नै निजामती सेवा पुरस्कारको वितरण थालिएको थियो । त्यतिबेलै २ लाख रुपैयाँ राशीसहित एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ दिने व्यवस्था गरिएको थियो । वर्षैसाल १० जनालाई १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार दिइन्छ । तर, सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी छान्न भने सरकार उदाशीन छ ।
पछिल्लो पटक २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता हरेक वर्ष निजामती र उत्कृष्ट निजामती सेवा पुरस्कार मात्र दिइएको छ । सर्वोत्कृष्ट सरकारी भने नभेटिएको भन्दै कसैलाई दिइएको छैन । र, शुक्रबार पनि यो पुरस्कार दिइने छैन ।
मुख्यसचिव नेतृत्वको सिफारिस समितिका एक सदस्य सर्वोत्कृष्ट कर्मचारी खोजे पनि भेट्टाउन नसकेको बताउँछन् । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका कलागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।
नियमित रुपमा सम्पत्ति विवरण पेश गरेको, असाधारण विदाभएको भए त्यसपछि कम्तीमा दुई वर्ष काम गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन विदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेको सहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानून बमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ । ‘यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कर्मचारी भेटेनौं’ उनले भने, ‘त्यसैले सिफारिस गर्ने कुरै भएन ।’

पूर्वसचिव कृष्णहरि बास्कोटा सर्वोत्कृष्ट कर्मचारी नै ‘नभेटिएको’ भन्ने तर्क मान्न तयार छैनन् । सरकारले दिने मनासय राखेर खोजी नै नगर्दा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘सर्वोत्कृष्ट खोज्ने भनेको भएकामध्येबाट एक जना छनोट गर्ने हो,’ उनले भने, ‘सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हुँदै हैन, त्यो खोज्न जिम्मा पाएका निर्णयकर्ताहरुले काम गर्न नसक्नु भएको हो ।’
कोभिड महामारी, डेंगीको प्रकोप नियन्त्रण, प्राकृतिक प्रकोपको न्युनीकरण, वन संरक्षण, सार्वजनिक शिक्षाको सवलीकरण, निष्पक्ष लोकसेवा, निष्पक्ष निर्वाचन, मानवअधिकार संरक्षण, प्रभावशाली दैनिक प्रशासन र सेवा प्रवाहसहित कृषिमा आधुनिकीकरण तथा वैज्ञानिक खोज अनुसन्धानसहित बलियो कूटनीतिजस्ता क्षेत्रका एकसेएक कर्मचारीले काम गरेर देखाएको उनको दाबी छ ।
काम गरिरहेकाहरुलाई प्रोत्साहित गर्न भनेर कानुन नै बनाएर पुरस्कार दिने व्यवस्था गरेको भन्दै उनले यो कार्यान्वयन नगर्दा कर्मचारी प्रशासनबारे नकारात्मक धारणा फैलिने जोखि हुने बताए । ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नदिन कन्जुस्याइँ र पूर्वाग्रहले काम गरेको हो भने त्यसले निजामती सेवाकै प्रतिष्ठामा धक्का दिन्छ’ पूर्व मुख्यसचिव बास्कोटाले अघि भने, ‘सानै पदमा भएकाहरुले पनि यो पुरस्कार पाउनसक्छन् भन्ने सोच निर्णयकर्तामा हुनुपर्छ ।’
२२ भदौ २०१३ मा पहिलो निजामती सेवा ऐन आएको दिन पारेर २०६१ सालदेखि दिवस मनाउन थालिएको थियो । यो २० वर्षमा ४ जना कर्मचारीले मात्र सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् । २०६८मा सूर्यप्रसाद गौतम, २०६९ मा भाइकाजी तिवारी, २०७० भगवतीप्रसाद काफ्ले र २०७३ मा शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए ।

एक पूर्वसचिव भने विगतमा सर्बोत्कृट ठहर भएका कर्मचारीहरु विवादमुक्त हुन सकेनन् । त्यसले पनि सरकारले सर्वोत्कृष्ट घोषित गर्न आँट नगरेको हुनसक्ने उनी बताउँछन् । ‘कतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमार्फत सर्वोत्कृष्ट घोषित हुन बल लगाएको आरोप लागेको थियो भने कतिपयमाथि प्रधानमन्त्रीको विश्वासपात्र बन्दा फल पाएको आक्षेप लाग्यो’ उनी भन्छन्, ‘एक जनालाई त सर्वोत्कृष्ट पुरस्कार दिएकै वर्ष विभागीय कारबाही गर्नु परको विगत छ ।’
सिंहदरबार र राजनीतिक शक्तिको वरपर नै सर्वोत्कृष्ट कर्मचारी खोज्ने प्रचलनले समेत समस्या भएको भन्दै एक पूर्व सचिव भन्छन्, ‘म हैन भने कोही छैन भन्ने सोचले निजामती प्रशासनग्रस्त हुनुको परिणाम पनि हो यो ।’
पूर्वसचिव विमल वाग्ले भने समग्र कर्मचारीतन्त्रको कार्यसम्पादन कमजोर भएको महसुश भएका बेला सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् भन्नु स्वभाविक भएको बताउँछन् ।
तल्लो तहसम्मै निरन्तर जनसेवामा रहेका इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीको कार्यसम्पादनलाई ध्यान दिएर मूल्यांकन गर्ने हो भने सर्वोत्कृष्ट कर्मचारी भेटिन सक्ने भन्दै उनले भने, ‘कतै कुनामा सर्वोत्कृष्ट ठहर हुन सक्ने कर्मचारी होलान्, उनीहरुको कामको उचित मूल्यांकन भयो होला कि भएन ? सर्वोत्कृष्ट हुन सक्नेले काम गर्ने मौका पाए कि पाएनन् होला भन्ने पनि सरकारले विचार गर्नुपर्छ ।’

 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4