+
+
सम्झनामा राजेन्द्र पराजुली :

मर्निङवाकमा सँगै हिंड्ने, सुखदु:खका साथी थिए राजेन्द्र

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८० भदौ ३० गते १७:०४

‘नेपाली साहित्यका अब्बल साहित्यकार, आधुनिक कथाकार तथा समालोचक श्री राजेन्द्र पराजुलीको स्वास्थ्यमा अचानक समस्या आई हाल बीएण्डबी अस्पतालमा सघन उपचार कक्षमा उपचारार्थ रहनुभएकोले उहाँलाई माया गर्ने देश-विदेशमा रहनु हुने साहित्यकार, कथाकार तथा हामी सम्पूर्ण नेपाली दाजुभाइहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरौं ।’

सामाजिक सञ्जालमा राजेन्द्र पराजुलीका साला दीपेन्द्र आचार्यको यो सन्देशले म झसंग भएँ ।

मेरा साहित्यिक मित्र मात्र नभएर छिमेकी पनि । मर्निङवाकमा सँगै हिंड्ने । चिया पिउने साथी मात्र नभएर सुखदु:खका कुरा गर्ने एवं सुखदुःख साट्ने । एकअर्कालाई मित्र भनेर सम्बोधन गर्ने । राजेन्द्रजीको अस्वसथताको खबरले म एक्कासि चिन्तित भएँ । अनि नेपालमा कोसँग यो कुरा गरौं भनेर छटपटिन थालें ।

दीपेन्द्रजीको फेरि अर्को सन्देश सामाजिक सञ्जालमा देखियो, ‘हजुरको मनोबल र सम्पूर्ण असल मनहरुको तपाईंप्रतिको मायाको कारण तपाईंले अवश्य जित्नुहुनेछ भिनाजु । स्वास्थ्यलाभको कामना ।’

यति छिट्टै दोस्रो सन्देशको के अर्थ होला । मेरो मनमा चिसो पस्यो ।

मैले साथी किशोर पहाडीलाई फोन गरें । नयनराज पाण्डेलाई सन्देश पठाएँ । अनि दीपेन्द्रजीलाई फोन गरें ।

दीपेन्द्रजीले आश मार्ने अवस्थामा छौं भनेर फोनमा भनिरहँदा नयनराज पाण्डेको सन्देश कम्प्युटरमा झुल्कियो, ‘राजेन्द्र पराजुली बिते । हस्पिटलमा छु । छोरीले अहिले फेसबुकतिर नराख्न भनेकी छन् । साथीले धोका दियो ।’

त्यसपछि बाँकी केही कुरै रहेन । एक्कासि संसार अँध्यारो भएको महसुस भयो । नेपालमा भदौ २६ गते बिहानको कुरा थियो । यता अमेरिकामा २५ गते साँझ पर्दै थियो ।

मेरो अन्तर्मनले भन्यो- अहो ! यौटा साहित्यिक मित्र गुमाएँ । अब यसपालि नेपाल जाँदा ‘कोटेश्वरको केटो’ भेटिने छैन ।

राजेन्द्र पराजुली मभन्दा ७ वर्षले कान्छा । म २०१५ वैशाख ५ मा जन्मेको, उनी २०२१ साल वैशाख १३ गते जन्मेका । राजेन्द्रको पहिलो रचना २०३८ सालमा प्रकाशित भएको थियो भने मेरो २०३४ सालमा ।

हामीमा समयको अन्तरालले केही बाधा दिएन । हामी मित्र भयौं र मित्र भनेर सम्बोधन थाल्यौं एकअर्कालाई । त्यति मात्र  होइन, गैह्री गाउँको मेरो निवास किन्नुअघि उनैसँग सल्लाह लिएको थिएँ र जीवनको लामो कालखण्ड डेरामा बिताएर उनको छिमेकी हुन पुगेको थिएँ, घर किनेर । मेरो र राजेन्द्रजीको मित्रतासँगै मेरी श्रीमती अञ्जु र उनकी श्रीमती मञ्जुबीच पनि मित्रता मौलाएको थियो, एकअर्काले दिदीबहिनीको साइनोले सम्बोधन गरे पनि ।

