+
+
यात्रा :

दूधपोखरी : ऐतिहासिक धार्मिक महत्त्व बोकेको लोपोन्मुख ताल

सुदन अधिकारी सुदन अधिकारी
२०८० भदौ २३ गते १८:४६

‘म त यहाँबाट माथि पनि जानसक्दिनँ, तल झर्न पनि सक्दिनँ । घरमा छोरालाई समेत नभनी धर्म गर्न आएको ।’

जनैपूर्णिमाको दिन दूधपोखरी दर्शन गर्न आएकी गोरखा पालुङटारकी सत्तरी वर्षीया वृद्धा हजुरआमाले दिउँसोको चार बजे एउटा ढुङ्गामाथि बसेर रुँदै यसो भनिरहँदा उनीसँगै आएका टोली मात्र होइन, अन्य तीर्थालु समेत एकछिन अलमलिए ।

२० घन्टा बढी हिंडिसकेपछि ४५०० मिटर उचाइमा पुगेर, गन्तव्य पुग्न एक घन्टा लाग्ने ठाउँमा यसरी सँगै आएकी साथी रोकिएपछि पोखरी पुग्ने कि बाटैबाट फर्किने भन्नेमा टोलीबीच छलफल चलिरह्यो ।

हाम्रो टोली भने गन्तव्यमा पुगेर पोखरीको दर्शन गरी फर्किसकेको थियो ।

पूर्वप्रधानमन्त्री तथा गोरखाका नेता डा.बाबुराम भट्टराई सहितको परिवार पनि जाने भने तापनि अन्तिम समयमा डेंगु संक्रमण भएर उनी भ्रमणमा सामेल भएनन् । बीस जना बढी जम्बो टोलीको स्वास्थ्य हेरचाहको जिम्मेवारी अनि पोखरीमा स्नान गर्न पुगेकाहरूको सामान्य स्वास्थ्य जाँच गर्ने जिम्मेवारी पनि भएकाले मैले अत्यावश्यक औषधि लगायत उपकरणहरू सबै साथमा लगेको थिएँ ।

ढुङ्गामा बसेर एकोहोरो आलाप गरिरहनुभएकी वृद्धा हजुरआमालाई सम्भव हुने जाँच अनि औषधि उपचार गरिदिएपछि मैले भनें, ‘लेक लागेको भन्दा पनि थकान भएर यो समस्या आएको हो । पानी परिरहेको, बाटो अझै कष्टकर रहेको अनि अँध्यारो पनि भइसकेकाले वासस्थानको समस्या हुन्छ । टिममा सल्लाह गरेर मात्रै अगाडिको यात्रा तय गर्नुहोला है ।’

यति भनेर म ओरालो झरें ।

तल पुगेर माथि फर्किहेर्दा ढुङ्गामा बस्नुभएको आमाको वरिपरि सबै घेरेर बसिरहेको देखें ।

गोरखा-लमजुङ सिमानामा रहेको अनि प्रसिद्ध चेपे नदीको उद्गमस्थल मानिएको ४५६० मिटर उचाइमा रहेको दूधपोखरी भ्रमणको क्रममा बुढीआमासँग बिदाइ भएर हिंडे पनि यादमा सँगसँगै बोकेर हिंडिरह्यौं ।

हरेक वर्षको जनैपूर्णिमामा दूधपोखरीमा भव्य मेला लाग्ने गर्दछ । सामान्यतया, साउनमा पर्ने जनैपूर्णिमामा तीर्थालु संख्या धेरै हुनेगर्दछ । यसपालिको जनैपूर्णिमा भदौमा परेको हुनाले ‘फुल फुलेर लेक लाग्ने’ भयले स्थानीयहरू नगए तापनि काठमाडौं लगायत जिल्लाबाट उल्लेख्य मात्रामा तीर्थालु आएका थिए ।

गोरखा अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारबाट चार किलोमिटर पर रहेको रमणीय गाउँ सिरानडाँडा पुगेपछि पैदल यात्रा सुरु हुन्छ । मुग्लिङबाट सिरानडाँडा ६० किलोमीटर दूरीमा छ । सिरानडाँडासम्मै पिच बाटो पुगेकाले यात्रा सहज छ । भच्चेकका आधुनिक होटल, नम्कीको लोभलाग्दो होम-स्टे वा सिरानडाँडाकै चिसो हावा खाँदै रात बिताएपछि दूधपोखरीको पैदल यात्रा सुरु हुन्छ ।

