+
+

जब नेम्वाङले भन्नुभयो  : म त सोबिताको प्रस्तावक बन्न आएको

मेरा आवेगपूर्ण कुरा धैर्यपूर्वक सुनेपछि उहाँ भन्नुहुन्थ्यो, ‘माननीयको सबै कुरा मैले सुनें । विनम्रताले संसार जितिन्छ । जति मनमा चित्त दुखे पनि, रिस उठे पनि संसार जित्ने विनम्रताले नै हो । माननीय सोबिताले यसरी काम गर्न सक्नुहुन्छ ।’ 

सोबिता गौतम सोबिता गौतम
२०८० भदौ २६ गते २३:३८

राजनीतिमा आउने हामी कानुनका विद्यार्थीका लागि सुवास नेम्वाङ आदर्श हुनुहुन्थ्यो । उहाँ पनि कानुनी पृष्ठभूमिबाट सक्रिय राजनीतिमा आउनुभएको थियो । पृष्ठभूमिको समानताले हामीमा उहाँप्रति छुट्टै सम्मान र विश्वासको भावना हुन भइहाल्यो ।

जब म प्रतिनिधिसभा सदस्य निर्वाचित भएँ, प्रतिनिधिसभाको उपसभामुखमा मेरो उम्मेदवारी रहने चर्चा सुरु भयो । हुन त संसद भवनमा त्यसअघि पनि अप्रत्यक्ष रूपमा भेटघाट भइरहेका थिए । उहाँसँग यादगार हुनेगरी पहिलो संवाद उपसभामुखमा उम्मेदवारी दिने सन्दर्भमा भयो । म कानुन पढेको विद्यार्थी भएकोले पनि एकप्रकारको भावनात्मक निकटता हुँदोरहेछ ।

उहाँले मेरो उम्मेदवारीमा प्रस्तावक बन्ने भन्नुभयो । तर बीचमा केही राजनीतिक परिवर्तन भयो । उम्मेदवार म नभएर हाम्रो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट इन्दिरा रानामगर हुनुभयो । उहाँ मेरो प्रस्तावक बन्न सही गर्न आउनेबेलासम्म उम्मेदवार म नै हो भन्ने सोच्नुभएको रहेछ ।

त्यसअघि उहाँले मलाई व्यक्तिगत रूपमा चिन्नुभएको थिएन । म उहाँसामु गएर परिचय दिएँ । उहाँले छक्क पर्दै सोध्नुभयो– ‘म आफैं शोबिता माननीयको प्रस्तावक बस्न आएको तर यहाँ आइपुग्दासम्म साथीहरू अरूकै नाम लिन्छन् त ?’

सोबिता गौतम

कहाँ पढेको, कसको विद्यार्थी लगायतका प्रश्न सोध्नुभयो । हाम्रो कानुनी समाज सानो छ । एकअर्काप्रति रुचि हुन्छ । उहाँले राजनीतिमा युवा पुस्ता आएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्ना अनुभव साट्नुभयो ।

उहाँ कुनै सन्देश दिनुपर्‍यो भने अप्रत्यक्ष सञ्चार अर्थात् घुमाएर कुरा गर्नुहुन्थ्यो । उहाँले पहिलो संविधानसभापछि मा‌ओवादी अध्यक्ष प्रचण्डसँगको संवाद सुनाउनुभयो । पहिलो संविधानसभामा माओवादी सर्वाधिक ठूलो पार्टी बन्यो तर दोस्रोमा माओवादीको आकार निकै खुम्चियो । यसै प्रसंगमा प्रचण्डलाई उहाँले भन्नुभएको रहेछ, ‘जनमतलाई थामिखान सक्नुपर्छ । सकिएन भने अझै साँघुरिंदै जानुहुन्छ । दोस्रोपटकको चुनावमा प्राप्त मत र विश्वासलाई थामिखान सक्नुहोस् ।’

उहाँले हामी एउटा उभारसहित आएको शक्तिलाई उस्तै सन्देश दिन खोज्नुभएको मैले बुझें । उहाँले सन्देश दिनुभयो, ‘जनताले दिएको मत र विश्वासलाई थामिखान सक्नुहोस् ।’