खासमा २०४६ सालपछि नै हुनुपर्छ राजेन्द्रजीसँग हेलमेल सुरु भएको । उनी ‘जिन्दावाद, मुर्दावाद’ संयुक्त कविता संग्रहका एक कवि थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछिको तातो वातावरणमा राजा महेन्द्रको सालिकमा कसैले हिर्काइरहेको फोटो आवरण राखी प्रकाशित त्यो संग्रहको विमोचन नेपाली कांग्रेसले लौह पुरुष मानेको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहबाट हाल बन्द भएको फ्रान्सिसी सांस्कृतिक केन्द्रको सभाकक्ष गणबहालमा भएको थियो ।

त्यसपछि उनी चर्चामा आएका थिए । चिनारी बढेको थियो । नयाँ सडक पीपलबोटमा यदाकदा देखिन थालेका थिए । उस्तो नियमित आउँदैनथे । सिनामंगलमा सञ्चालित एक विद्यालयमा उनी अंशियार थिए र शिक्षक पनि । त्यसैले समय स्वतन्त्रता अलि कम थियो त्यतिबेला ।

राजेन्द्रले लेखनको सुरुवातमै साहित्यिक पत्रिकाको सम्पादनमा पनि हात हाले । उनले संवाहक र बन्दना साहित्यिक पत्रिका सम्पादन गरे । तर साहित्यिक पत्रिकाको जीवन नेपाली साहित्यमा भरपर्दो आर्थिक टेवाको अभावले सधैं धर्मरधर्मर नै हुन्छ । सम्वाहक र बन्दना त्यस्तै समस्याको सिकार भए । तर तिनमा सम्पादन कला, नयाँ सोच र नयाँपनको झल्को अवश्य थियो । ती पत्रिका आज पल्टाउँदा पनि त्यो महसुस गर्न सकिन्छ ।

वास्तवमा ती पत्रिकाका अनुभवलाई उनले तन्नेरी पत्रिकामा लगानी गरे । तन्नेरी सामान्य पत्रिका थियो र यसका सम्पादक प्रकाशक साहित्यिक पनि थिएनन् । उनले तन्नेरीलाई अर्थोपार्जनको एक साधन मात्र बनाएका थिए । तर राजेन्द्र त्यसको सम्पादक भएपछि पत्रिकाको काया बदलियो । उनले गर्न चाहेका साहित्यिक प्रयोगहरु गर्न पाएर उनलाई सन्तुष्टि मिलेको थियो । उनले तन्नेरीमार्फत उत्कृष्ट कविताको घोषणासभा, प्रतिनिधि आधुनिक नेपाली कथा र आत्मटिप्पणी, नाटकको चर्चा लगायत निकै उत्कृष्ट र विशिष्ट अंकहरु सम्पादन गरे ।

यसैबीच उनले स्कुलको आफ्नो सेयर बेचेर शिक्षण पेशा र सञ्चालनबाट स्वतन्त्र भएका थिए । अनि उनी नियमित रुपमा न्युरोड पीपलबोटमा देखिन थाले । हामी न्युरोड पीपलबोटको चिया अड्डामा नियमित भेटिन थाल्यौं । उनी हामीहरुसँगको मित्रतालाई कायम राख्दै कृष्णभक्त श्रेष्ठजस्ता अग्रज साहित्यकारहरुसँग पनि झ्याम्मिन थाले । उनको रसपान हामीहरुसँग भन्दा पनि उनीहरुसँग हुने गर्थ्यो ।

यस क्रममा उनको साहित्यिक पठनले पनि निकै राम्रो गति लियो । उनी नयाँदिल्लीसम्म स्वतन्त्र घुमाइका लागि जान्थे र अब्बल कोटीका भारतीय साहित्यका पुस्तकहरु किनेर ल्याउँथे । कुनै किताब पढ्न उनी कहिले नगरकोट बास बस्नेगरी पुग्थे । कहिले पोखराको फेवातालका लहरहरु गन्दै पढ्न मन पराउँथे । लेखनका लागि पनि उनी फुत्तै कतै जान्थे र कुनै रचना लेखेर ल्याउँथे वा अधुरो रचना पूरा गर्थे वा सम्पादन परिमार्जन गर्थे । यो उनको आफ्नै खालको स्वभाव थियो ।

उनी एक्लै मात्र होइन समूहमा घुम्न, रमाउन पनि सहज ढंगले सक्थे । समय परिस्थितिअनुसार उनी आफ्नो रुचिलाई पूरा गरेर सन्तुष्ट हुन्थे । उनले तन्नेरीको सम्पादनलाई निरन्तरता दिएनन् । एक त त्यो उनको पेशा भएन, कुनै तलब पाउने । अर्को पत्रिकाका मुख्य सम्पादक साहित्यको महत्व बुझ्ने खालका पनि थिएनन् ।

