+
+

बदनामी मेटाउँदै धनुषाको झिझा गाउँ

‘चोरी डकैती यहाँका मानिसको बाध्यता थियो । पछिल्लो समय वैदेशिक रोजगार, खेतीपाती लगायत अन्य पेशामा मानिसहरू लागेका छन् । यसले जीवनशैली फेरिएको छ । अब बालबालिका पढाउनेतिर पनि सबैले जोड दिन्छन्’

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ २९ गते १३:४५

२९ भदौ, जनकपुरधाम । मधेशतिर चोरी—डकैतीका घटनामा चोर पत्ता नलागेमा गरिने साझा प्रश्न हो– ‘कत, झिझा के चोर आयल छलैय !’ (कतै झिझाको चोर आएको त थिएन !)

यसरी बदनाम भएको धनुषाको चर्चित गाउँ हो झिझा, जुन गाउँ मधेश प्रदेशको राजधानी जनकपुरधाम भन्दा करिब २५ किलोमिटर पूर्व–दक्षिण भारतीय सीमा नजिक पर्छ ।

धनुषाको विदेह नगरपालिका–४ मा पर्ने झिझा गाउँमा दूषाध (पासवान), चमार लगायत समुदायको बसाबोस छ । तीन दशक अघिसम्म यहाँका धेरै व्यक्ति चोरी डकैतीमा संलग्न थिए ।

चरम गरिबी, अशिक्षा, बेरोजगारी, जमिन्दारको थिचोमिचो र अपमानले जेलिएको बस्तीका बासिन्दाका लागि चोरी डकैतीमा संलग्नता सामान्यजस्तो थियो । ‘चोरीडकैती हमरा सभके सख नै छलै । पेट पालके आरो कोनो उपाय नै रहै । हमहु पेट पालके लेल चोरी डकैती कर जाइछलियै ग्रुप मे’, (चोरी डकैती हामी सबैको चाहना होइन, पेट पाल्ने अरु कुनै उपाय थिएन । पेट पाल्नका लागि समूहमा चोरी डकैती गर्न जान्थ्यौं), विगतमा चोरी डकैतीमा संलग्न ७० वर्षीय सुट्टु पासवान भन्छन् ।

झिझामा स्कुल थिएन, स्वास्थ्य चौकी थिएन । सडकको अवस्था जर्जर थियो । जमिन्दार र साहु महाजनको थिचोमिचो र अपमान थियो । यही कारण आफ्ना पूर्वजले चोरी डकैतीजस्तो गलत क्रियाकलापको सहारा लिएको झिझाका बासिन्दा मुकेश पासवान बताउँछन् ।

यहाँका बासिन्दालाई चोरी डकैतीजस्ता कार्यमा स्थानीय जमिन्दारहरुले पनि प्रयोग गर्ने गरेका थिए । यस्ता बदनामीको बोझ अझै झिझाबासीको टाउकोमा छ ।

झिझा गाउँ अब पहिला जस्तो रहेन । यहाँका बासिन्दाको जीवन निर्वाहको तौरतरिका बदलिएको छ । कोही वैदेशिक रोजगारीमा गए, कोही खेतीपातीमा, कोही ज्याला मजदुरीमा । पेशा व्यवसायमा संलग्नताले जीवनस्तर पहिले भन्दा सुधार भएको छ । अहिले स्थानीय बासिन्दाले छोराछोरी पढाउन जोड दिने गरेको स्थानीय शिक्षक जयप्रकाश पासवान बताउँछन् ।

‘चोरी डकैती यहाँका मानिसको वाध्यता थियो । पछिल्लो समय वैदेशिक रोजगार, खेतीपाती लगायत अन्य पेशामा मान्छे लागेका छन् । यसले जीवनशैली फेरिएको छ । अब बालबालिका पढाउनेतिर पनि सबैले जोड दिन्छन्’, उनी भन्छन् ।

भिझाको राष्ट्रिय प्राथमिक विद्यालयमा १३४ जना बालबालिका पढ्छन्, शिक्षक भने दुई जनामात्र छन् । झिझाको विद्यालयलाई सरकारले पनि शिक्षक र पूर्वाधार दिन आनाकानी गरेको स्थानीय बासिन्दाको आरोप छ । माध्यमिक विद्यालय दुई किलोमिटर पर छ ।

यो बस्तीमा अहिले ८५ घर दूषाध र २० घर चमार समुदायको बसोबास छ । सरकारले २०३५ सालमा २०८ दूषाध परिवारलाई सर्लाहीको लालबन्दीमा जग्गा दिएर पुनर्बास गराएको थियो । अहिले उनीहरुको जीवनस्तर निकै परिवर्तन भएको स्थानीय अमर पासवान बताउँछन् ।