उकालै उकालोको बीच जिस्काउन आउने केही ओरालो-समथर बाटो सहित २७ किलोमिटर लगातार हिंडेपछि दूधपोखरी पुगिन्छ ।

देशको पूर्वप्रधानमन्त्रीसँगै रात बिताउने, आफ्नो गाउँठाउँमा रहेको तीर्थस्थलको भ्रमण गर्दै समाज बुझ्ने उद्देश्यका साथ यात्रामा सामेल हुन पाउँदा छुट्टै उमंग थियो । भच्चेकस्थित घर पुगेपछि मात्र थाहा भयो, ‘पेटको संक्रमण र उच्च ज्वरोले गर्दा बाबुराम भट्टराईको भ्रमण अन्तिम समयमा स्थगित भएछ ।’

सँगै, टेन्ट लगायतका केही सामान भट्टराईकै गाडीमै छुटेछ ।

उचाइमा हिंड्दा हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गरेर यसअघि गएका साथीहरूको अनुभव, अपनाउनुपर्ने सावधानी लगायत कुराहरूमा म सचेत थिएँ । तयारी पनि त्यसै अनुरूप गरेको थिएँ ।

भच्चेकस्थित हाम्रो घरमा रात बिताएपछि बिहानै चार बजे यात्राको लागि तयार भयौं । समूहका अन्यको झोलामा खानेकुराले भरिंदा मेरो झोलामा औषधि मात्र थिए ।

१२ जनाको जम्बो टोली भएकाले सुरुवाती उकालो यात्रा रमाइलो नहुने त कुरै भएन ।

टोलीसँग पदयात्रा गर्दा सबैभन्दा अगाडि हिंड्न त म चाहेर पनि सक्दिनथें । तर, अन्तिममा हिंड्न नपरोस् भन्नेमा चाहिं म सचेत थिएँ । यात्रामा अन्तिममा भइयो भने अगाडि हिंडिरहेका साथीहरू भएकोसम्म कसरी पुग्ने होला भन्ने भयले मलाई तर्साइरहन्छ !

सिरानडाँडाबाट हिंडेको केही मिनेटमै आइहाल्ने ठाडो उकालो हेरेर काठमाडौंबाट आएका केही त झस्किसकेका थिए । तर, धेरै दिनदेखिको तयारीले गर्दा सबै जना आरामदायी नै देखिन्थे ।

सिरानडाँडाबाट दुई घन्टा उकालो चढेपछि बाघखोर भन्ने ठाउँ आइपुग्यो । हामीसँगै टिममा रहनुभएका अनि सानो बेला घाँसदाउरा गर्न यदाकदा बाघखोरसम्म आइपुग्नुभएका अंकल भन्दै हुनुहुन्थ्यो- ‘मैले थाहा पाउने बेलासम्म यहाँ बाघको खोर नै थियो । बेलाबखत जम्काभेट समेत भएको थियो ।’ अहिले भने खोर विस्थापित भएर वनमा टुसा लगायत जडीबुटी टिप्न जानेहरूको आश्रयस्थल बनिसकेको रहेछ । बाघखोर पुगेपछि दोबाटो आउँछ ।

उकालो बाटो समायो भने नागेपोखरी पुगिन्छ ।

ओरालो समात्यो भने निम्चेपोखरी हुँदै दूधपोखरीसम्म पुगिन्छ ।

लेखाइमा त एक वाक्यमै दूधपोखरी पुगियो यहाँ ।

तर,

यात्रा,

ओहो!

बाघखोरबाट हिंडेपछि हामी लालीगुराँसको जंगल हुँदै अगाडि बढिरह्यौं ।

दुई घन्टा हिंडेपछि हाम्रो टोली निम्चेपोखरी छेउमै रहेको टहरोमा बसेर खाजा खाने तरखरमा लाग्यौं ।

एकैछिनपछि,

एउटा चिनेजस्तो लाग्ने अनुहार आएझैं लाग्यो । क्याप लगाएकाले फ्रेन्च-कट दाह्री मात्र देखें । एकैछिन हेरिरहें । केहीबेरमा हाम्रा आँखा जुधे । म डा. गुणराज लोहनी सरलाई देखेर बडो रोमान्चित भएँ । सरले पनि मलाई देख्नेबित्तिकै अँगालो हालेर ‘ओहो, हिजै थाहा भएको भए त सँगै आउनुहुन्थ्यो नि’ भनेर बडो भावनात्मक हिसाबले प्रस्तुत हुनुभो ।