राजेन्द्र कसोकसो पत्रकारिताको क्षेत्रमा पुगे । यो उनको जीवनको र पेशाको ठूलो घुम्ती थियो, टर्निङ प्वाइण्ट । निजी क्षेत्रको मिडियामा काम गर्दा साहित्य पक्षमा मात्र काम गर्ने त हुँदैन । साहित्य मात्र हेर्ने भने पनि गैरसाहित्यिक काम अह्राउँदा सक्दिन, जान्दिन भन्ने प्रश्न आउँदैन । जुनसुकै मिडियामा प्रवेश गर्दा स्वतन्त्र रुपले काम गर्ने भन्ने भए पनि त्यसमा कायम हुँदैनन् कोही मिडिया । राजेन्द्रले काम गरेका प्रायः कुनै पनि मिडियामा उनी सन्तुष्ट हुन सकेनन् । उनले त्यही असन्तुष्टि र स्वाभिमानले मिडियाहरु छाड्थे । तर बेरोजगार बस्ने कुरा पनि हुन्नथ्यो । यो मिडियामा त पूर्वसर्त राखेको छु, मानेका छन् भन्थे र काम थाल्थे तर उही घटना, परिवेश र प्रश्नको पुनरावृत्ति हुन्थ्यो ।

नीर शाहले सुरु गरेर असफल भएको सांग्रीला च्यानल टेलिभिजनमा एकपल्ट उनले मोमिलासँग मिलेर संयुक्त रुपमा साहित्यिक कार्यक्रम विशेष ढंगले प्रस्तुत गर्ने भए । अनि त्यो कार्यक्रम कस्तो हुनेछ आफूले बताउन तथा कार्यक्रममा के-के समावेश गर्नुपर्ला सुझावसमेत लिने गरी नेपाल एकेडेमीको सभाकक्षमा यौटा भव्य कार्यक्रम आयोजना गरे । काठमाडौंका स्वनामधन्य साहित्यकारहरुको उपस्थिति थियो । सो कार्यक्रम भव्य रुपमा भयो । तर टीभीको कार्यक्रम भने भव्य हुन सकेन र कार्यक्रम चलेन ।

मिडियामा काम गरे पनि उनले लेखकीय धर्म भने छोडेनन् । उम्दा कथाहरु लेखिरहे । विशेष देशको राजनीतिले उनको लेखनलाई निर्देशित गर्थ्यो । त्यस्तै प्रकारका रचनामा उनको कलम बढी चल्यो । उनले राजनीतिको विकृतिलाई निकै मिहिन ढंगले कथामा उतार्थे । तिनको राम्रै चर्चा हुन्थ्यो । उनला शुक्रराज शास्त्रीको चस्मा, सपनामा मार्क्स निकै रुचाइएका र चर्चित कथाहरु हुन् । ती कथाकै शिर्षकमा उनले कथा संग्रह प्रकाशन गरेका थिए र चर्चित थिए ।

कथाको विषयमा उनको भनाइ हुन्थ्यो, ‘मैले आजका मितिसम्म आफ्ना निजी घाउलाई कहिल्यै कथाको विषय बनाइनँ । म कतै पनि कथाको नायक बन्न खोजेको छैन । तर पनि मेरा कथाका पाठक तथा शुभेच्छुक मलाई नै मेरो कथाको नायक देख्छन् र सोध्छन्– आफ्नै कथा हो कि क्या हो ?’

उनी म थोरै लेख्छु । कहाँ धेरै लेख्छु र भन्थे । तर लेखिरहन्थे । फुत्त पुस्तक निस्किहाल्थ्यो । प्रकाशक पनि पाइहाल्थे । उनको पछिल्लो चरणका कथाहरुको संग्रह ‘जन्तर मन्तर’ अन्तिम कथा संग्रह बन्यो । कथा संग्रहको चर्चा कार्यक्रम नगरकोटमा गरेका थिए । नगरकोट उनको साहित्यिक छलफल गर्न र लेखनका लागि रोज्ने गरेको प्रिय ठाउँमा ।