झिझामै बसोबास गरिरहेकाहरुको स्थिति कमजोर छ । ऐलानी जग्गामा बसेका उनीहरु पूर्णतः भूमिहीन हुन् । जमिन्दारहरुको खेत बटैया (अधिया) मा अन्न उब्जाउने काम गर्छन् । समयमा पानी नपर्दा खेतीपातीमा समस्या हुन्छ । बढी वर्षा भएपछि छेउमा रहेको बसरा नदीले खेतबारीको अन्नबाली डुवानमा पर्ने स्थानीय पार्वती देवी सदा गुनासो गर्छिन् ।

झिझाको समस्या समाधानमा तीनै तहका सरकार उदासीन छन् । हुन त विदेह नगरपालिकामा दलित समुदायबाटै बेचनदास तत्मा दोस्रोपटक मेयरमा निर्वाचित छन् ।

सरकारले नदी नियन्त्रण, समयमा मलखाद र सिँचाइको व्यवस्था गरिदिए खेती गर्न सजिलो हुने स्थानीय गीता महरा बताउँछिन् । यहाँका बासिन्दाले ज्याला मजदुरी गर्दा पाउने २ सयदेखि ४ सय रुपैयाँ कम भएको बताएका छन् ।

स्थानीय इन्दल पासवान वैदेशिक रोजागारीमा कतारबाट फर्केका छन् । तर यहाँ केही रोजगारी नपाएर हैरान छन् । फेरि विदेश जान खोजेका उनीसँग म्यानपावरका एजेन्टले ३ देखि ४ लाख रुपैयाँ मागेको छ । मिटरब्याजीलाई कारबाही गर्ने हल्लाले साहु महाजनले ऋण दिन मानेका छैनन् ।

‘विदेश जान एजेन्टले ३–४ लाख रुपैयाँ लिन्छ । मसँग पैसा छैन । साहु महाजनले ऋणै दिन छाड्यो । घरमा बसेर काम छैन । अब बाध्य भएर मुम्बई जाने योजना बनाउँदै छु’ उनी भन्छन् ।

यस्तो समस्या बस्तीका धेरै युवाको छ । केही युवा लागूऔषधजस्ता कुलतमा फसेका छन् । ‘सरकारले रोजगारी दिनुपर्यो, अनि हाम्रो जीवनस्तर माथि उठ्छ । नभए बालबालिकालाई कसरी पढाउने ? उनीहरु पढेलेखेर पनि के गर्छन् ?’, स्थानीय सरस्वती देवी पासवान भन्छिन् ।

बैंकबाट ऋण लिन धितो राख्ने जग्गा छैन । ऋण नलिई घरव्यवहार चलाउन, स्वास्थ्य उपचार गर्न र कुनै चाडपर्व मनाउन पनि समस्या पर्ने स्थानीय बासिन्दा बताउँछन् ।

बस्तीमा अहिले पनि कोही बिरामी पर्दा मान्छेले नै बोकेर अस्पताल लैजानुपर्ने स्थानीय अमर पासवान बताउँछन् । आफ्नो छोरालाई सर्पले डसेको बेला कपडाको झोलुंगो बनाएर त्यसमै राखेर लगेको उनको भनाइ छ ।

देश खुल्ला दिसामुक्त भएको वर्षौं भयो । तर यहाँका १०–१२ प्रतिशत घरमा मात्र शौचालय छ । खुल्ला चौरमा दिसा गर्न जानुपर्ने बाध्यताबाट यो बस्तीले मुक्ति पाएको छैन ।

झिझाको समस्या समाधानमा तीनै तहका सरकार उदासीन छन् । हुन त विदेह नगरपालिकामा दलित समुदायबाटै बेचनदास तत्मा दोस्रोपटक मेयरमा निर्वाचित छन् । ‘मेयर दलितकै भएर के गर्नु, चोर डकैतको गाउँ भनेरै दलित वर्गकै मेयरले हेला गर्छन् । यहाँबाट मेरो भोट नै आएन भन्छन्’, एक स्थानीयले दुखेसो पोखे ।

झिझा गाउँका बासिन्दाले नयाँ ठाउँमा पुनर्बास चाहेका छन् । नभए घर भएकै ठाउँको लालपूर्जा दिएर, जनता आवासमार्फत सरकारले घर बनाइदेओस् भन्ने आशा राखेका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?