नेपाल सरकारका अतिरिक्त स्वास्थ्य सचिवसम्म बनेका र सरकारी जीवनबाट अनिवार्य अवकाश लिएपछि गोरखा र तनहुँका ग्रामीण स्वास्थ्य केन्द्रहरूमा आफ्नो अधिकांश समय गुजारिरहेका डा.लोहनीसँग यात्रा गर्न पाउँदा मनमा छुट्टै आनन्द आयो ।

‘डाक्टर भट्टराई पनि आएका छन् रे हैन ?’ – उनले मलाई सोधे ।

‘आएको भए अहिले हाम्रै टोलीसित हुनुहुन्थ्यो । अन्तिम समयमा बिमार भएर आउन पाउनुभएन’ – मैले यति भनेपछि उनले थपे – सुनेको हल्ला त सही नै रहेछ !

अनि, मिठो हाँसो हाँसे !

अबको हाम्रो यात्रामा डा.लोहनीका तीन जना थपिए । स्वास्थ्य शिविर लगायत कार्यक्रममा डा. लोहनीसँगै बिताएकाले मलाई उनको साधरण जीवनशैली प्रेरणादायी लागिरहन्थ्यो ।

निम्चेपोखरीमा एकछिन बसेर हामी अगाडि बढ्यौं ।

हाम्रो टोलीमा अघिल्लो पटक पनि दूधपोखरीको यात्रा गर्नुभएको जम्मा एक जना अंकल मात्र हुनुहुन्थ्यो ।

त्यो पनि तीस वर्ष पहिले !

निम्चेपोखरीबाट माथि उक्लने बाटो हामीले पहिल्याउनै सकेनौं । एकैछिनको खोजीपछि अंकलले जंगलको बाटो हुँदै माथि मूल बाटोसम्मको यात्रा भेट्टाउन सकिन्छ भनेर अगाडि बढ्नुभो । १० मिनेट जतिको जंगलको बाटोपछि हामी मूल गोरेटो बाटोमा मिसियौं ।

‘जंगलको बाटो त गोठालो बाहेक कसैले पत्ता लगाउन सक्दैन । एकछिन भुल्यो भने दिनभर खोजेर पनि पत्ता लाग्दैन, धन्न हामीले भेटायौं’ – १५ जना बढीको नेतृत्व गरिरहनुभएको अंकलले बाटो पहिल्याएपछि भन्नुभो ।

सिरानडाँडाको १८०० मिटरबाट यात्रा सुरु गरेको हामी पाँच घन्टामै २५०० मिटर माथिको उचाइमा पुगिसकेका थियौं ।

यात्राको सुरुवाती समय दौडिएका सहकर्मीहरू विस्तारै शिथिल हुँदै गए ।

ज्यान नै त हो आखिर !

अर्को चार घन्टा हिंडेपछि हामी एउटा गोठमा पुग्यौं । अजिरकोट गाउँपालिकाले त्यो गोठ छेउमै करिब ३०-४० जना अट्ने धर्मशाला बनाइदिएको रहेछ । तर, त्यहाँ रात बिताउन लागेमा भोलिपल्ट जनैपूर्णिमाको दिन पोखरी पुग्न नभ्याइने गोठालाहरुको भनाइ सुन्दै हामी फेरि उकालो चढ्न थाल्यौं । अर्को, तीन घन्टा हिंडेपछि अन्ततः हामी बास बस्ने गोठमा पुग्यौं । जिन्दगीमा पहिलोपटक लगातार १३ घन्टा हिंडिएछ ।

यो हिंडाइले मैले आजभन्दा बीस वर्ष पहिले पहिलो पटक घर छोडेर काठमाडौं जाँदा घरदेखि गोरखा सदरमुकामसम्म लगातार १२ घन्टा हिंडेको धमिलो गरी सम्झिएँ !

सानो गोठमा दर्जनौं तीर्थयात्रीका बीच थकित शरीरले रात कता बिताउला भन्ने चिन्ता लिंदै गर्दा गोठालाले आज एकरातको लागि भेडा बाँध्ने गोठ हाम्रो समूहलाई दिने भए भनेको सुन्नेबित्तिकै सुत्ने व्यवस्था मिलाउन कस्सियो । टोलीका प्रत्येक सदस्यले स्लिपिङ ब्याग बोकेकाले धेरै सजिलो भयो ।

भेडा-बाख्राका फोहोरको समेत कुनै पर्वाह नगरी हामी सुत्ने तरखरमा लाग्यौं ।

एकैछिनमा गोठाला दाइले भने – माथिको गोठमा खानाको सुविधा छ है ।

ओहो, हामी झनै मख्ख !