२०६० सालमा कवि विप्लव ढकालको संयोजनमा कालचक्र नेपालको परिकल्पना गरियो । संस्थागत गतिविधि र प्रकाशन समेतको परिकल्पना थियो । त्यस संस्थामा अध्यक्ष विप्लव ढकाल थिए भने महासचिव राजेन्द्र पराजुली । सदस्यहरुमा मोमिला, पशुपति नेउपाने, मधुसुदन गिरी र अरुणा वैद्य थिए । सो समूहले मोहन कोइराला, ईश्वरबल्लभ, वंशी श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, शैलेन्द्र साकार, विमल निभा, श्यामल, मीनबहादुर विष्ट, अरुणा वैद्य, मोमिला र होमराज आचार्य गरी १२ कविका कविता र कालचक्र पत्रिका एकसाथ प्रकाशन र विमोचन गरेको थियो । त्यो विमोचन समारोहले नेपालका प्रमुख मिडियाको हेडलाइनमा ठाउँ पाएको थियो । कालचक्र पत्रिकाको सम्पादक चाहिं राजेन्द्र पराजुली थिए । यी १२ कविका कविताको प्रकाशनको संयोजन विप्लव ढकालले गरेका थिए ।

यसैगरी कथाको पनि प्रकाशनको योजना बनेको थियो र त्यसको संयोजन राजेन्द्र पराजुलीले गर्ने समेत तय भएको थियो । तर पहिलो झमटको कार्यक्रमपश्चात नै कालचक्र नेपाल धर्मरायो । धर्मरायो मात्र होइन, एक प्रकारले भंग नै भयो र राजेन्द्रले संयोजन गर्ने भनिएको कथा प्रकाशनको योजना पनि तुहियो ।

राजेन्द्र साझा प्रकाशनको सञ्चालकमा उम्मेदवार भए र निकै चर्चा र लोकप्रियताका साथ निर्वाचित भए । निर्वाचन परिणामपछि त्यो विजयको उत्सव मनाउन एक जमात साहित्यकारलाई उनले नगरकोट जान निम्तो गरे । उनले मलाई पनि निम्तो गरेका थिए, तर म रात बस्नेगरी जाने कार्यक्रम भएकाले जान सकिन ।

साझा प्रकाशनको निर्वाचनको बेला उम्मेदवारले जेजे ठूला कुरा गरे पनि ती पूरा गर्न सम्भव हुँदैन । त्यो अवैतनिक र पार्विक काम हो । सञ्चालक समितिको बैठकमा यौटा सञ्चालकले बोल्ने, निर्णय प्रक्रियामा सामेल हुने र सुझाव दिने हो । तर पनि केही गरौं भन्ने हुटहुटी भएका सञ्चालकले केही प्रस्ताव गर्छन् र हल्ला खल्ला हुन्छ । राजेन्द्रसँगै त्यस वर्ष सञ्चालक पदमा विजेता अर्का उम्मेदवार थिए कवि विनय रावल । अनि यौटा बैठकले नेपाली साहित्यको प्रवर्द्धन र साझा प्रकाशनका पुस्तकहरु प्रवर्द्धन गर्ने उद्देश्यकासाथ साहित्यकारहरुको टोली दार्जिलिङ लैजाने योजना बन्यो । एउटा टोली गयो दार्जिलिङ । दार्जिलिङबाट फर्कने क्रममा एक बास खर्साङमा बसेका थिए । खर्साङ्मा रात बिताएर बिहान ट्याक्सीमा घुम्न निस्कँदा ट्याक्सी दुर्घटना भयो र विनय रावलको त्यहीं देहान्त भयो । सो दुर्घटनामा घाइते हुनेहरुमा राजेन्द्र बढी गम्भीर थिए । उनी लामै समयको उपचारपछि मात्र सरसुहाउँदो भएका थिए । एक किसिमले उनको पुनर्जन्म नै थियो त्यो ।

गत वर्ष विनय रावलको स्मृतिसभा काठमाडौंमा म समेत सामेल थिएँ । राजेन्द्रले सो सभामा निकै भावुक भएर सो दुर्घटनाको सम्झना गरेका थिए । सन् २००३ मा गोपाल पराजुलीको एउटा काव्य प्रकाशन भयो बेलायत निवासी साहित्यप्रेमी र समाजसेवी हरिविभोर कार्कीको आर्थिक सहयोगमा । त्यसको सूत्रधार म थिएँ । अनि त्यो पुस्तक लण्डनमै विमोचन गर्ने कार्यक्रम बन्यो । नेपालबाट गोपाल पराजुलीले डा. ध्रुवचन्द्र गौतम र राजेन्द्र पराजुलीसहितको टोली लैजाने मनसुवा देखाए । गोपाल पराजुली र म त हुने नै भयौं । हामीले बेलायती दूतावासमा बिहान सखारै अन्तर्वार्ता दिन गयौं । हामी तीन जनाले भिसा पायौं, राजेन्द्रले पाएनन् । त्यतिबेला अमेरिकाको जुम्ल्याहा भवनमा आतंककारी हमला भएको धङधङी थियो र राजेन्द्रले दाह्री पालेका थिए । त्यो उनको दाह्रीले गर्दा नै उनले भिसा नपाएका हुन् कि भन्ने लाग्छ मलाई ।

