+
+

गीत सार्वजनिक गर्दै सुनिलले भने- अनमोल छोराजस्तै, भुवनले विवाद मिलाउन सघाए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते ११:५३

काठमाडौं । फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’को नयाँ गीत ‘झिझिया’ मंगलबार सार्वजनिक गरियो । उक्त समारोहमा निर्माता सुनिलकुमार थापाले सुरुमै प्रश्नको सामना गर्नुपर्‍यो- अनमोल केसीलाई फिल्ममा नलिएकाले कतै भुवन केसीले सेन्सर सिफारिस रोकेका त होइनन् ?

‘एक भगवत् र एक गीता (सामाजिक कथा)का निर्माता थापाको जवाफ थियो, ‘अनमोल मेरो परिवारको सदस्य हो । मेरो छोराजस्तै हो । उसले मेरो प्रोडक्सनबाट दुईवटा चलचित्र गरिसक्यो । आउने दिनमा पनि हामीसँगै हुनेछौं । यी सब हल्ला मात्र हुन् । भुवन केसीले त विवाद मिलाउन सहयोग गर्नुभएको छ ।’

भुवनप्रति आफूहरुको कुनै गुनासो नरहेको सुनिलले बताए । ‘कुरा रह्यो अनमोलको । उसलाई हाम्रो चलचित्रको कहानी सबै थाहा छ । उसलाई सुरुमै फिल्मको अफर थिएन । म यो कहानीमा फिट छैन भन्ने उसलाई पहिले नै थाहा थियो,’ उनले भने ।

समारोहमा फिल्मको नयाँ गीत ‘झिझिया’ सार्वजनिक गरियो । मैथिली भाषाको यो गीतलाई प्रवेश मलिकले संगीत दिएका छन् । नेहा प्रियदर्शनीसँग मिलेर मलिकले स्वर दिएका छन् । मैथिली समुदायको परम्परागत गीत बताइएको यो ट्रयाकलाई दुर्गा पूजाको क्रममा नाच्ने चलन रहेको बताइएको छ ।

जनकपुरको जानकी मन्दिर परिसरमा छायांकन गरिएको गीतमा सुहाना थापा फिचर्ड छिन् । आफ्नो अर्को फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियरबाट फर्किएका विपिन उक्त समारोहमा उपस्थित थिए । झरना थापा निर्देशित यो फिल्म आगामी शुक्रबार प्रदर्शन तयारीमा छ । सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्रसहित यसलाई प्रदर्शन अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?