एकैछिन थकाइ मारेर खान खाएपछि हामी सुत्न तल आयौं ।

माथि लेकमा खान-बस्नको समस्या होला भनेर पुग्ने खानेकुरा ल्याएका हामीहरू भात नै खान पाउँदा किन खुशी हुन्थेनौं र!

..

‘भोलि बिहान चार बजे नै उठेर हिंड्नुपर्छ है ‘ – समूहमा सल्लाह भो ।

बिहानै हिंड्न पाए खाना खान यही गोठमा आइपुग्न सजिलो हुने कुरा भो ।

‘हामी त दुई घन्टामा आरामले पुग्छौं । तपाइँहरूलाई तीन घन्टासम्म लाग्ला ।’

बिहानै चार बजे हिंडिसक्ने भनेतापनि उठेर हिंड्दा घडीले ६ बजाइसकेको थियो ।

करिब तीनहजार उचाइमा सुतेका हामी केही घन्टाभित्रै थप पन्ध्रसय बढी उचाइ उक्लिनुपर्ने थियो । हामीसँगै यात्रामा आएको भाइ ‘म त जानै सक्दिनँ’ भनेर त्यही गोठमै बस्यो ।

बाँकी, दूधपोखरीको दर्शन गर्न तम्तयार !

हामी उक्लिंदै गर्दा पोखरीमा नुहाएर ओरालो झर्दै गरेका टोलीसित जम्काभेट भइरह्यो ।

‘कति घन्टामा पुगिएला’? भन्ने मेरो प्रश्न झर्न नपाउँदै उनले भनिहाले – हामीलाई ओरालो झर्न त ६ घन्टा बढी लाग्यो । तपाइँहरूको हिंडाइमा कम्तीमा आठ घन्टा त लाग्ला ।’

खाना खान गोठमै फर्किन भ्याउने हाम्रो योजना यो एक वाक्यले भताभुङ्ग पार्दियो । ‘खाना खान फर्किहालिन्छ किन धेरै सामान बोक्नुपर्ला र पोखरी जान’ भनेर केही सामान नबोकी आएका हाम्रो टोली ‘अब के खाने होला’ भन्ने चिन्ताले आत्तियो ।

गोठालाको समय र हाम्रो समयको अन्तर फेरि एकपटक थाहा पाइयो!

जति गन्तव्यतिर नजिकिंदै गइन्छ, गन्तव्य त्यति टाढा लाग्छ ।

‘उ त्यहाँ पुग्ने हो’ भनेर फर्किनेहरूले पहाडको चुचुरोमा देखाउँछन्, त्यो चुचुरो हामीबाट झन् टाढा पुगिरहन्छ ।

पहाडको स्वभाव नै यस्तै त होला नि है ।

लुकामारी खेल्न रमाउने ।

उचाइ चढ्दै गएपछि बाटोहरू झनै कठिन रहेछ । ‘धर्म गौडो’ नाम गरिएको वरपर चार हात टेकेरै हिंड्नुपर्ने रहेछ । किंवदन्ती अनुसार जिन्दगीमा धर्म कमाएकाहरूले मात्र त्यो धर्मगौडो कटाउन सक्ने रहेछन् । लगातार तीन घन्टा ढुंगैढुङ्गा माथि बाटो बनाएर हिंडेपछि पोखरी पुगियो ।

उकालो चढिरहँदा भरे कसरी ओरालो झर्ने होला भन्ने चिन्ताले सताउँदै !

यात्रामा जाने भनेपछि मैले चार-पाँच वटा भ्लग हेरिसकेको थिएँ । भूकम्पपछि लगातार आइरहेको हिमपहिरोले ताल पुरिरहेको बारे जानकार भएकाले यात्रामा सँगै रहेका सहकर्मी साथीहरूलाई यो यथार्थ बताइसकेको थिएँ । वर्षौँ पहिले गएकाहरू विशाल तालको वर्णन गर्दै थिए ।

अन्ततः ताल देखेपछि डा.गुणराज लोहनीले भनिहाले – ‘ओहो, यो तहको दु:ख यो ताल हेर्न’!

