+
+
फिल्म समीक्षा :

द रेड सुटकेस : आप्रवासी नेपाली कामदारको आशा, सपना र निराशाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १२:२६

‘उजाड भव्यता’को दृश्यसँगै फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’ले हामीलाई यस्तो संसारमा लैजान्छ जसका प्रत्येक फ्रेमले हामीमा मानवीय भावना र अनुभव सञ्चार गराउँछन् । ८० औं भेनिस फिल्म फेस्टिभलमा केही दिनअघि प्रदर्शन गरिएको यो नेपाली फिल्मले गहिरो विषय र उत्कृष्ट छायांकनसहित दर्शकलाई जोड्छ ।

विदेशबाट आएको प्याकेजलाई काठमाडौंबाट दुई दिन टाढाको पहाडी गाउँमा एक पिकअप ट्रकका चालकले लैजाँदै गरेको कथा फिल्मले पेश गर्छ । त्यहाँ एउटा रातो सुटकेस पनि छ जसलाई गाउँमा पुर्‍याउनुपर्छ ।

मनोहर नेपाली भूगोलको पृष्ठभूमिमा सेट गरिएको यो फिल्मले क्षणिक मानव जीवनमा अस्तित्व, लचिलोपन र अन्तरव्यैक्तिक सम्बन्धको खोजी गर्छ । देवकोटाको चलाखीपूर्ण निर्देशन र कथा वाचनको क्षमताले वरपरका प्राकृतिक तत्वमार्फत सरल तथा गहिरो कथालाई कालजयी र विश्वव्यापी अपील प्रदान गर्छ ।

प्राविधिक पक्षबाट कुरा गर्दा छायांकनको माध्यमबाट फिल्मले रमणीय जंगली र प्राकृतिक सौन्दर्यसँगै व्यक्तिको आन्तरिक सौन्दर्यलाई कैद गरेको छ । क्यामेराले मानवीय जीवनका भिन्नतालाई दर्शकको मन छुनेगरी चित्रण गरेको छ । फिल्मको ध्वनि डिजाइन अर्को सशक्त पक्ष हो । जसले वायुमण्डलको सूक्ष्म आवाजलाई प्रस्तुत गर्छ र फिल्मको भावनात्मक गहिराइ निर्माण भएको छ ।

फिल्मको कथा र पात्र सरल छन् । जसले मानवीय सम्बन्ध र जीवनलाई महत्वपूर्ण प्रतीकात्मक रुपमा दर्शाउँछन् । कथा वाचन अवधिभर ‘द रेड सुटकेस’ले जीवनको मूल्य, धारणा, भावना र अनुभवको प्रतिनिधित्व गर्छ ।

कथामा एक महत्वपूर्ण रुपकको प्रयोग गरिएको छ, जहाँ एक अपरिचित मान्छेले सुटकेसलाई दिनहुँ लगाएर कुनै गन्तव्यमा लैजान्छ । निर्देशकले यो रुपकमार्फत नदेखिएका रहस्यले भरिएको, जीवनको यात्रामा मानिसको मनोवैज्ञानिक सामान बोक्ने प्रतीकको रुपमा प्रयोग गरेका छन् ।

निर्देशक देवकोटाले विभिन्न संस्कृतिमा भावना र विचारलाई जनाउने शक्तिशाली रङ ‘रातो’लाई सचेततापूर्वक प्रयोग गरेका छन् । नेपाली परिप्रेक्ष्यमा रातो रङ उत्सव, पवित्रता र शुभताको प्रतीक हो । साथै डर, पीडा र जीवनको मौसम परिवर्तनको रङ पनि । फिल्ममा प्रयोग गरिएको रातो रङको सुटकेसले आनन्द, रमाइलो र पीडाजस्ता मानवीय अनुभव र जीवनका द्वैधतालाई समेटेको छ ।

फिल्ममा सडक बाटोभन्दा परको कुनै चीज हो । यो जीवनको बाटो हो । यो सडकले मान्छेका अनुभव, अवसर र जीवन भोगाइलाई बोक्छ । सडकमा चालकलाई यी कुराहरु सुरक्षितपूर्वक गन्तव्यमा पुर्‍याउने जिम्मा दिइएको छ । कुनै अपरिचित व्यक्तिको सामना बोकेर त्यसलाई डेलिभर गर्न पनि हामी जन्म, मृत्यु र विनाशको अनिश्चितता पार गर्दै अघि बढिरहेका छौं ।

