+
+

सुनकाण्डमा मुछिएका नासुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार सर्वोच्चमा

१४ करोड बिगो मागदावी गरिएकोमा २ करोड २८ लाखमात्रै अवैध ठहर भएकोमा अख्तियारको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते २०:२३

२५ भदौ, काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

विमानस्थल भन्सार कार्यालयमा रहँदा अवैध आर्जन गरेको दाबी गर्दै अख्तियारले २०७५ माघमा एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ विरुद्ध साढे १४ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले श्रेष्ठले २ करोड २८ लाख रुपैयाँ मात्रै गैरकानूनी आर्जन गरेको र अरु करिव १२ करोड रुपैयाँ अवैध आर्जन भन्न नमिल्ने ठहर गरेको थियो । विशेष अदालतको त्यही फैसला विरुद्ध अख्तियार सर्वोच्च अदालत गएको हो ।

सरकारी सेवामा रहँदा श्रेष्ठको वैध आम्दानी ९ करोड ६३ लाख रुपैयाँमात्र हुनेमा १९ करोड ७४ लाख रुपैयाँ सम्पत्ति जोडेको भेटिएको अख्तियारको दाबी थियो । १० करोड ११ लाख रुपैयाँको स्रोत नखुलेको र ४ लाख ४९ हजार रुपैया त्यही स्रोत नखुलेको रकमबाट थपेको भन्दै अख्तियारले उनीमाथि १४ करोड ६१ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र डा. खुसीप्रसाद थारुको इजलासले श्यामकृष्णको परिवारले १६ करोड ५३ लाख रुपैयाँ वैधानिक रुपमा कमाएको ठहर गरेको थियो ।

उनीहरुसँग १८ करोड ८२ लाख रुपैयाँको सम्पत्ति भेटिएको भन्दै विशेष अदालतले २ करोड २८ लाख रुपैयाँ मात्रै भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरेको थियो । विशेष अदालतले उनलाई १५ महिना कैद सजायको फैसला समेत गरेको थियो ।

आफूले मागदाबी गरेको बिगो भन्दा धेरै कम मात्र ठहर गरेको भन्दै अख्तियार सर्वोच्च अदालत गएको हो । श्यामकृष्णसँगै उनका दुई पत्नी, बाबुआमा, भाइबुहारी लगायतको नाममा रहेको रकम भ्रष्टाचारबाट आर्जन गरेको नभएको विशेष अदालतको फैसलामा समेत अख्तियारले प्रश्न उठाएको छ ।

२१ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईबाट ल्याइएको साढे ३३ किलो सुन बरामद भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भन्सारका नासु श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी त्यतिबेला सामान चेकजाँच गर्ने एक्सरे मेसिन अपरेटर थिए ।

अख्तियारको दाबी अनुसार, घटनाको समय आसपासमा श्यामकृष्णकी श्रीमतीको खातामा अस्वभाविक रुपमा रकम जम्मा भएको देखिएको थियो । २०७३ सालमा उनको श्रीमतीको खातामा २ करोड २ लाख रुपैयाँ जम्मा भएको थियो । भक्तपुर र ललितपुरमा समेत घरजग्गा किनेका उनले थिमीको मध्यपुर अस्पतालमा लगानी गरेका थिए ।

भ्रष्टाचार मुद्धा दायर भएपछि उनी लगायत परिवारका सदस्यहरुले त्यो अस्पतालमा काम गरेको र तलब पाएको दावी गरेका थिए । अस्पतालले पठाएको पत्रका आधारमा विशेष अदालतले उनीहरुको आय दावीलाई मान्यता दिएको थियो । आफूले खेतीकिसानी समेत गर्ने भन्दै उनले हरेक वर्ष कृषिबाट पनि आम्दानी हुने भन्दै आफूले जोडेको सम्पत्ति वैध रहेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?