
काठमाडौं । फिल्म ‘नांगो गाउँ’को प्रचारमा नदेखिएकी अभिनेत्री साम्राज्ञी शाह प्रिमियरमा भने पुगिन् । जहाँ उनले फिल्म प्रवर्द्धनमा बेवास्ता गरिएको भन्ने आरोपलाई खण्डन गर्ने प्रयास गरिन् ।
यो आरोपका बीच साम्राज्ञीको प्रिमियर उपस्थिति मिडियाका लागि अर्थपूर्ण रह्यो । उपस्थितिको माध्यमबाटै उनले प्रचारमा साथ नदिएको आलोचनालाई जवाफ दिने प्रयास गरिन् ।
उनले भनिन्, ‘म मेरो व्यक्तिगत काममा नै व्यस्त थिएँ । म भारतमा थिएँ । यसकारण फिल्मको प्रचारमा आउन पाइनँ । फिल्मको टिमसँग सम्बन्ध बिग्रिएको छैन ।’ उनले फिल्मको समूहसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
साथै, साम्राज्ञीले दयाहाङ राई र मिरुना मगरको जोडीको प्रशंसा समेत गरिन् । फिल्ममा साम्राज्ञीले अभिनेता कार्मको अपोजिटमा अभिनय गरेकी छन् । ट्रेलर हेर्दा फिल्ममा साम्राज्ञीको सहायक भूमिका देखिन्छ ।
‘नांगो गाउँ’ले साम्राज्ञीको करिअरमा कसरी राहत दिनेछ, यो जान्नु उनका फ्यानका लागि महत्वपूर्ण हुन सक्छ । साम्राज्ञीको पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ थियो भने ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4