हामीले त्यही दिन फोन नम्बर साटासाट गरेका थियौं ।

संक्रमणकालीन न्यायको विषय पेचिलो बनिरहेको थियो । हामी दुवैजना कानुन समितिमा पर्‍यौं । टीआरसीको विषयमा हामी सबै दलका साथीहरू भेटघाट र संवाद गरिरहन्थ्यौं । यहीक्रममा एकपटक उहाँसँग बाक्लो संवाद भयो ।

एकदिन संसद भवनको लबीमा हाम्रो लामो गफ भयो । मैले पुराना राजनीतिक घटनाक्रम बारे बुझ्न इतिहास कोट्याएर सोध्थें । ‘त्यतिबेला के भएको थियो, फलानो घटनामा के कसो भएको थियो आदि ।’

उहाँको जवाफ दिने तरिका अनौठो थियो । उहाँ घुमाएर कुरा राख्नुहुन्थ्यो । मैले भनें, ‘हामी नयाँ पुस्ता आएका छौं र तपाईंहरूलाई यसरी इतिहासबारे कोट्याइकोट्याई सोध्ने मान्छे छन् ।’

एक पटक कुनै प्रसंगमा देशमा युवाको जनसंख्या धेरै छ । युवाका मुद्दाहरू/ एजेण्डा पनि धेरै आए । सबै नयाँ विषय बुझ्न र विष्लेषण गर्न पनि कठिन हुन्छ । समानुपातिक प्रतिनिधित्वको कुरा गर्ने हो भने युवाकेन्द्रित मुद्दा उठाउन उमेरगत जनसंख्याको आधारमा सदनमा पनी युवाको उपस्थित हुनेगरी हाम्रो निर्वाचन कानूनमा संसोधन गर्नु पर्छ भन्दा ‘’तपाईहरु उठाउनुस् न म सहयोग गरिहाल्छु नि भनेर‘ उहाँले हाँसीहाँसी भन्नु भएको थियो ।

शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र नेपालका महत्वपूर्ण राजनीतिक घटनाक्रममा उहाँ सधैं केन्द्रभागमा रहनुभयो । राजनीतिक उतारचढावका घटनाक्रम बारेमा उहाँको संवादबाट मैले धेरै कुरा थाहा पाएँ ।

संविधान  निर्माण हुन नदिन कहाँबाट के के चलखेल भए, कति चुनौती पाखा लगाउँदै संविधान बनाइयो भनेर उहाँले आफूले पेलेको पापडबारे बताउनुहुन्थ्यो । ‘म जुनसुकै हालतमा पनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा थिएँ’ भन्नुहुन्थ्यो । त्यसो त, उहाँ दुई कार्यकाल नै संविधानसभा अध्यक्ष बन्नुभयो । यो उहाँको प्रमुख जिम्मेवारी थियो । उहाँले संविधान निर्माणक्रमका राजनीतिक/कुटनीतिक कसरतका फेहरिस्त सुनाउनुहुन्थ्यो ।

राजनीतिमा फरक मत हुन्छन्, फरक विश्वास हुन्छन् । सबै पक्षलाई विमतिका बावजुद पनि एक ठाउँमा ल्याएर संवादको वातावरण बनाउनु चुनौतीपूर्ण काम हो । तर उहाँले एउटा कुशल व्यवस्थापक/नेताका रूपमा प्रभावकारी भूमिका खेल्नुभएको छ । उहाँको अभावमा राजनीतिक सहमति निर्माणमा केही समय राजनीतिले अप्ठ्यारा झेल्नेछ । पछिल्ला राजनीतिक/संसदीय घटनाक्रममा पनि उहाँले खेल्नुभएको अभिभावकीय भूमिका र मिलाउनुभएको संवादको वातावरण राजनीतिमा सक्रिय नेतृत्व पंक्ति जानकार नै छ ।

उहाँ संसदमा प्राय सँधै र पुरा समय उपस्थित हुनुहुन्थ्यो । मेरो बोल्ने पालो आएपछि उहाँ कतै बाहिर भए पनी बैठक कक्षमै आएर लाईभ हेर्नुहुन्थ्यो र बाहिर निस्किएर प्रतिक्रिया दिनुहुन्थ्यो। यसलाई मैले उहाँले मलाई ग्रुमिं गर्न खोज्नुभएको ठान्थेँ । उहाँसँग भेटघाट पनी बाक्लै हुन्थ्यो ।

