+
+
नाडा अटो शोको आकर्षण : इन्ट्री लेभलका ईभी :

१४ देखि ३० लाखसम्मका विद्युतीय गाडीमा झुम्मिए उपभोक्ता

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २७ गते २१:५०

२७ भदौ, काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो’ मा कम मूल्यका विद्युतीय गाडीमा उपभोक्ताको चासो देखिएको छ ।

चारपांग्रे विद्युतीय गाडीमध्ये १४ देखि ३० लाखसम्मका विद्युतीय कारमा उपभोक्ता झुम्मिरहेका छन् । यस वर्षको ‘अटो शो’ मा १३ लाख रुपैयाँमै सेरेस ब्राण्डको विद्युतीय कारको बुकिङ खुला भएपछि यस्ता कारमा उपभोक्ताहरुको चासो ह्वात्तै बढेको छ । अटो शोका तिनै इन्ट्री लेवलका कार, त्यसको मूल्य र फिचरहरु यहाँ प्रस्तुत गर्दैछौं :

१४ लाखमै सेरेस कार

कम बजेटमै कार चढ्ने रहर पूरा गर्नेहरुका लागि लक्षित गर्दै सेरेस कार नेपाली बजारमा आएको छ । एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपाली बजारमा ल्याएको उक्त कारको ४ वटा भेरियन्ट नेपाली बजारमा आएको छ । त्यसमध्ये ३ वटा कारको मूल्य १३ लाखबाट सुरु भएर १८ लाखसम्मको छ ।

सेरेस मिनी ईभी

चार सिटको यो कारको मूल्य नाडा अटो शोमा १३ लाख ९९ हजार रुपैयाँ मात्रै तोकिएको छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी भएको कार साढे ३ देखि ४ घण्टाको एक पटकको फुल चार्जमा १८० किलोमिटर गुड्छ ।

सेरेस मिड ईभी

चार सिटको यो कारको मूल्य ‘नाडा अटो शो’मा १६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी भएको कार साढे ३ देखि ४ घण्टाको एक पटकको फुल चार्जमा १८० किलोमिटर गुड्छ ।

सेरेस टप ईभी

यो कारको मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कार फुल चार्जमा २२० किलोमिटर कुद्न सक्छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी यो कारमा छ । सेरेसका सबै कारको ग्राउण्ड क्लियरेन्स १४० एमएम छ ।

२२ लाखमै टाटाको टियागो ईभी

भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ मा टाटा मोटर्सले प्यासेन्जर सेग्मेन्टमा तीन वटा गाडीहरु सार्वजनिक गरेको छ । त्यसमध्ये सस्तो मूल्यको टाटाको गाडी हो– ‘टियागो ईभी ’।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शोमा राखेको अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँच वटा मुख्य विशेषता छन्– कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायी । क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु छन् ।

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो ईभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ लाख रुपैयाँ तोकिएको छ । टियागो ईभी एमआर (मेडियम रेञ्ज) एक्सटीको मूल्य २२ लाख ९९ हजार छ भने टियागो ईभी लङ रेञ्ज (एलआर) एक्सटीको मूल्य २५ लाख ४९ हजार रुपैयाँ छ । टियागो ईभी एलआर एक्स जेड प्लसको मूल्य २६ लाख ९९ हजार छ भने टियागो ईभी एलआर एक्स जेड प्लस लक्जरीको मूल्य २७ लाख ९९ हजार तोकिएको छ ।

२१ लाखमा वुलिङ एयर

पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाले उत्पादन गरेको वीलिङ एयर ईभीको दुई वटा कार अटो शोमा सार्वजनिक गरिएको छ ।

सानो परिवारका लागि उपयुक्त चारसिटे (डबल डोर) उक्त गाडी नेपाली बजारमा ईभी नेपाल मोटर्स र बज्र ग्रुपले बिक्री गरिरहेका छन् । १७.३ किलोवाटको ब्याट्री क्षमताका वुलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सय किलोमिटरको रेञ्ज दिने कम्पनीको भनाइ छ । यो कारको मूल्य २० लाख ९९ हजार रुपैयाँ मात्रै छ ।

यस्तै, २६.७ किलोवाटको ब्याट्री क्षमता भएको अर्को कारले ३ सय किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । यो कार पनि फाष्ट चार्जरबाट ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यो कारको मूल्य अटो शोमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उक्त कारलाई नबिल बैंक र प्रभु बैंकले ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराएका छन् ।

मासिक १७ हजार ९७० ईएमआईमा यो गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ । दुवै कारको ब्याट्री वारेन्टी ८ वर्षको रहेको कम्पनीका सहायक प्रबन्धक समिर राईले बताए । ‘नाडा अटो शो’ मै यो भेरियन्टका केही गाडीको बिक्री र डेलिभरीसमेत भइसकेको कम्पनीले जनाएको छ ।

१८ लाखमा एमजी कोमेट

पारामाउण्ट मोटर्स प्रालिले ‘नाडा अटो शो’मा १८ लाख र २१ लाख मूल्यका २ वटा कार सार्वजनिक गरेको छ । पहिलेको कार एमजी कोमेट ईभी पिसको मूल्य १७ लाख ९९ हजार रुपैयाँ मात्रै छ । ३१.२६ किलोवाट मोटर र १७.३ किलोवाट ब्याट्री क्षमताको यो कार फुल चार्जमा २३० किलोमिटर गुड्छ ।

यस्तै, एमजी कोमेट ईभी प्ले नामक अर्को गाडीको मूल्य २० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ३१.२६ किलोवाट मोटर र १७.३ किलोवाट ब्याट्री क्षमताको यो कार फुल चार्जमा २३० किलोमिटर गुड्छ । एमजी कोमेटको गाडीमा ३ वर्षको वा एक लाख किलोमिटरको वारेन्टी छ । यस्तै, कारको ब्याट्रीमा ८ वर्ष वा एक लाख २० हजार किलोमिटरको हाइ भोल्टेज वारेन्टी दिइएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?