+
+
६० किलो सुन प्रकरण :

दावासँग सम्बन्ध देखिएका हाई-प्रोफाइललाई प्रतिवादी नबनाइने

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ २५ गते २२:०६

२५ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको मुख्य योजनाकार चिनियाँ गिरोह भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान निष्कर्षमा पुर्‍याएको छ ।

सुन तस्करी र संगठित अपराधको कसूरमा अनुसन्धान सकेर सीआईबीले मंगलबार वा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिललाई बुझाउन सीआईबीले तयार गरेको रायमा सुन तस्करी प्रकरणका मुख्य योजनाकार चिनियाँ नागरिकको गिरोहलाई मानिएको छ ।

नेपालमा व्यवस्थापनको जिम्मेवारी भने तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङले लिएको सीआईबीका अनुसन्धान अधिकृतहरु बताउँछन् । ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहित १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । त्यसबेला भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका थिए ।

अर्को दिन रेडी ट्रडका सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, तिब्बती मुलका भारतीय नागरिक थाप्तेन छिरिङ लगायत पक्राउ परेका थिए । विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराध पनि आकर्षित हुने भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो ।

सीआईबीले बरामद सुन जोख्न पठाउँदा ६० किलो सुन मात्र ब्रेक प्याडमा रहेको पाइएको थियो ।

दावाको हाई–प्रोफाइल कनेक्सन

प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध देखिएको थियो । रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् दावाले त्यो सम्बन्धको दुरुपयोग गरेर गैरकानूनी गतिविधि गरिरहेको खुलेको छ ।

उनले नेपालमा बसेर अनलाइन जुवा, अवैध कल सेन्टर लगायतका गतिविधि गरिरहेको पाइएको छ । उच्च राजनीतिक नेतृत्व र प्रहरी प्रशासनसँग सम्बन्ध भएका कारण उनी यसअघि जोगिँदै आएका थिए ।

७ पुस २०७६ मा सीआईबीले नेपालमा बसेर आपराधिक क्रियाकलापमा संलग्न चिनियाँ नागरिकको समूहविरुद्ध अपरेशन चलाएको थियो । उपत्यकाका विभिन्न ठाउँका एकसाथ अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको थियो ।

नेपालस्थित चिनियाँ दूतावाससँगको समन्वयमा चलाइएको अपरेशनमा दावा लामा पनि खोजी सूचीमा थिए । प्रहरी तत्कालीन प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका कारण उनी जोेगिएका थिए । त्यसबेला माओवादी नेता वर्षमान पुन, तत्कालीन उपरराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लगायतसँग उनले खिचाएको फोटो सार्वजनिक भएको थियो ।

सुन प्रकरणमा उनी अनुसन्धानको दायरामा तानिएपछि त्यो सम्बन्धको चर्चा बाहिर आयो । त्यसक्रममा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालदेखि धिरजप्रताप सिंहसम्म जोडिए । सिंहको दाबीमा, दावाले उनलाई सीआईबी प्रमुख भएका बेला चिनियाँ नागरिकका गतिविधिसहित विभिन्न विषयमा सुराकी दिने गरेका थिए ।

अनुसन्धान चलिरहेका बेला अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको पनि दावासँग सम्बन्ध रहेको खुल्यो । सीआईबीले अधिकारी र भण्डारी दुवैसँग बयान लिएपनि प्रतिवादी बनाउने गरी आधार नदेखिएको बताएको छ ।

ब्यूरोले दावासँग सम्बन्ध देखिएको भन्दै पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग पनि बयान लिएको छ । उनी पनि यसमा प्रतिवादी बन्ने छैनन् ।

भारतमा पक्राउ परेपछि नेपालमार्फत तस्करी

सीआईबीले पक्राउ परेका विदेशी नागरिकमध्ये सौतेन भनिने दिङ सेग फा, अली भनिने ली वेन, स्टेप्स र रोजर भनिने ली नेनकाई, एलेक्स भनिने याओ पुचिङ र तिब्बती मुलकका भारतीय नागरिक टासी भनिने थुप्तेन छिरिङलाई मुख्य आरोपी मानेको छ ।