पार्टीगत कुरामा म कतिपय सन्दर्भमा युवा आवेगसहित आलोचनात्मक चेतसहित कुरा राख्थें । असमति प्रकट गर्थें । संसद  निरन्तर अवरुद्ध भइराख्दा तपाईंहरूले यसरी संसद कब्जा गर्न मिल्छ भनेर प्रश्न गर्थें । उहाँको अभिभावकीय भूमिका र सहज पहुँचले पनि हामीलाई चित्त नबुझेका कुरा मज्जाले भन्न सक्ने वातावरण थियो । एकजना अभिभावकका रूपमा विश्वासको सम्बन्धले पनि यी सबै कुरा सम्भव हुन्थ्यो ।

संसदीय गतिविधि लगायतका सन्दर्भमा मैले प्रतिवाद गर्दा उहाँले सहज तरिकाले सुन्नुहुन्थ्यो । म विधिको शासनको पक्षमा तर्क गर्थें । त्यसैले पनि उहाँले सहजै सुन्नुहुन्थ्यो होला ।

उहाँले सहज रूपमा यो राजनीतिक विषयवस्तु हो, हाम्रो पार्टीमा संवाद हुँदैछ । मिलाउँदैछौं भन्नुहुन्थ्यो । कहिलेकाँही त उहाँ भन्नुहुन्थ्यो, ‘तपाईंको अहसमतिबारे तपाईंको नामै उल्लेख गरेर मैले हाम्रो पार्टीमा छलफल गरें र समाधान निकाल्यौं पनि’ भन्नुहुन्थ्यो ।

मैले प्रतिवाद गरेका विषयमा उहाँले प्रायशः सहमति नै जनाउनुभयो । मिटर ब्याज पीडित सम्बन्धी विधेयकको सन्दर्भमा अन्तिम दिन संसदमा पेश हुँदा संसद अवरुद्ध हुने अवस्था आयो । यसमा रास्वपाको फरक मत थियो ।

हामीले संसदमा बोल्न पनि पाएनौं । हामीले कम्तिमा विधेयकलाई अगाडि बढाएर मात्र संसद अवरोध गरौं भन्ने मत राखेका थियौं । एमालेको अवरोधले विधेयक प्रभावित भयो ।

प्रधानमन्त्रीको अरु विषयको अभिव्यक्तिलाई लिएर मिटर ब्याज पीडितको विधेयक नरोकौं भन्ने हाम्रो मत मैले उहाँसँग व्यक्तिगत रूपमा पनि राखें । अलि कडा रूपमै प्रस्तुत भएँ होला । तैपनि उहाँले मज्जाले सुन्नुभयो ।

‘संसदीय अभ्यासमा एमाले र तपाईं जत्तिको नेता भएको पार्टीले किन यस्तो गैरजिम्मेवार काम गरेको ? राजनीतिमा जनतालाई यसरी मिच्न मिल्छ ?’ मैले यसरी आवेगात्मक प्रश्न राखेको थिएँ एकजना अभिभावकलाई चित्त दुखाई र गुनासोको रूपमा । मैले लगभग १० मिनेटजति एक्लै बोलेर उहाँसँग गुनासो गरें ।

तपाईंहरू प्रमुख प्रतिपक्ष भएर संसद नै कब्जा गर्ने ? अरू प्रतिपक्षलाई बन्धक बनाउने ? भन्ने मेरो गुनासो थियो ।

अर्को संसदमा एमालेसँग रास्वपासँग सहकार्य गर्‍यो । उक्त विधेयक अगाडि बढाउनै पर्ने प्रस्ताव हाम्रो पार्टी सभापतिले संसदमा राख्नुभयो । त्यसपछि संसदमा हामीलाई बोल्न दिइयो । अवरुद्ध गर्नुभन्दा अघि फरक मत राख्न पाउने वातावरण पनि बन्यो ।

मेरो कतिपय आवाज आवेगपूर्ण पनि सुनिन्थ्यो होला । मलाई पछि उहाँले स्नेहपूर्वक भन्नुहुन्थ्यो, ‘माननीयको सबै कुरा मैले सुनें । हाँसेर संसार जित्न सकिन्छ, विनम्रताले संसार जितिन्छ । जति मनमा चित्त दुखे पनि रिस उठे पनि संसार जित्ने विनम्रताले नै हो । माननीय सोबिताले यसरी काम गर्न सक्नहुन्छ ।’ उहाँ सुझाव भन्ने शब्द प्रयोग नगरी सुझाव दिनुहुन्थ्यो ।

मैले असहमति राखेको विषयमा पार्टीभित्र समाधान निस्केपछि उहाँले सन्देश पठाउनुहुन्थ्यो, ‘आज त सबै पार्टीलाई बोल्न दिएर संसद अवरुद्ध गरियो, कुरा बुझियो होला नि ?’

