+
+

मुगु पुग्यो राष्ट्रिय प्रसारणलाइनको बिजुली

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १२:३९

२५ भदौ, काठमाडौं । मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पुर्‍याएको हो ।

प्राधिकरणले आइतबारदेखि गमगढीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ ।

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत पुगेको छ ।

अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारणलाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारणलाइनमा पुर्‍याउन ठेक्का सम्झौता सम्पन्न भई सर्भे भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साना जलविद्युत समय समयमा बन्द हुँदा मुगुमा हुने विद्युत आपूर्तिको समस्या राष्ट्रिय प्रसारणलाइन पुगेपछि समाधान हुने बताए । उनले राष्ट्रिय प्रसारणलाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने बताए ।

अहिले मुगुमा प्राधिकरणका ३ हजार ५ सय घरधुरी ग्राहक छन् ।

गत वर्षको असोजमा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत आपूर्ति दिएको थियो ।

भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्‍याएको थियो । बाढीपहिरोबाट विद्युत गृहको सबस्टेसनका संरचनाहरुमा पनि क्षति पुगेको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत गृह सञ्चालनमा ल्याइएको थियो ।

मुगुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?