कल्पना र यथार्थ बीचको गहिरो भिन्नता देखेर उनी खिन्न भए सायद अन्य टोली सदस्य जस्तै ।

वर्षौँ पहिले आइसक्नुभएका एक तीर्थालु भन्दै हुनुहुन्थ्यो – ‘अहिलेको भन्दा कम्तीमा चार गुणा ठूलो ताल थियो । यो देखिएको सबै ढुङ्गामा पानी थियो । यस्तै हो भने तेस्रोपटक आउँदा त ताल नै रहन्न कि क्या हो ।’

लमजुङतर्फबाट आउँदा बाटोमा बस्ने टहराहरू अनि सजिलो पदमार्ग भए तापनि गोरखाबाट आउँदा त्यस्तो नभएको तीर्थयात्रुले बताए ।

त्यो दिन गोठाले दाइको तीन घन्टा हाम्रो लागि ठ्याक्कै आठ घन्टा भएछ ।

एक बजेसम्म त पक्कै गोठ फर्किन्छौं भनेका हामीहरू दुई बजेसम्म माथि पोखरीमा नै थियौं । हाम्रो समूहले केही खाद्यान्न नबोके पनि डा.लोहनी सहितका टोलीसित पर्याप्त मात्रामा खानेकुरा रहेछ । सबै बसेर पेटपूजा गरियो ।

सिमसिम पानी पर्न थालिसकेकाले अब ओरालो झर्न हतार भो । अझ, चार हातखुट्टा टेकेर झर्नुपर्ने भएकाले कसरी झर्ने होला भन्ने चिन्ता उस्तै थियो । ६ घन्टाको ओरालो हिंडेपछि हामी गोठमा आइपुग्यौँ ।

बाटोमा भेटिएका यात्रुलाई औषधि उपचार गर्दै फर्किन परेकाले म टोलीभन्दा केही ढिला भएँ ।

पंचायतका नेता राजेश्वर देवकोटाले बनाइदिएको भग्नावशेष टहरा नै पोखरी छेउको सबैभन्दा नजिकको ओत लाग्ने ठाउँ रहेछ । यसको पुन:निर्माण हुन नसक्दा भक्तजनहरूलाई कठिनाइ भएको कुरा सुनियो ।

गोठमा आइपुग्नेबित्तिकै ‘३ घन्टा भन्या, हामीलाई त आठ घन्टा पो लाग्यो’ भन्दा गोठाले दाइले – ‘एक पाइला हिंड्दै दुइ पाइला बस्यो कि क्या हो’ भनेर जिस्काए ।

पानी परेर हामीले रात बिताएको गोठसहित हाम्रा लुगा पनि भिजेकाले हामीलाई अँगेना छेउमै सुत्ने व्यवस्था गोठाले दाइले मिलाइदिए ।

आहा,

कति मिठो निदाइएछ ।

भोलिपल्ट बिहान पाँच बजे हिंडेर हामी एक बजे हाम्रो प्रस्थानबिन्दु सिरानडाँडा नै आइपुग्यौँ ।

लगभग, ६० किलोमिटर हिंडिएछ अढाइ दिनमा ।

दूधपोखरीबाट फर्किएको रात डा.भट्टराईले फोन गर्दै आफू सामेल हुन नपाएकोमा दु:ख व्यक्त गर्दै भ्रमणबारे जानकारी लिए । मैले यात्राबारे वर्णन गर्दै सरोकारवाला निकायले ध्यान नपुर्याउने हो भने केही वर्षमा पोखरी नै लोप हुने खतरा रहेको उल्लेख गरें ।

‘अहिलेसम्म मान्छेहरू आस्थाको पछि लागेर आएका हुन् । जिन्दगी नै दाउमा राखेर मान्छेले कतिन्जेलसम्म धर्म गरिरहलान् र’ – व्यवस्थित वासस्थान र पोखरीको संरक्षणको महत्त्व बुझाउनेबित्तिकै डा.भट्टराईले सरोकारवाला निकायलाई झक्झकाउने गरी फेसबुक सन्देश समेत लेखेछन् ।

यसै वर्ष, नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर लमजुङ र गोरखाका केही गाउँपालिकाले दूधपोखरी हुँदै जोड्ने पदमार्ग बनाउने घोषणा समेत गरेका छन् ।

पुस्तौंदेखि धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यस पोखरीको संरक्षण गर्नसके गोरखाको उत्तरी क्षेत्रको पर्यटनमै प्रत्यक्ष प्रभाव पार्नेछ ।

              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?