२७ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उनले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताए ।
अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शकाको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।
निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उनले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए । साथै उनले टिकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग आग्रह गरे ।
उनले भने, ‘हिजो मात्रै नयाँ र पुनर्नियुक्त भएका गृहमन्त्री दुई तीनवटा विषय मध्येमा एउटा विषय राख्नुभयो– राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ । त्यसको हामी स्वागत गर्छौं । यो छानबिन एकदमै सजिलो हिसाबले यहाँका केही मान्छेहरूलाई राखेर अझ त्यसलाई छुट दिने हिसाबले छानबिन गरियो भने यसको कुनै अर्थ छैन । हामीले सुनेका छौँ, यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू शक्ति केन्द्रहरूको पनि यहाँ भूमिका छ । तसर्थ अब अन्तर्राष्ट्रिय विज्ञहरूलाई पनि राखेर छानबिन होस् । किन यो दरबार हत्याकाण्ड मात्रै ? मदन भण्डारी हत्याको पनि छानबिन होस् ।’
प्रतिक्रिया 4