कुनैबेला तुलसी दिवस ‘दाह्री कवि’को रुपमा चिनिन्थे । युवामा राजेन्द्र पनि दाह्रीले चिनिने व्यक्तित्व बनाएका थिए । तर किन त्यसरी दाह्रीको सौख भयो र कहिलेदेखि सफाचट हुन थाले मलाई हेक्का भएन ।

एकपल्ट सन् १९९५ मा म जर्मनीबाट फर्केको लगत्तैजसो बन्दीपुरको एउटा विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा सो स्कुलले आयोजना गर्ने साहित्यिक कार्यक्रममा सहभागी हुन मलाई कवि द्वारिका श्रेष्ठले निमन्त्रणा गरे । सानो साहित्यिक टोली थियो । त्यसमा राजेन्द्र पनि थिए । निकै स्मरणीय भएको थियो त्यो यात्रा । सम्भवतः राजेन्द्रसँग काठमाडौंबाहिर साहित्यिक समारोहमा गएको त्यो नै एक मात्र अवसर थियो ।

२०७६ सालमा बाह्रखरी मिडियाले एक लाख रुपैयाँ प्रथम पुरस्कार दिने गरी कथा प्रतियोगिताको आयोजना गर्‍यो । त्यसबेला राजेन्द्र पराजुली बाह्रखरीको साहित्य हेर्थे । उनको त्यस प्रतियोगिताको योजनामा प्रत्यक्ष संलग्नता थियो । तर पछि प्रतियोगितामा विवाद आएपछि उनले बाह्रखरी मिडियाबाट राजीनामा दिए । जागिरबाट राजीनामा दिए पनि गत वर्षसम्म सो प्रतियोगितामा आएकामध्ये २५ उत्कृष्ट कथाप्रकाशन गर्ने योजनामा चाहिं निरन्तर नै थिए । उनी सो सम्पादित पुस्तकको सम्पादक रहिनै रहे सम्पादक मण्डलमा अरुहरु भए पनि ।

राजीनामा गरेर मिडियाको जागिर छाडे पनि उनको कामको यो निरन्तरतालाई उनको काम गर्ने खुबी र निष्ठा नै हो भन्ठान्छु म ।

राजेन्द्र र मेराबीच साहित्यिक कुराकानी बाक्लै हुन्थ्यो । म अमेरिकामा रहे पनि मेसेन्जरको माध्यमले बेलाबखत कुरा गरिरहन्थ्यौं । उनले नागरिक, बाह्रखरीका लागि रचना मागेर प्रकाशित गरेका पनि हुन् । तर प्रकाशनपूर्व आफ्नो कृति पढाउने मित्र मण्डलीमा म थिइनँ । तर एकपल्ट के सुरले हो कुन्नि उनले पहिलो उपन्यास ‘अनायिका’ प्रकाशित गरिसकेपछि लेखेको अर्को उपन्यास मलाई इमेल गरे । त्यति चित्त बुझेन, पढेर सुझाव दिनोस् भन्ने सन्देशसहित । मलाई उपन्यास ठीकैठीकै लाग्यो । तर उनले त्यो उपन्यास च्यातिदिएँ, मलाई चित्त बुझेन भने ।

त्यो उपन्यास मेरो कम्प्युटरमा भेटें । १० वर्षअघि सन् २०१४ मा प्रेषित । शीर्षक ‘समयान्तर दैनिक’  । ४३ हजार ५५८ शब्दको । थाहा छैन, यो कुनै दिन प्रकाशित होला या नहोला । तर उनको यो कृति अप्रकाशित चाहिं पक्कै हो ।

जीवनभर अक्षरसँगै रमाएका राजेन्द्र तिनै अक्षरमा बाँचिरहनेछन् ।

फल्स चर्च, भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?