कथामार्फत निर्देशक देवकोटाले सामान्य देखिने संघर्षमार्फत पहिचान, बसाइँसराइ र सामाजिक गतिशीलताजस्ता विश्वव्यापी मुद्दालाई पनि प्रस्तुत गरेका छन् । यसले हानिदेखि आशा, डरदेखि साहस र जोखिमदेखि लचिलोपनसम्मको मानवीय जीवनको विविधि आयामलाई पस्कन्छ । ‘बेयुल’ नामक दुर्गम गाउँको सडक छेउमा बस्ने ट्रक चालक र सेनाका अधिकृतबीचको संवादमा जीवनका विरोधाभासपूर्ण पक्षहरूको चरमोत्कर्ष राम्रोसँग देखाइएको छ ।

इडेनको मिथकबाट हामीले रेडियोदेखि रातो सुटकेससम्म ट्रक चालकको सपनामा स्याउले भरिएको देख्छौं । निर्देशकले हामीलाई ज्ञानको वर्जित फल खोज्दै नेपाली तीर्थयात्रामा निस्किएका व्यक्तिसँगको यात्रा गराएका छन् । तर नेपाल हामीले हेर्ने र आशा गरेको पवित्र भूमि होइन । यो ठाउँ जहाँ युवापुस्ता पलायन भएका छन् ।

वर्तमान नेपालको बसाइँसराइ र रेमिट्यान्सको समस्या र सामाजिक लागतलाई फिल्मले उजागर गर्नुका साथै देशको बढ्दो राजनीतिक र आर्थिक अनिश्चिततालाई चित्रण गरेको छ । ‘कथाले प्रवासी कामदारको जीवन कति ‘सस्तो’ र ‘खर्चयोग्य’ छ भनेर प्रकाश पार्छ । यद्यपि यसले लाखौं आप्रवासी कामदार र उनीहरूका परिवारको आशा, सपना र निराशा भन्छ । व्यक्तिगत रुपमा भन्दा यो फिल्म विश्वका लाखौं आप्रवासी कामदारलाई मेरो ट्रिब्युट हो,’ निर्देशक भन्छन् ।

निर्देशक देवकोटाको परिपक्व कथा वाचन फिल्मको आत्मा बनेको छ । रहस्यपूर्ण घटनाक्रम विकास गर्दै कथा बिस्तारै अघि बढ्छ र दर्शकलाई अन्त्यसम्म बाँधेर राख्छ । व्यक्तिगत क्षति र चुनौतीसँग लड्न सक्ने मानवीय क्षमतालाई प्रकाश पार्दै निर्देशकले कथामा मौनताको गज्जब प्रयोग गरेका छन् । सौगात मल्लले चित्रण गरेको शीर्ष भूमिकाले दर्शकमा भावनात्मक तीव्रता पैदा गर्छ । उनको संयमित अभिनय, मौनता र कठोरतासँग दर्शकले समानुभूति प्राप्त गर्न सक्छन् ।

मनमोहक दृश्यभित्र सेट गरिएको ‘रातो सुटकेस’ले गहिरो मानवीय कथाको माध्यमबाट एक महत्वपूर्ण प्रभाव उत्पन्न गर्छ । यो एक कलात्मक ऐना हो जसले जीवनको अप्रत्याशित यात्राको क्रममा सामना गर्नुपर्ने संघर्ष, लचिलोपन र आशालाई प्रतिविम्बित गर्दछ । यो फिल्म अन्तर्राष्ट्रिय सिनेमाको प्रतिस्पर्धात्मक परिदृश्यमा एक योग्य दाबेदार हो र ८० औं भेनिस फिल्म फेस्टिभलको अभिलेखको एक रत्न हो ।

(८० औं भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘रातो सुटकेस’को समीक्षा ‘युनिभर्सल सिनेमा’बाट अनुवाद गरिएको हो । यो समीक्षालाई बिता हबिबीले लेखेकी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?