+
+
Shares

सुकुमवासीबारे कुलमान : हामीले नि:शुल्क बिजुली दियौं, सरकारले घर भत्कायो

सुकुमवासी समस्याको मानवीय र कानूनी हिसाबले व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी बस्ती हटाएकामा सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
  • घिसिङले मानवीय र कानूनी दृष्टिकोणविना सुकुमवासी बस्ती भत्काउनु गलत भएको बताए ।
  • विद्युत् प्राधिकरणमा हुँदा आफूले नागरिकताकै भरमा सुकुमवासी बस्तीमा निःशुल्क मिटर वितरण गरी बिजुली पुर्‍याएको उनले उल्लेख गरे ।

२२ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासीको बस्ती हटाएका सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले सुकुमवासीलाई विस्थापित गरिरहँदा आफूले बिजुली दिएको बताएका हुन् ।

‘सुकुमवासी समस्या उहाँहरूले जुन किसिमले सम्बोधन गर्न खोज्नुभयो त्यो मानवीय र कानूनी दृष्टिकोणले त्यो ठीक होइन भनेर हामीले विरोध गरेका छौं,’ उनले भने ।

देशमा १०/१२ लाख सुकुमवासी रहेको बताउँदै उनले सुकुमवासीलाई तत्कालीन समयमा विद्युत् दिनुहुँदैन भनिरहँदा आफूले निःशुल्क मिटर दिएको बताए ।

‘म विद्युत् प्राधिकरणमा आएपछि एउटा नागरिकता भए हरेक नेपालीले बिजुली बाल्न पाउनुपर्छ भनेर हामीले मिटर निःशुल्क दिएर विद्युत् दियौं,’ उनले भने, ‘सुकुमवासीका बस्तीबस्तीमा हामीले निःशुल्क विद्युत बाल्यौं । अहिले सरकारले एक रातमा जानकारी दिएर भोलिपल्ट घर भत्काइएको छ । यो कुनैपनि हिसाबले ठीक कुरा होइन ।’

सुकुमवासी समस्याको मानवीय र कानुनी हिसाबले व्यवस्थापन हुनुपर्ने उनको भनाइ छ । देशमा सुकुमवासी समस्या मात्र नभई ऐलानी जग्गाको पनि ठूलो समस्या रहेको उनले बताए ।

‘जथाभावी घर भत्काउने र विध्वंस गर्ने मात्रै सरकारको काम हुन्न । निर्माण हुनुपर्छ । यो देशमा जहिले पनि विध्वंस मात्रै भयो’ उनले थपे ।

विगतमा १० वर्षे द्वन्द्व र पछिल्लो समय जेनजी आन्दोलनका बेला पनि धेरै ठूलो विध्वंस भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?