उहाँले प्रत्यक्ष अप्रत्यक्ष रूपमा मलाई धेरै ग्रुमिङ गर्नुभएको अनुभूति छ । अभिभावकीय स्नेह र सद्भाव प्रदान गर्नुभएको छ । उहाँ फरक पार्टीमा हुनुभए पनि टाढा अनुभूति गर्नुपरेन । उहाँ मेरो असल राजनीतिक अभिभावक हुनुहुन्थ्यो ।

केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा मैले अनलाइनखबरमा लेखेको थिएँ । त्यसमा पनि उहाँको र मेरो समान धारणा थियो । सुरुमा यसबारे म उहाँसँगै गुनासो गर्न गएको थिएँ कि यो के गरेको हो ? तपाईंहरूले पहिलादेखि नै यस्तै अभ्यास गर्दै आउनुभएको थियो र ?

मैले यसरी प्रश्न गर्दा उहाँले भन्नुहुन्थ्यो, ‘जेन्युन कुरा उठाउनुभएको छ सोबिता माननीयले ।’ उहाँले अरु धेरै शीर्ष नेताहरूसँग पनि यसबारे कुरा गर्नुभएको थियो र भन्नु भएको थियो “ हिजो जानि नजानी जे गरियो गरियो आज गल्ती हो भन्ने थाहा पाईसके पछि दलहरु सच्चिने बाटो तिर लाग्न पर्छ ।”

जननिर्वाचित सांसद अधिवक्ताको रूपमा अदालतमा बहस गर्न जानु हुन्छ कि हुँदैन भन्ने बारे विवाद छ । ‍उहाँले धारा २९२ सम्झाउँदै म अदालतमा बहस गर्न गएकोमा उहाँले भेटेरै बधाइ दिनुभएको थियो । उक्त धारामा संसदीय संयुक्त समितिमा भएको  सदस्यले मात्रै अदालतमा त्यो पनि सर्वोच्च अदालतमा बहस गर्न मिल्दैन भन्ने व्यवस्था छ ।

उहाँले भन्नुहुन्थ्यो, ‘धारा २९२ मा ती प्रावधान यत्तिकै राखिएको होइन । हामी अदालतमा गएर मज्जाले बहस गर्न सक्छौं ।’

हरेक राजनीतिक कानुनी गाँठाहरूमा उहाँलाई म अभिभावकका रूपमा सम्झन्थें । उहाँले आफ्ना छोराछोरीलाई जस्तै स्नेहसहित दिशानिर्देश गर्नुहुन्थ्यो । सल्लाह सुझाव दिनुहुन्थ्यो ।

पछिल्लो समय म बंगलादेश गएको थिएँ । फर्कंदै गर्दा उहाँ पूर्वी नेपालको यात्रामा हुनुहुन्थ्यो । हामी म्यासेजमार्फत् संवादमै थियौं । मैलै वातावरणीय मुद्दामा हामीले बंगलादेशमा अगाडि सारेको एजेन्डा र विचार उहाँलाई सुनाएँ । अस्तिको दिन मात्र मेरो उहाँसँग लगभग १४ मिनेट संवाद भएको थियो ।

नेपालमा पनि वातावरण सम्बन्धी सम्मेलन गर्नुपर्छ । यो मुद्दामा हामीले लिनुपर्ने अडानबारे भनें । उहाँले भन्नुभयो, ‘विकसित राष्ट्रहरूले प्रदूषण गर्नुसम्म गरे तर समस्या हामीले व्यहोर्नुपरेको छ । यो मुद्दामा तपाईं युवा पुस्ताले नेतृत्व लिनुपर्छ ।’

उहाँले छिट्टै भेट्ने कुरा गर्नुभएको थियो । अब त्यो ‘छिट्टो’ समय अनन्त लम्बेतान बनेको छ । हामीले उहाँलाई भौतिक रूपमा कहिल्यै भेट्न पाउने छैनौं ।

प्रतिनिधिसभा सदस्य गौतमसँग कुराकानीमा आधारित

लेखकको बारेमा
सोबिता गौतम

गौतम प्रतिनिधिसभा सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?