नेपाली पक्षको व्यवस्थापनको जिम्मा भने दावा छिरिङले गरेको भनिएको छ । स्रोतका अनुसार हङकङबाट ब्रेक प्याड, खानेपानीको धारा, दाह्री काट्ने मेसिन लगायतभित्र राखेर सुन आउने गरेको थियो । यसमा विमानस्थल भन्सार कार्यालयका केही कर्मचारी समेतको मिलेमतोमा सामान भन्सार जाँच पार गराउने गरेको पाइएको सीआईबी स्रोत बताउँछ ।

सीआईबीले कर्मचारीको पनि संलग्नता देखिएको भन्दै २३ भदौमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको छ । भन्सारका थप केही अधिकृतलाई शंकाको घेरामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार, भन्सारसम्म आइपुगेपछि बाहिर निकालिने सुन ओसारपसारका लागि भाडाका गाडीहरु प्रयोग गर्ने गरिएको पाइएको छ । ६० किलो सुन भने ट्याक्सीमा ल्याएको पाइएको थियो । ‘यद्यपि चिनियाँ तस्करहरुको गिरोहले भाडामा लिएको अरु ३ वटा गाडीमार्फत पनि सुन आसार्ने गरेको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तिनै गाडीको मुभमेन्टलाई ट्याक गर्दै जाँदा उपत्यकाका विभिन्न स्थानमा रहेका गोदाम फेला परेको थियो ।’

राजश्व अनुसन्धान विभागले १३ साउनमै टोखामा सुनलाई पगालेर रिसाइज गर्ने फ्याक्ट्री फेला पारेको थियो । ११ साउनमा लाजिम्पाटस्थित एक घरको फ्याल्टमा छापा मारिएको थियो भने १० साउनमा सोह्रखुट्टेस्थित तस्कर समूहले भाडामा लिएको एक घरमा छापा मारेर सुन गाल्ने मेसिनसहित सामग्रीहरु बरामद गरेको थियो । ३ साउनमा सीआईबीले बालुवाटारस्थित गोदाममा छापा मारेको थियो । त्यसक्रममा ब्रेक प्याडहरु बरामद भएपछि सुन भने भेटिएन ।

सीआईबीले अनुसन्धानका क्रममा सुन ल्याइएको हङकङ र सुनको गन्तव्य मुलुक भारतमा पनि टोली पठाएको थियो । हङकङमा ब्यूरोका एसएसपी दिनेश आचार्य गएका थिए भने भारतमा प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी गएका थिए ।

ब्यूरोका एक अधिकृतका अनुसार, सीआईबीले कानूनी सहायतासम्बन्धी सन्धि नहुँदा हङकङबाट पर्याप्त सहयोग पाएन । भारतमा भने अनुसन्धान अधिकृत तहको सम्बन्धका कारण प्रहरीले सहयोग पाउने गरेको छ । स्रोतका अनुसार, भारत गएको टोलीले दावाका मुख्य सहयोगी टोखाका सुमन खरेललाई पक्राउ गरेर ल्याएको थियो ।

खरेलमार्फत यसमा सुन चाँदी व्यवसायी महासंघ, बाराका अध्यक्ष शिवकुमार सर्राफ पनि जोडिएका थिए । हाल उनी पनि सीआईबी हिरासतमा छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, नेपालमा पक्राउ परेका चिनियाँ नागरिकमध्ये एलेक्स भनिने चिनियाँ नागरिक याओ पुचेङ १९ सेप्टेम्बर २०१९ मा भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको भेटिएको छ ।

हङकङबाट एयर इण्डियाको विमानमार्फत भारत गएका उनको साथमा ५ किलो सुन बरामद भएको थियो । अली भनिने ली वेन सुङ र जेक्विङ लिन पनि भारतमा पक्राउ परेर छुटेका व्यक्ति भएको विवरण प्रहरीले भारतीय सुरक्षा स्रोतबाट प्राप्त गरेको छ ।

‘यो गिरोहका व्यक्तिहरुको सम्बन्ध भारत र हङकङमा मात्र सीमित छैन’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ल्याटिन अमेरिकी मुलुकहरु पनि नियमित आउजाउ गरेको देखिएको छ, त्यसैले इन्टरपोलमार्फत पर्पल नोटिस जारी गरिएको छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, पुराना घटनाक्रमहरुसँग जोड्दा चिनियाँ गिरोह भारतमा पक्राउ परेपछि नेपाली मार्ग प्रयोग गरेको हुनसक्ने देखिएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?